back
NMB ad

के तपाईलाई सेयर बजारको अवस्थाले तनाव दिएकोछ ? एकपटक यो पढ्नुहोस् !

Kumari bank ad
काठमाण्डौं । सेयर बजार अर्थात नेप्से घट्यो भन्दै धेरै तनाव महसुस गर्ने लगानीकर्ताहरुको संख्या बढ्दै गएको छ । नेप्सेमा दैनिक जसो ४० अंकको गिरावट आएर बजार कतिसम्म घट्ला भन्ने चासो र चिन्ता सर्बत्र छ । तर सेयर किन्न नयाँ लगानीकर्ता प्रबेश गर्ने र छानी छानी राम्रा कम्पनीको शेयर सस्तोमा उठाउने बेला चाँही अब सुरु हुनै लागे जस्तो देखिन्छ ।
नेपाल स्टक एक्सचेन्जको लाईभ फ्लोरसिट नै राताम्मे भईरहेको बेला यसले मुर्ख कुरा गर्यो भन्ने भान धेरैमा पर्नसक्छ । अब यसले धेरै सोझा साझा लगानीकर्तालाई डुबाउने भो भन्दै बदनाम गर्न खोज्नेहरु सल्बलाउन थालिहाल्ने छन् किनभने अहिले शेयर बजार अरु घटोस् भनेर धुप हालेर बस्ने र बढोस भनेर कामना गर्ने जमातको कुनै कमी छैन । कसैले धुप हाल्दा पनि बजार पहिले जस्तो ११७५ बाट २९२ मा झरेजस्तै झर्दैन र एकाएक उकालो लागेर आकाशमा पनि पुग्दैन । तर यी दुबै खाले अतिबादीहरुको चंगुलबाट मुक्त भएर यो सामाग्री तयार पारिएको छ । बजार घटाउनु, बढाउनुसँग यस लेखाईको कुनै साईनो छैन ।
यदि तपाइँको बैंक खातामा पैसा छ भने तयार हुनुहोस्, सुरक्षित लगानी गर्ने समय यही हो । यसका निश्चित मान्यताहरु चाँही तपाइँले पालना गर्नेपर्छ । तपाइँले कम्पनीहरुले प्रकाशित गरेका चौथो त्रैमासिक बित्तीय बिबरणहरुको राम्ररी अध्ययन गर्नुभयो ? छैन भने पहिले त्यो राम्रोसँग अध्ययन गर्नुहोस् । अघिल्लो आर्थिक बर्ष र गत आर्थिक बर्षको बिबरणहरुको तुलनात्मक अध्ययन गर्नुहोस् ।
तुलनात्मक अध्ययनबाट के पाउनुभयो ? कम्पनीको चुक्ता पूँजी र ब्यापार अघिल्लो बर्ष भन्दा बढेको छ ? खुद नाफा अघिल्लो बर्ष भन्दा बढेको छ ? जगेडा कोष चुक्ता पूँजीकै हाराहारी वा उल्लेख्य छ ? प्रति शेयर आम्दानी अघिल्लो बर्ष भन्दा बढेको छ ? निस्क्रिय कर्जा अघिल्लो बर्ष भन्दा घटेर ५ प्रतिशत मुनि र त्यो भन्दा पनि अति न्युन छ ? कम्पनीले अघिल्लो आर्थिक बर्षमा के कति बोनस सेयर दियो, गत बर्ष त्यो भन्दा बढायो ? यो बर्ष अरु बढाउला ? प्रति सेयर नेटवर्थ ११० भन्दा माथि छ ? ईक्विटीमा प्रतिफलको मात्रा बढेको छ ? मूल्य आम्दानी अनुपात अर्थात आजको शेयर मूल्यलाई प्रति शेयर आम्दानीले भाग गर्दा ३० गुणा भन्दा कम छ ? कम्पनीका संचालकहरु ईमानदार र प्रतिष्ठित छन् ? संस्थागत सुशासन राम्रो छ ? हकप्रद भन्दा बोनस शेयर धेरै प्रतिशत दिने घोषणा गरेको छ ? अरुसँग मर्ज वा एक्विजिशनमा गएर लामो समयसम्म शेयर कारोबार बन्धक बन्ने अबस्था छैन ?
