सुनिता स्याङ्तान, काभ्रेपलाञ्चोक ।
३ वर्ष मलेसिया बसेर आएकी सुनिताले नेपाललबाट जुन काम गर्छु भनेर भिसा लगाईन् मलेसिया पुग्दा भने अर्कै काममा परिन् । उनले आफुने के काम गरें भनेर त खुलाईनन् तर त्यहाँको ९ सय तलबमा काम गर्नुपर्दथ्यो । त्यहि पनि कहिलेकाँही ६ घण्टा काम गरेरै चित्त बुझाउनु पर्दथ्यो । उनीलाई कुनै महिना १५/२० दिनसम्म पनि काम नभएर कोठामै बस्नुपर्ने सम्मको स्थिति बन्यो । त्यसो हुँदा ५/६ सयमै उनले चित्त बुझाउनु पर्दथ्यो । काम गरेर पैसा कमाउछु भनेर बिदेश गएको व्यक्ति काम नपाउँदा उनी झन् पिडामा पर्ने गर्थिन् ।
त्यस्तै कन्ट्रयाक्ट( करार) मा गएकाहरुको त झन् कहालिलाग्दो अवस्था उनले देखिन् । एउटै कोठामा १५/२० जना कोचाएर राख्ने, ओछ्याउने एउटा सुकुल पनि नहुने, खानलाई पनि साह्रै मुश्किल पर्ने, महिना सक्किएपनि तलब नपाउने, एउटै एजेन्टले दुईवटा नाम राख्ने र श्रमशोषण गर्ने गरेको उनको अनुभव छ ।
एक समय उनले आफ्नै थर भएको एउटा भाईको मासिक तलब मागिदिने काम गर्दा यी सबै कुरा पत्ता लाग्यो । विभिन्न व्यक्तिहरुलाई मासिक तलब ८५ देखि १५० सम्म दिने गरेको पनि पत्ता लाग्यो ।
आफु राम्रै काममा परेको बताउने उनले बिदेशमा नेपाली महिलाहरुको कारुणिक अवस्था पनि देखिन् । ६ महिनासम्म काम सिकाउँदा पनि कुनै काम गर्न नजान्ने कारण त्यहाँको मालिक र एजेन्टबाट नेपाली महिलाहरु शोषणमा पर्ने गरेको र बेचिए सरह नै हुने उनी बताउँछिन् ।
खैनीको बट्टा नपाएसम्म राजदुताबासले काम गर्देन ।
इन्द्रप्रसाद दाहाल।
बैदेशिक रोजागारीका शिलशिलामा दाहाल सन् २००७ मा कतार गएका थिए । तर उनले सुरुमै के कमजोरी गरेछन् भन्दा बैदेशिक रोजगारीमा जाने क्रममा लिनुपर्ने अभिमुखिकरण तालिम लिएनन् । किनकि त्यतिबेला उनलाई पैसाको दरिद्रताले खायो ।
जसरी हुन्छ ७० हजार रुपैंया तिरेर बिदेशमा काम गर्न जाने उनको दाउ थियो । म्यानपावर कम्पनीले पनि उनको चाहनालाई सजिलै पुरा गरिदियो । तर उनी नेपालको बाटो नभई भारतको कलकत्ताबाट बैदेशिक रोजगारी तिर लागे ।
जब उनी कतारमा पुगेर बिरामी परे तब उनी निद्राबाट ब्यूँझेजस्तै भए । अभिमुखीकरण तालिम पनि नलिएको, नेपाली एयरपोर्ट प्रयोग नगरेको सबै आफुले गल्ती गरेको उनलाई महशुस भयो । त्यसपछि उनी साह्रै तनावमा परे । जब तनाब बढ्न थाल्यो, उनले घरपरिवार, आफन्त, साथीभाई, इष्टमित्र र संसार सम्झे । र त्यतिबेला उनलाई म थप पचास हजार निकाल्न सक्दिनथें र ! भन्ने लाग्यो ।
भारतको बाटो प्रयोग नगरेको भए नेपाल सरकारले कुनै न कुनै तबरबाट आफ्नो समस्यालाई हेर्ने रहेछ भन्ने उनले बुझे । त्यो समस्याबाट त उनले मुक्ति पाए । तर फेरी ६ महिनामा उनको भिसा सक्कियो । भिसा थप्ने क्रममा नेपाली राजदुताबासले साह्रै दुःख दिएको उनी बताउँछन् । दुताबासमा पुगेका गरिब नेपालीहरु जो औंठाछाप गर्छन् उनीहरुको फर्म नभरिदिने नाममा त्यहाँका कर्मचारीले तमासा हेर्ने गरेको उनले भेट्टाए ।
