जोखिम मोल्न नचाहँदा कर्मचारीतन्त्र परिवर्तको बाहक हुन सकेन : कृष्णहरि बास्कोटा

हरिशरण न्यौपाने

मरेर जाँदा फलानु बितेछन् भन्ने बनाउने मोह छ, श्रद्धाञ्जली लिनेभन्दा अरु कुनै लोभ छैन । आफुले जानेको विषय राष्ट्रको हितमा कसरी लगाउन सकिन्छ । सबैले राष्ट्रको हितमा कसरी सोच गराउने होला ? सबै मानिस कानुनमा चल्ने र काम गर्ने अवस्थामा कसरी पु¥याउन सकिन्छ होला ? कसैले बाटो बिराउन खोज्यो भने तिमी होशियार भन्ने र सुधारको पथतिर लगाउने कोशिस गर्नेछु ।

हो, सुब्बादेखि सचिवसम्म ३४ वर्ष नेपालको निजामती सेवामा यसैगरि समर्पित र अझै थप ५ वर्ष सरकारी सेवामा लागिरहेको नाम हो कृष्णहरि बास्कोटा । अबको ५ वर्ष राष्ट्रिय सुचना आयोगमा बिताएपछि बास्कोटाको ३९ वर्षे सरकारी सेवा पुरा हुनेछ ।

प्रशासनिक क्षेत्रमा ख्यातिप्राप्त बास्कोटाको जन्म २०१५ साल फागुन १५ गते धादिङको केबलपुरमा भएको हो । बाल्यकालको केहिवर्ष केबलपुरमा बिताएका बास्कोटाले केबलपुरे किसान अर्थात् देवीप्रसाद पौडेलका श्रीमान श्रीमतिको सहयोगमा केबलपुर पाठशालामा बाह्रखरी पढ्न सिक्नुभएको हो । बास्कोटाले बरपीपलको चौतारीको जरामा चकटीमा बसेर बाह्रखरी सिक्नुभएको थियो । उहाँको बाल्यकाल केबलपुरमै बितेको थियो ।

बास्कोटाले डल्लुको गीतामाता प्राथमिक विद्यालयबाट कक्षा १ र कक्षा २ को अध्ययन सक्नुभएको हो । त्यसपछि विभिन्न ७ वटा विद्यालयमा अध्ययन गर्दै बास्कोटाले २०३४ सालमा चितवन जिल्लाबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । उहाँको बुबा भूमिसुधारमा जागिरे हुनुभएका कारण बास्कोटाको बुबाको सरुवा जहाँ जहाँ हुन्थ्यो, बुबाको सरुवा सँगै उहाँको विद्यालयको अध्ययन पनि परिवर्तन भईरहन्थ्यो ।

Krishnahari 3२०३६ सालमा आई. ए.को पढाई सक्नुभएका उहाँले आई .ए.को रिजल्टसँगै २०३७ साल जेठबाट निजामति सेवा सुरु गर्नुभएको हो । त्यतिबेला उहाँको बुबा भूमिसुधारको शुब्बामा जागीरे हुनुहुन्थ्यो । खाली रहेको समयलाई सदुपयोग गर्नुपर्छ भन्ने भावना बोक्नुभएका बास्कोटाले बुबाको कार्यालयमा टाईप सिक्न गएका बेला त्यस कार्यालयका ५÷६ जना मानिसहरुले नायब शुब्बा खुल्या छ हेटौंडामा जाँच दिन जानुपर्छ भनेर दौडधुप गरेकै आधारमा जागिरे जीवनको सुरुवात गर्नुभएको हो । बुबाका कार्यालयका मानिसहरु नायब शुब्बामा जागीर खाने भएपछि बास्कोटालाई मेरो पनि आईएको रिजल्ट भईदिए नायव शुब्बामा जागीर खान्थे भन्ने लाग्यो । हुनपनि उहाँलाई भाग्यले साथ दियो । तत्काल आईएको रिजल्ट भयो । बास्कोटा त्यतिबेला मेरिटमा पास हुनुभयो । शुक्रबारको दिन रिजल्ट सुन्नुभएका बास्कोटाले शुक्रबार नै क्याम्पस प्रमुखलाई भनेर क्याम्पसको सर्टिफिकेट निकाल्नुभयो । त्यसपछि आईतबार हेटौंडामा गएर दोब्बर दस्तुर तिरेर नायब शुब्बाको फर्म भर्नुभयो ।