यदि माथिको अबस्था पाउनुभयो भने त्यस्तो कम्पनीको सेयर तपाइँले घटेको मूल्यमा ढुक्क भएर उठाए हुन्छ । बजार घट्दै जाँदा त्यस्तो राम्रो कम्पनीको सेयर मूल्य जति घट्दै जान्छ, त्यति धेरै किन्दै जानुहोस् । तर एकैचोटी सबै पैसा लगानी गरेर सेयर नकिन्नुहोस् । तपाइँसँग १०० कित्ता सेयर किन्ने क्षमता छ भने पहिले १० कित्ताबाट सुरु गर्नुहोस्, घट्दो मूल्यमा किन्दै संख्या बढाउनुहोस् । बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, बिमा, लघुवित्त, जलबिद्युत र सेवा क्षेत्र सबैतिर राम्रा र नराम्रा कम्पनी छन् । राम्रा भए पनि मूल्य उचालिएर माथि पुर्याईएका कम्पनीहरु पनि छन्, त्यसबाट पनि सावधान हुनु पर्छ । सबै कम्पनी राम्रा हुँदैनन्, राम्राहरु सस्ता नहुन सक्छन् तर राम्रा भन्दैमा मुल्य उचालिएका कम्पनीमा लगानी गर्दा फाईदा नहुनसक्छ । मध्यम बिन्दुमै आफ्नो स्थान खोज्नु चाँही सुरक्षित हुनसक्छ । राम्रा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लघुवित्त र बिमाहरुको अलग अलग पोर्टफोलियो बनाउनुहोस् । हरेकको शेयर संख्या सन्तुलन मिलाएर उठाउनुहोस् ।
यसो गर्दा एउटा कम्पनीले राम्रोे प्रतिफल दिएन, मूल्य बढेन भने पनि अर्कोले गर्ने फाईदाले तपाइँ सुरक्षित हुनुहुनेछ । अब कम्पनीहरुले धमाधम लाभांश, धेरैले त आकर्षक बोनस सेयर प्रस्ताव गर्ने र साधारणसभा डाकी त्यो तपाइँलाई बाड्ने प्रस्ताव गर्न थाल्नेछन् । बजार घटेको बेला सस्तोमा राम्रो कम्पनीको सेयर उठाउनु भयो भने तपाइँको दुबै हातमा लड्डु हुनेछ । एकातिर कम्पनीले दिने आकर्षक बोनस शेयर, हकप्रद पाईने अर्कोतिर सस्तोमा किनेको सेयरको मूल्य बढ्ने । तर याद राख्नुहोस् धेरै हकप्रद जारी गर्ने कम्पनीको सेयर उठाउनुभयो भने हकप्रद किन्ने पैसा खोज्दैमा सास्ती भोग्नुपर्ला । हकप्रदको हल्लामा बढी केन्द्रित भएर हैन, कम्पनीको समग्र अबस्था र बोनस सेयर बढी दिनेमै जोड गर्नुहोस् । राम्रो कम्पनी छ र प्रतिसेयर आम्दानी यसबर्ष पनि बढाउनसक्ने अबस्था आँकलन गर्नुहुन्छ भने हकप्रदले पनि फाईदै गर्ला ।
नेप्से कति अंकले घट्यो भन्ने कुरा तपाइँको ठूलो चिन्ताको बिषय बन्नुहुन्न किनभने नेप्से धेरै घट्दा पनि तपाइँले किनेको राम्रो कम्पनीको सेयरमुल्य धेरै नघटेको हुनसक्छ । जब आफ्नो लगानी सुरीक्षत छ भने खराब कम्पनीहरुमा लगानी गरेर धेरै गुमाएकाहरुको लहरमा उभिएर किन रुवाबासी गर्नुपर्यो ? बजार घट्ने क्रम सुरु हुँदा नराम्रो कम्पनीकै मूल्य धेरै घट्न थाल्छ, राम्रा कम्पनीको मूल्य धेरै घट्दैन । यो कुरा तुलना गरेर हेर्नुस, आफै थाहा पाउनुहुन्छ ।
अरुको हल्लामा सेयर किनबेच नगर्नुहोस्, आफ्नो निर्णय गर्नुहोस् । फलानो समूहले सेयर बेच्यो रे, फलानोले यसो गर्दै छ रे, यस्ता हल्लाको केही अर्थ छैन । ठूला लगानीकर्ताले उसो गरे रे भन्ने पनि सबै बकबास हुन् । हिजोका ठूला लगानीकर्ता भन्नेहरु आज कोही गुमनाम भईसके, कोही नेप्से १५०० बिन्दुमा हुँदा नै सेयर बेचेर बसिसकेका थिए, केहीले अहिले बेच्दै होलान् । उनीहरुको हाउगुजीबाट डराउनुपर्ने आबश्यकता छैन । सामुहिक लगानी कोषहरुले अहिले सेयर बेचे भने फेरि किन्छन् । कसैलाई लागु औषधको मुद्धा लाग्यो र सेयर बेचे वा बेच्न पाएनन् भने पनि त्यो सामान्य लगानीकर्तालाई त्रास बढाउने कुरा हैन । जसले गलत कर्म गर्छ, यसैले सजाय भोग्छ ।