त्यहाँका फर्म भर्ने कर्मचारीहरुले खैनी माग्ने र खैनी दिनेको काम हुने नत्र काम नहुने रहेछ भनेपछि दाहालले पनि एक बट्टा खैनी दिएर फर्म भरेको र अन्य नेपालीहरुको पनि फर्म भरिदिनुपरेको गुनासो गरे ।
(काठमाडौका म्यानपावर व्यवसायी जुका जस्तै )
काठमाडौका म्यानपावर व्यवसायी पैसा खान जुकाजस्तै भएर बस्ने र पाखुरा सुर्केरै भएपनि सोझा नेपालीलाई जबरजस्ती बिदेश पठाउने गरेको उनको आरोप छ । उनी भन्छन् ,ʽम्यानपावर व्यवसायी पाखुरा सुर्केर बस्छन् । दलेहरु जुकाजस्तै छन् । भिसा फ्रि हो, दुनियाँमा भिसाको कहिँ पैसा लाग्दैन । सिस्टम आफ्नै हुन्छन् । भिसाको पैसा कहि २००/२५० लाग्छ । बोर्ड राखेर बसेर म्यानपावर भनौंदाहरुले, शिक्षा नभएका, शिप नभएका हरुलाई ठग्ने गरेका छन् ।ʼ बैदेशिक रोजगारीमा गएका तराई भेगका मानिसहरुले अझै बढि दुःख पाउने गरेको उनको भनाई छ ।
अन्धाधुन्ध बिदेश जाँदा खाडीको टन्टलापुर घाममा काम
विष्णुप्रसाद लम्साल, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक स्थायी घर भएका उनी इलेक्ट्रिसियनमा काम गरेर कतारबाट फर्केको एक वर्ष भयो । उनले आफु बिदेश जाँदा होस् या अरु लाई देखेर होस् नेपालीहरु केहि नबुझि अन्धाधुन्ध हिसाबले बैदेशिक रोजगारीमा पुग्दा सबैभन्दा बढि दुःख पाउने गरेका छन् ।
अध्ययन, शिप, क्षमता भएकालाई विदेशमा काम गर्न सजिलो रहेको अनुभव सुनाउँदै उनी भन्छन् शिप नसिकी बिदेश नजानुहोस् । नेपालमा ५ जनाले गर्ने काम विदेशमा २०/२५ जनाले गर्ने गरेको तर शिप नहुने हो भने खाडीको गर्मीमा टन्टलापुर घाममै बाहिर काम गर्नुपर्ने र पैसा पनि थोरै पाईने हुँदा केहि सिकेर मात्र बिदेशमा जान उनी सुझाव दिन्छन् ।
नेपालको एयरपोर्टमा पैसा खुवाउनुपर्यो
रमेश आचार्य , सिन्धुपाल्चोक ।
इलेक्ट्रिसियनको रुपमा कार्यरत उनी दुईचोटी कतार गएर फर्केका छन् । प्लाण्टको काममा उनी कतार गएका थिए । त्यहाँ काम गर्ने क्षेत्र भित्रको नियम छुट्टै नियम थियो । सबै किसिमको सुरक्षा प्रबन्ध सहित त्यहाँको सरकारले निश्चित मापदण्ड अनुरुपको काममा लगाउने गर्दथ्यो ।
तर त्यही काममा जाँदा नेपालको एयरपोर्टमा धेरै झन्झट बेहोर्नुपरेको उनको गुनासो छ । यस्ता क्षेत्रमा दक्ष कामदार नै चाहिने र ती दक्ष कामदारले अरुले एक वर्षमा कमाउने पैसा ४ महिनामै कमाउने उनको दाबी छ ।
इलेक्ट्रिसियन वा अन्य यस्तैमा जाँदा एयरपोर्टका मान्छेहरुलाई पैसा खुवाएर मात्र जान पाईने गरेको उनी बताउँछन् ।
एजेन्टका लागि पासपोर्ट दुहुना गाई
टंकप्रसाद घिमिरे, हेटौंडा, मक्राञ्चुली ।