आफुभन्दा बरिष्ठहरुलाई के पढ्दा ठिक होला भन्ने सोधेर नायव शुब्बाको गाईड पढेका बास्कोटाले सात सय पेजको २८ रुपैंयाको किताब १ महिनामै कण्ठ पार्नुभयो । तीन महिनामा तीनपटक कण्डाग्र गरेर किताब पढेका बास्कोटाले नायब शुब्बामा सजिलै नाम निकाल्नुभयो । जीवनमा लागिपर्ने हो भने मान्छे असफल हुँदैन भन्ने भावना राख्ने उहाँले एउटा गाईड लेख्दिन पाए कतिलाई कल्याण हुन्थ्यो होला भनेर उहाँले सेक्सन आफिसरको लागि गाईड प्रकाशन गर्ने विचार गर्नुभयो । शुब्बामा जागिर गर्दैगर्दा उहाँले रात्रीको समयमा क्याम्पस पढ्नुभयो । बि. ए. पढेपछि सेक्सन अफिसर जाँच दिनुपर्छ, भनेर सेक्सन अफिसरको तीन पेपर जाँच दिने निर्णय गर्नुभएका बास्कोटाले सामान्य ज्ञान, एउटा निबन्ध र सेवासम्बन्धि जाँच दिनुपर्ने थियो । त्यस्तै विचार गर्दा गर्दै शुब्बाको जागीर गरिरहनुभएका र बि.ए. पढ्दापढ्दै उहाँले सामान्य ज्ञान र निबन्ध संग्रह दुईवटा किताब निकाल्नुभयो । त्यतिबेला नै उहाँले शाखा अधिकृतको जाँच दिनुभयो । सबैको हात हातमा कृष्णहरि बास्कोटाको शाखा अधिकृतको गाईड देखेपछि बास्कोटा झन् आश्चर्यमा पर्नुभयो । उहाँलाई कतै किताब लेख्ने मान्छे नै फेल भयो भने के होला भन्ने भयो । तिक्ष्ण दिमाग भएका बास्कोटाले शाखा अधिकृत सजिलै पास गर्नुभयो ।

शुब्बाको जागीर गर्दा पाटन क्याम्पस पढ्नुभएका बास्कोटा पाटन ढोकामा ३० रुपैंया भाडा तिरेर डेरामा बस्नुहुन्थ्यो । त्यतिबेला शुब्बामा उहाँको तलब ३ सय ५५ रुपैंया थियो । त्यहि तलबबाट उहाँले १ बहिनी, २ भाईलाई पढाउने खर्च जुटाउनुहुन्थ्यो ।

पढाईकाक्रममा उहाँले पकाएको भात सबैलाई थालमा बराबरी बाँडेर आफुचाँहि आधा खानुहुन्थ्यो । पछि पढेर सकेपछि सबै खाना खानुहुन्थ्यो । भाई बहिनी सँगै भात खान बस्ने बास्कोटाले आफु ढिलो खाने र भाई बहिनिले भात खाईसकेको थाल पखाल्न लगाएर आफुले खाँदै गरेको आधा जति दाल भात तरकारी छोपेर राख्नुहुन्थ्यो । अनि पढ्ने कामसकेपछि मात्र खानुहुन्थ्यो । सबै भात खाईयो भने भाते निद्रा लाग्छ पढ्न सकिन्न भनेर उहाँ एकचोटी पस्केको भात खटाई खटाई खानुहुन्थ्यो । शाखा अधिकृतको तयारी गर्दा गर्दै चाँडै निदाइयो भने त जाँचमा पास भइन्न भनेर ननिदाउनका लागि उहाँले त्यो विद्या प्रयोग गर्नुहुन्थ्यो । शाखा अधिकृतको तयारी गर्दा बिहान ४ बजे उठेर ९ बजेसम्म पढ्ने, जागिर सकेर बेलुका क्याम्पस पढेर फर्केर खाना खाएपछि रातीको १० बजेपश्चात् रातीको १÷२ बजेसम्म पढ्नुहुन्थ्यो । सहायक सचिव, सहसचिवसम्मको जाँच दिंदा पनि उहाँले यहि विद्या लागु गर्नुभयो । त्यतिबेला उहाँ मुश्किलले ३÷४ घण्टा मात्र सुत्नुहुन्थ्यो । अहिले पनि लोकसेवा आयोग पढ्ने मान्छेले कसरी तयारी गर्नेहोला भन्दा बास्कोटा यस्तै ३÷४ घण्टामात्र सुत्न सुझाव दिनुहुन्छ । बास्कोटा भन्नुहुन्छ, आईस्टाईनले पनि २४ घण्टालाई प्रयोग गरेर आईस्टाइन बनेका हुन् ।