सामाजिक संजालबाट चलाईने गलत हल्ला, अफवाहबाट पनि बच्नुहोस् । केही समूहहरु आफुहरुले ठूलो संख्यामा उठाएको सेयरको मूल्य बढाउन वा बेच्ने वातावरण तयार गर्न यस्ता सामाजिक संजालबाट हल्ला चलाउने, कतिपय सेयर दलालकै कार्यालयमा पुगेर कानेखुशी गर्ने र संचार माध्यमहरुकै उपयोग गरेर लेख्न लगाउने गर्छन । शंका लाग्यो भने आधिकारिक निकायबाट पुष्टि गराएर मात्र हल्लाबारे बुझ्नुहोस्, नभए हल्ला गर्नेहरुको कुरा एक कानले सुनेर अर्को कानले उडाईदिए हुन्छ ।

सेयर किन्दा तपाइँको माग मार्केट डेब्थमा देखाउने काम नगर्नुहोस् । माग बढेको देखिए सेयर बेच्न खोज्नेहरुले मूल्य बढाईदिन्छन् र तपाइँले किन्न खोजेको सेयर महंगो पर्छ । सेयर बजारलाई माग अर आपुर्तिको खेलको रुपमा पनि बुझ्न सकिन्छ । माग बढ्दा मुल्य पनि बढ्नसक्छ, आुपर्ति बढ्दा मूल्य पनि घट्नसक्छ । मार्केट डेब्थमा सस्तोमा धेरै सेयर किन्न बसेको देखाएर महंगोमा थोरै सेयर किनेर (म्याचिङ गरी) बिक्री गर्ने सेयरको मुल्य बढाउने र सस्तोमा कित्ता बेच्न बसेको देखाएर मूल्य घटाउने रणनीतिहरु पनि कतिपयले अख्तियार गरेको हुनसक्छ ।

बजारमा घटाएर बेच्न राखिएका सेयरहरु किन्नुहोस् । हौसिएर सेयर किन्नुपर्ने कुनै कारण छैन, सस्तैमा पाईन्छ । पहिले सस्तोमा किनेका राम्रा कम्पनीको सेयर अहिले बजार घटेको बेलामा बेच्दै नबेच्नुहोस् । कुनै प्रकारको लाभांश दिन नसक्ने, संकटग्रस्त अबस्थामा रहेका, सुध्रिन समय लाग्ने, पूँजी बृद्धिको सिमा पार गर्न हकप्रदको भारी मात्रै बोकाउने, आफै टिक्न नसकेर अरुसँग गाभिन र बेचिने मौका कुरिरहेका, कम्पनीको बित्तीय अबस्था ठीकै भए पनि संचालकहरु खराब भएका, कमाई घटाउँदै गएका कम्पनीहरुको सेयर बेचिहाल्नुस र राम्रा कम्पनीको सेयरमा आफ्नो लगानी सारिहाल्नुस् ।