दुइपटक कतार गएर दुबई हुँदै फर्किएका घिमिरे काठमाडौका म्यानपावर कम्पनी र एजेन्टका लागि कामदारको पासपोर्ट दुहुना गाई सरह हुने गरेको बताउँछन् । ʽकामदारहरु दलेहरुमार्फत पासपोर्ट बुझाएर फसेको देखिन्छ ।ʼ उनी बताउँछन् । पहिले पासपोर्ट बुझाईसकेपछि उनीहरुले जस्तो जे काम भन्यो त्यसैमा जानुपर्ने हुन्छ, होईन भने एजेन्टले पासपोर्ट बेचेर खाईदिने गरेको उनको भनाई छ ।
घिमिरे भन्छन्, ʽएजेन्टमार्फत पासपोर्ट दिने, उनीहरुले जस्तो काम भन्छ, राम्रो छ भन्दै पठाउने तर बिदेशमा गइसकेपछि सप्लाई कम्पनीमा पर्ने, जस्तोसुकै काम पनि गर्नुपर्ने, दुई दिन काम गर्दा हातमा ठेला मात्र होईन छरछरी रगतले पक्ष भएको पनि देखियो ।ʼ
यता काठमाडौका म्यानपावरले एजेन्टहरुले तपाईले हाम्रो यो म्यानपावरको को मान्छे चिन्या छ ?, भन्ने, कोहिपनि चिन्या छैन भन्दा अनविश्वास गर्ने, जान चाहनेहरुलाई पासपोर्ट पेस लगाउने अनि उनीहरुले पासपोर्ट दियो भने विश्वास गर्ने, कतिपयले पासपोर्ट दिंदा समेत स्वयं व्यक्ति नभएसम्म विश्वास नगर्ने, यदि विश्वास गरे पनि बढि पैसा लिने, अरुलाई ४० हजार लिएको ठाउँमा ६० हजार भन्दा बढि लिने यस्तो गरेर ८०/८५ प्रतिशत मानिसहरु म्यानपावर कम्पनीबाट ठगिएका उनी बताउँछन् ।
ʽएजेन्टले पासपोर्ट लिने अनि फिर्ता नदिने, पासपोर्ट छोडेर फेरी लिन्छु भन्दा पनि सजिलो छैन । पासपोर्ट उनीहरुले बेचेर खाईदिन पनि सक्छन् । उनीहरुले बेचेपनि आफैंले बेचे सरह हुन्छ । हरायो भने पत्रिकामा निकालिहाल्नुपर्ने हुन्छ । पासपोर्टकै लागि भएपनि उनीहरु जस्तोसुकै अवस्थामा च्यापिएर जानैपर्छ । हैनभने तपाईको भिसा आएको थियो तपाई जानुभएन, कि भिसाको पैसा दिनुस् भन्ने ।ʼ उनी बताउँछन् ।
कामका लागि भिसा त फ्रि हो । तापनि १०/२० हजार लिने, पासपोर्ट बुझाउँदा म्यानपावर कम्पनीले दुहुना गाई जस्तो बनाएर पैसा कमाउने सजिलो बाटो बनाएको उनको आरोप छ । १० हजार तिरेको कागज दिने, तर फ्रि भिसाको ४०/५० हजार लिएर सोझा नेपालीलाई म्यानपावरले ठग्ने गरेको उनको दाबी छ ।
(बिदेशमा क्न्ट्रयाक्टमा होईन कम्पनीमा जानुस् । )
बिदेशमा कम्पनी भनेर काम गर्न जानेको तलब राम्रै हुने गरेको छ । तर कन्ट्रयाक्ट(करार)मा जानेहरुलाई अर्थात त्यहाँको सप्लाई कम्पनीमा जानेहरुको कागजमा लेखेको र कम्पनीमा काम गर्ने नै छुट्टै हुने रहेछ ।
सप्लाई कम्पनीमा काम गर्दा बढि समय अर्थात् १४/१५ घण्टा काम गर्नुपर्ने, तर १०/११ घण्टाको मात्र पैसा आउने , कामदार र कम्पनी बीचको खाडल धेरै रहने गरेको उनी बताउाँछन् । यस्ता कामदारले १५/२० तल्लासम्म पनि इट्टा टायल हातैले बोकेर लगेको आफुले देखेको र दुइ दिन काम गर्दा हातबाट छरछरी रगत चुहिने गरेको देखेको दुःद कहानी सुनाए ।
हरिशरण न्यौपाने , काठमाडौ ।
प्रकाशित मिति ः २०७३ साउन १
वि.सं.२०७३ साउन १ शनिवार १३:४२ मा प्रकाशित