२०४० सालमा बि.ए.पास गर्नुभएका उहाँले २०४५ सालमा एम्. ए. पास गर्नुभएको थियो । उहाँले २०४६ सालमा बि.एल्. गर्नुभयो । त्यसपछि इटालीबाट पोष्ट ग्रयाजुएट डिप्लोमा गर्नुभयो । त्यस्तै मलेसियाबाट अन्तर्राष्ट्रिय प्रोपर्टी भ्यालुएसन कोर्श गर्नुभयो । बास्कोटा चार दर्जन मुलुकमा तालिममा सहभागी भईसक्नुभएको छ ।

२०३७ साल जेठमा नायब शुब्बाको जागीर सुरु गर्नुभएका बास्कोटाले बी.ए. सकिएसँगै २०४१ साल मंसिरमा शाखा अधिकृतको जागीर सुरु गर्नुभयो । २०४८ सालमा उहाँ सहायक सचिव हुनुभयो । २०५० सालमा उपसचिवमा बढुवा हुनुभएका उहाँ २०५५ सालमा सहसचिव, त्यसको ठिक दश वर्षपछि २०६५ सालमा अर्थमन्त्रालय अन्तर्गत राजश्वमा कायम मुकायम सचिव हुनुभयो । २०५० सालमा अछाममा प्रमुख जिल्ला अधिकारी बन्नुभएका बास्कोटाले त्यतिबेला जनताको काम तत्कालै गनुपर्छ भन्ने भाव राखेर अप्ठेरोमा परेका जनताको कामलाई कहिल्यै ढिलाई गर्नुभएन । बिहानको ७ बजे होस् या बेलुकीको पौने ८ बजे जनतालाई नागरिकता दिने काम गर्नुभयो । त्यस्तै अछाममा बस्दा नै उहाँले जनताका सारोकारसँग सम्बन्धित जिल्ला प्रशासनका १० प्रकारका निवेदनको ढाँचासहित जिल्ला प्रशासनबाटै निशुल्क प्रदान गर्ने कार्य गर्नुभयो । उहाँको यो कार्य देशैभर नमुना कार्य बन्न पुग्यो ।

२०५५ सालदेखि २०५९ सालसम्म वाणिज्य विभागको महानिर्देशक बन्नुभएका बास्कोटाले बेलायतमा जोन मेकरले आविस्कार गर्नुभएको नागरिक बडापत्र नेपालमा लागु गराउन सफल हुनुभयो । सरकारी अड्डा भनेपछि यो अड्डा किन खुलेको ? यसले के सेवा दिन्छ ? त्यो सेवा दिंदा सेवाग्राहीले के–के जुटाउनुपर्छ, त्यो सेवाबापत दस्तुर कति लाग्छ ? कति समय कुर्नुपर्छ ? यसका लागि जिम्मेवार पदाधिकारी को हो ? जिम्मेवार पदाधिकारीले पनि जनतालाई त्यो सेवा प्रवाह गरेन भने उजुरी गर्ने ठाउँ कहाँ हो ? उजुरी गर्दा पनि जनताले सेवा पाएन भने क्षतिपूर्ति पाउने प्राबधान के हो ? भन्ने कुरा बेलायतमा जोन मेकरले आविस्कार गर्नुभएको थियो । वाणिज्य विभागको महानिर्देशक भईसकेपछि बास्कोटाले वाणिज्य विभागमा नागरिक बडापत्र लागु गर्नुपर्छ भनेर यसको पहल गर्नुभयो । अन्ततः नागरिक बडापत्र लागु गराउन उहाँ सफल हुनुभयो । एक प्रकारले त्यहि बाणिज्य विभागको बडापत्र नेपालभर लागु भयो । नेपाल सरकारका करिब ७ हजार कार्यालय छन् । यो सबैमा नागरिक बडापत्र फैलिनुमा एकमात्र कारण त्यहि वाणिज्य विभागको नागरिक बडापत्र नै हो ।