आज बजार घटेको बेलामा त्यस्ता कम्पनीको सेयर बेचेर राम्रा कम्पनीको सेयरमा लगानी सार्दा भोलि बजार बढ्दा तपाइँले कमाउने संभावना कयौं गुणा बढी हुन्छ । आजको भोलि दोब्बर नाफा गर्छु भनेर हैन, कम्तिमा तीन बर्षका लागि मैले राम्रो कम्पनीको सेयर किन्दैछु भनेर सोच्नुहोस् । त्यसै अनुसार आफ्नो लगानी जुटाउनुहोस् । तपाइँ सेयर बजारको जुवाडे हैन, लगानीकर्ता हो । लगानीकर्ताले जहिले पनि नाफा र जोखिमको आँकलन गरेर लगानी गरेको हुन्छ । लामो समयका लागि लगानी गरेको भए पनि केही समयपछि बजार बढेर आफुले किनेको सेयरको मूल्य बढ्दा नाफा सुरक्षित गर्न सेयर बेच्न पनि तयार रहनुहोस्, त्यसो गर्नु भएन भने त्यसैमा अल्झिरहने न हो ।

सेयर बजार कहिले बढ्छ, कहिले घट्छ तर सधंै बढिरहने र घटिरहने हुन्न । एकोहोरो ढंगले बढेको थियो, त्यसैगरी घटेको छ । यो घटाई पनि एउटा बिन्दुमा पुगेपछि रोकिन्छ र फेरि बजार बिस्तारै फर्किन्छ । बजार आफ्नो नियमले चल्छ, त्यो नियमलाई प्रभाव पार्ने बिभिन्न कुराहरु हुन्छन् । बजार घट्दा आत्तिने र बढ्दा मात्तिने दुबै कुरा हानिकारक हुन् । यसबाट तपाइँ चाँही मुक्त हुनुहोस् । केही लगानीकर्ताहरु बिमा र लघुवित्तहरुको सेयर उचालिएर किन्दा घाटा खाएर बेच्नु न राखिरहनु जस्तो अबस्थामा छन् । यो पाठ सबैले सिक्नु जरुरी छ ।

बिमा र लघुवित्त मात्रै हैन कुनै पनि कम्पनीको सेयर उचालिएर किन्दै नकिन्नुहोस् । बजार धेरै घट्दा बैंकहरुबाट सेयर धितो कर्जा लिएकाहरुको सवालमा मार्जिक कल आउने संभावना बढेर गएको छ भन्ने चर्चा सुरु भएको छ । सबैभन्दा पहिले कर्जा ब्यवस्थापनमा ध्यान केन्द्रित गर्नुहोस् । आफुले ऋण लिएर किनेको सेयर नाफामा रहेको छ भने शेयर बेचेरर कर्जा तिरी तनाबबाट मुक्त हुन पनि सक्नुहुनेछ । त्यसो गर्न सक्ने अबस्था छैन भने धैर्यतापूर्वक विकल्पहरुको खोजी गर्नुहोस् तर आत्तिएर हतारको निर्णय गर्नबाट पछि हट्नुहोस् । कालो धनको खोजीले धेरैलाई पिरोलेको हुनसक्छ तर तपाइँ अलिकत्ति पनि आत्तिनुपर्ने अबस्था छैन ।

तपाइँले बैध स्रोतबाट लगानी गर्नुभएको छ, आफ्नो पसिनाको कमाई लगानी गर्नुभएको छ भने तपाईँको पैसा खोस्न कोही पनि आउनसक्दैन । जो जसले कालो धन लगानी गरेका छन्, उनीहरुको चिन्ताको कुरा हो, त्यो चिन्ताको भारी बोक्ने जिम्मेवारी उनीहरुकै हो, तपाइँको हैन । नजाने गाउँको बाटै नसोध्नु ठीक । तर शेयर कारोबार गर्दा बैध रकम र सधै बैकिड। कारोबार मात्रै गर्नुहोस् ।