त्यसपछि २०६१ सालसम्म भन्सार विभागको महानिर्देशक भएर काम गर्नुभयो । त्यतिबेला छुट्टै कार्यबिधि बनाएर भन्सारमा देखिएका अनेकौ कर समस्याबाट सेवाग्राहीलाई मुक्ति दिलाउने कार्य गर्नुभयो । त्यतिबेला अख्तियारले उहाँको नमुना कार्यको देशैभर प्रचार गरेको थियो । उहाँले एक दशक अर्थ मन्त्रालयमा विताउनुभयो । बजेट महाशाखा प्रमुख, राजश्व सचिव हुँदै अर्थसचिव सम्मको जिम्मेवारी निर्वाह गर्नुभयो ।

बास्कोटाले २०६३÷६४ र ०६४ ÷६५ को अर्थमन्त्रालय अन्तर्गत बजेट महाशाखाको प्रमुख भएर काम गर्नुभयो । त्यतिबेला डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला उहाँले महिलामैत्री बजेट बनाउन ठूलो योगदान गर्नुभयो । महत अर्थमन्त्री भएका बेला सबैले बास्कोटालाई जय नेपाल भन्ने गर्दथे । उहाँले पनि जय नेपाल भनेको नेपालको जय भनेको होला भनेर जय नेपाल भन्नुहुन्थ्यो । सबैले उहाँलाई कांग्रेस भन्ठान्थे । पछि डा. बाबुराम भट्टराई २०६५ मा अर्थमन्त्री हुनुभयो । त्यतिबेला कायम मुकायम राजश्व सचिव बन्नुभयो । डा.बाबुराम भट्टराईले कायम मुकायम सचिव दिएको हुनाले बास्कोटा जी चाँही माओवादी रहेछन् भनेर भन्ने गर्थे । विभिन्न ठाउँमा जाँदा उहाँलाई लालसलाम भनेर भन्थे । बास्कोटालाई सबैले माओवादी भनेर भन्ने गर्थे । अनि माओवादी कार्यकर्ताले स्कर्टिङ गरेर विभिन्न कार्यक्रम स्थलसम्म पु¥याउने गरेको उहाँ सम्झनुहुन्छ । पछि नौ महिनापछि सुरेन्द्र पाण्डे अर्थमन्त्री हुनुभयो । सुरेन्द्र पाण्डे अर्थमन्त्री भएपछि उहाँ सचिवमा बढुवा हुनुभयो । त्यसपछि सबैले बास्कोटा जी चाँहि रातारातै माओवादीबाट एमालेमा आए भने । तर उहाँले कर्मचारी भएकाले निष्पक्ष ढंगले सबैलाई सघाउनुभएको थियो ।

डा.रामशरण महत, भरतमोहन अधिकारी, डा.बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, र वर्षमान पुन गरि पाँच वटा अर्थमन्त्रीसँग रहेर उहाँले अर्थमन्त्रालयमा काम गर्नुभयो । २०६८ सालमा अर्थसचिव बन्नुभएका बास्कोटा २०७० सालको सुरुतीर प्रधानमन्त्री कार्यालयको सचिव हुनुभयो । त्यसपछि ५ वर्ष पूरा भएर उहाँ अवकाश हुनुभयो । डा. बाबुराम भट्टराईको पालामा साँढे ३३ प्रतिशतले राजश्व बढाउन उहाँ सफल हुनुभएको थियो । त्यसलगतै सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्नुभयो । त्यो बाबुरामको पालामा बढेको राजश्वमा उहाँले थप अर्काे २६ प्रतिशतले राजश्व बढाउन सफल हुनुभयो । सबै दत्तचित्त भएर लाग्ने हो र व्यवस्थित गर्ने हो भने अहिले उठिरहेको राजश्वमा २ गुणा वृद्धि गर्न सकिने उहाँको दाबी छ ।

प्रधानमन्त्री कार्यालयमा सचिव हुँदा बास्कोटाले नौबिसे काठमाडौ सडकअन्तर्गत धेरै अगाडिदेखि रोकिएको १०७६ मिटर ढलान गर्ने काम ६÷७ महिनामै सम्पन्न गराउनुभयो । त्यहिबेला काठमाडौको सडक विस्तार कार्य सम्पन्न गराउन उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो ।

सचिवबाट अवकाशपछि बास्कोटा प्रशासन सुधारको संयोजक भएर छ महिना काम गर्नुभयो । २०७१ साल पुस ३० गते उहाँ सुचना आयोगको प्रमुख आयुक्त बन्नुभयो । प्रमुख सुचना आयुक्तको पदावदी ५ वर्षको रहेको छ । उहाँका अर्थतन्त्र र प्रशासनमा सम्बन्धि २२ वटा पुस्तक प्रकाशनमा छन् । १ हजारभन्दा बढि आर्टिकलहरु प्र्रकाशन भईसकेका छन् । उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् ।

Krishnahari 2निजामती सेवा के रहेछ ? भन्ने प्रश्नको जवाफ दिंदै बास्कोटाले पक्ष विपक्ष दूवै भनाई राख्नुभएको छ । पक्षमा भन्दा (१) अहिलेपनि स्कूल कलेजका जेहेन्दार मानिसहरु नै निजामती सेवामा छन् । त्यसैले यो जेहेन्दार छ । (२) नियमकानुन कसैले मान्छ भने नेपालमा कर्मचारीले नै मान्दछ । त्यसैले यो रुल बेस छ । (३) निजामति सेवामा अलिकति क्षमता पनि छ । अन्तर्राष्ट्रिय जगतमा जाँदा हाम्रा कर्मचारीहरु अन्तर्राष्ट्रिय स्तरका नै छन् । प्रबिधिमैत्री छन् र नेपाली, अंग्रेजी दुवै भाषा जान्ने पनि छन् ।

विपक्षमा वा नराम्रा पक्षहरुः (१) नीजामति कर्मचारीले कहिल्यै शाख माथि ल्याउनै सकेनन् । कर्मचारीहरु कामचोर हुन् भन्ने सबैतीर प्रचार भईरहँदा त्यसलाई चिर्ने काम कसैबाट हुन सकेन । कर्मचारी भ्रष्टाचारी हो भन्ने भईरहँदा होइन भन्ने बनाउन सकेनन् । (२) कर्मचारीतन्त्र राजनीतिकरुपमा रहन्नन् भन्दाभन्दै पनि राजनीतिसँग बहकिने भयो । जस्तो मन्त्री आयो मन्त्रालय त्यस्तै हुनेमात्र भयो । (३) कर्मचारीतन्त्रले आफ्नै पद्धती अपनाउन सकेको देखिन्न । त्यसैले कर्मचारीतन्त्र संघै तल नै प¥यौं । (४) कर्मचारी लोभीपापी र आफ्नो व्यक्तिगतस्वार्थमा लाग्ने भए । त्यसले पनि शाख गिरेको हो । कर्मचारीहरु जे सुबिधा पाउँछ त्यहि बुझिदिने भए । (५) कर्मचारीतन्त्र परिवर्तको बाहक हुन सकेनन् । कुनै जोखिम नलिने भए । कर्मचारीहरु काम ग¥यो भने अख्तियारले समात्छ कि भनेर जोखिममुक्त हुनमात्र खोजे । (६) गुण र अवगुणको विचमा कर्मचारीतन्त्र हिंडिराछ । सिमित व्यक्तिको भ्रष्टाचारले ठूलो समूह त्यसको दोषी भैराछ । सिमित व्यक्तिलाई हटाउन कोहि लागेन । (७) कर्मचारीतन्त्रले आफुहरुमा रहेका बेठिकलाई समयमै हटाउनुपर्ने खाँचो छ । दाउपेच र अरुको खिसीट्युरी गर्ने कार्यको अन्त्य गर्नुपर्ने खाँचो छ । आफुले केहि नगर्ने अरुले कतिबेला गर्ला र कुरा काटौंला भन्ने प्रवृति हटाईनुपर्नेछ ।

२०७२ मंशिर १६ गते २२:२५ मा प्रकाशित

You can share this post!

दोलखामा तामाकोशी प्रभाव, स्थानीय उत्साही निर्माण तिब्र

राजधानीका अधिकाँश ट्रान्सफरमर जलेको जल्यै

Related posts