बजारमा राम्रा कम्पनीको सेयर सस्तोमा जत्ति पनि पााईन्छ किनभने दुई महिना अघि सेयर किनेर राखेकाहरु पनि अहिले फाईदामै छन्, उनीहरु फाईदा सुरक्षित गर्न सेयर बेच्न आउँछन् । सेयर नपाईएला कि भनेर भाऊ बढाएर सेयर किन्ने काम गर्दै नगर्नुहोस् । दुई महिना यता उचालिएर सेयर किनेकाहरु अलि अफ्ठेरोमा परेका छन् । उनीहरुले पनि धैर्य गरे भने यसपालि आउने बोनस र हकप्रदले घाटा पुर्ति गरिदिनसक्छ ।

सेयर बजार घटेको त्रासमा बेचेर घाटा खाईसकेका वा बोनस सेयर नदिने थारो गाई महंगोमा किनेकाहरुको सवालमा केही भन्न सकिन्न । बेलैमा बुद्धि नपुर्याउँदा यस्तै हुन्छ । राजनीति, अर्थतन्त्र र सेयर बजारको सम्बन्ध पनि हेर्नु त पर्छ तर सधै यसको सन्तुलन मिलेको हुन्छ भन्न सकिन्न । नेपालमा पनि त्यही भएको छ । तर राजनीति सुधारिदो, अर्थतन्त्र र सेयर बजार दुबै फैलदो क्रममा भएकाले सुरक्षित लगानी गर्नेहरुले आगामी दिनहरुमा धेरै प्रतिफल पाउनसक्ने संभावना छ ।

धितोपत्र बजारमा धितोपत्र बोर्डले गर्दै गरेको ऐतिहासिक सुधार, सेयर बजारको आधुनिकीकरण, दिनदिनै थपिदै गएका ब्यक्तिगत, संस्थागत लगानीकर्ताको संख्या र कारोबार रकम, बाणिज्य बैंकहरुलाई सेयर दलाल लाईसेन्स दिएपछि बिस्तार हुने बजार, सेयर दलालहरु ७५ वटै जिल्लाहरुमा पुगेपछि ब्यापक हुने कारोबार, अनलाईन कारोबार प्रणाली जडानपछि बिदेशी र गैर आवासीय नेपालीहरु पनि नेपालको सेयर बजारमा आउनसक्ने संभावना, सेयर दलाल मार्फत नै मार्जिक ल्याण्डिड।को ब्यवस्था, लगानीकर्ता पहिचान कार्ड जारी भएपछि पर्ने त्यसको सकारात्मक प्रभाव, माथिल्लो तामाकोशी जस्ता ठूला कम्पनीहरु सेयर बजारमा आउने अबस्था, राजनीतिक कारणले अरु क्षेत्रमा तत्काल ठूलो लगानी जान नसक्ने अबस्था, केही क्षेत्र बाहेक घरजग्गा कारोबारको घट्दो अबस्था, बैंक ब्याज दर लगायतका कुराहरु हेर्दा शेयर बजार अब खुचिन्न ।

आगामी दिनमा अरु ब्यापक भएर जाने आधार धेरै छ । जसले आज सुरक्षित लगानी गरेको हुन्छ, दुई बर्षपछि उसको अबस्था बेग्लै हुनेछ । सेयर बजार उचालिएर माथि पुगेको बेला नयाँ लगानीकर्ताको प्रबेश जोखिमपूर्ण हुन्छ नै । तर जब बजार हदैसम्म घटेर तल आएको हुन्छ यस्तो बेलामा नयाँ लगानीकर्ताहरु प्रबेश गर्नु सुरक्षित हुन्छ । अहिले पनि नयाँ लगानीकर्ताको लागि पुरै सुरक्षित त छैन तर शेयरमूल्य तल आएका, लाभांश दिनसक्ने खालका, मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका, केही तोकिएका कम्पनीहरुको हकमा साना लगानीकर्ताको प्रबेश सुरक्षित छ । सामुहिक लगानी कोषको ईकाई दोस्रो बजारबाट किन्दा पनि सुरक्षित नै छ ।

– तिलक कोइराला, ३ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ३ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३८

काठमाडौँ, ६ चैतः प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।...

किसानलाई पशु बीमा गर्न कठिन   

किसानलाई पशु बीमा गर्न कठिन   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३३

गल्याङ (स्याङ्जा), ६ चैत: स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा...

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...