back
NMB ad

“बिहे मेरो हो र ?” भन्दै म लजाएँ …

Kumari bank ad
म इस्लाम धर्मावलम्बी हुँ, उनी हिन्दु हुन् ।

विश्वका कतिपय देशमा फरक धार्मिक आस्था राख्नेहरुबीचको झगडा र हिंसाबारे समाचार लेख्नु र पढ्नु मेरो दैनिकी हो ।

तर आजभन्दा धेरै कम शिक्षित र रुढिवादी समाज हुँदा झण्डै २४ वर्षअघि म गनी अन्सारी र रामनारायण गुप्ताबीच हाम्री हजुरआमाहरुले मीत लगाइदिएका थिए ।

त्यतिबेला हाम्रा धार्मिक मान्यताबीचको अन्तर न रामनारायणलाई थाहा थियो न मलाई नै ।

फरक अनुभूति

कुन देश र कुन धर्मको दायराभित्र जन्मिने भन्ने हाम्रो चाहनाभन्दा बाहिरको विषय हो ।

जन्मिंदा हामी सबै मान्छे भएर नै जन्मिए पनि समयले हामीबीच रेखाहरु कोर्दै जाँदोरहेछ ।

मैले यहाँ यति भूमिका बाँध्नुको कारण के हो भने आज म संसारमा फरक आस्था राख्नेहरुबारे जे पढ्छु र जे सुन्छु त्यो मैले र रामनारायणले अनुभूत गर्दै आएको सम्बन्धभन्दा नितान्त फरक छ ।

हामी बेलाबेलामा मन्थन गर्छौँ, संसारभरि फरक धार्मिक आस्था राख्नेहरुको सम्बन्ध हाम्रो जस्तो किन हुन नसकेको होला ?

सहिष्णुताको साइनो

मीत हजुरआमा भन्थिन्, सानो छँदा म र मेरा मीत उस्तै देखिन्थ्यौँ ।

हामीलाई मितेरी साइनोमा गाँसिदिनुको कारण सायद त्यही थियो ।

जातपात र धर्म केही नभन्ने यो साइनोको विशिष्टता नै त्यही लाग्छ ।

त्यसैले त एकजना ३३ कोटी देवी देउतालाई मान्ने र अर्को अल्लाह एकमात्र ईश्वर भएको विश्वास गर्नेबीच यस्तो फरक खालको आत्मीय सम्बन्ध गाँसिएको छ ।

अचम्म लाग्छ, गाउँका कतिपयलाई मुसलमानले छोएको पानी नचल्ने बेला पढ्दै नपढेका हाम्री हजुरआमाहरुको सोच त्यति फराकिलो कसरी भयो होला? सम्झिंदा पनि मन श्रद्धाले भरिपूर्ण हुन्छ ।

हाम्री हजुरआमाहरु पक्कै पनि धार्मिक सहिष्णुता र सहअस्तित्वमा विश्वास गर्दथे ।

ईद र होली

क्याम्पस पढ्नका लागि राजधानी छिरे पनि वर्षमा कम्तीमा छठ र होली पर्वमा म मीतघर जान्छु ।

अनि ईद-उल-फित्र र ईद-उल-अज्हामा मेरा मीत मेरो घर आउने गर्छन् ।

फरक धार्मिक आस्था छँदै छ, झन् कतिपयका बीच पानी नै नचल्दा पनि हामी भने सँगै बसेर बाँडीचुँडी खाना खान्छौँ ।

मीत बिना मेरो ईद रौनकविहीन र म बिना मीतको होली फिक्का नहोस् भनेर हामी सकेसम्म यी चाडमा भेट्ने गर्छौं ।

मेरो आस्था बुझेरै मीतको घरमा होलीमा हलाल मासु मात्र ल्याइन्छ ।

करिब दुई दशक लामो हाम्रो सम्बन्धलाई अझै नजिक ल्यायो मीतको बिहेले ।

केही समयअघि आफ्नो व्यस्त दैनिकीबाट थोरै समय निकालेर म पर्साको विश्रामपुर पुगेँ, मीतको बिहेमा सहभागी हुन ।

मेहन्दी र साली

मीतको बिहेमा गनी अन्सारी
मीतको बिहेमा गनी अन्सारी

म घर पुगेको थाहा पाउने बितिक्कै मेरा मीत मलाई लिन आइपुगेका थिए ।

५ मिनेटको पैदल दूरीमा रहेको उनको घर म पनि झोला बिसाएर पुगिहालेँ ।

मीतले मेरो लागि शेरवानी किनिदिएका रहेछन् ।

त्यही लगाएर भोलिपल्ट जन्ती जानुपर्ने भएपछि मैले नाप जाँचे ।

त्यही दिन मीत दाइकी जेठानीले मेहन्दी लगाइदिने सुर कसिन् ।

“बिहे मेरो हो र?” भन्दै म लजाएँ ।

तर उनले दुलहा मात्रै होइन मीत पनि सजिनुपर्छ भनिन् ।

अनि म जीवनमा पहिलोपटक पूरै हात रंगिने गरी मेहन्दी लगाउन तयार भएँ ।

सम्बन्धले जुराएका कतिपय विषयलाई टार्न सकिन्न ।

मेहन्दी लागिरहँदा ख्याल ठट्टा पनि भयो ।

मीतले जिस्काउँदै भने, “मीतज्यू ! मेरी साली छन् मन परे भन्नुहोला है, एउटै जग्गेबाट दुवैजनाको काम सकूँला !”

कुनैबेला रामनारायणभन्दा लज्जानारायण बढी रहेका मेरा मीतको कुरा सुनेर म अचम्ममा परेँ ।

भोलिपल्ट मीतले किनिदिएको शेरवानीमा सजिएर हामी दुलही लिन विश्रामपुरबाट जीतपुर पुग्यौं ।

प्रायः सबै वैवाहिक विधिमा म मीतसँगै बसेँ ।

स्वयंवरदेखि जग्गेसम्मै म मीतको नजिक थिएँ ।

यतिसम्मकी मध्यरातमा भएको कन्यादानको साक्षी समेत म भएँ ।

संस्कार र चालचलन

तर मितिनी मेरो सामुन्ने देखिन नहुने परम्पराले अब पहिलाजस्तो निर्वाधरुपमा म मीतको घरमा ओहोरदोहोर गरिरहन सक्दिनँ।

मान्छे मर्दा मेरा मीततर्फ लाश पोल्ने र मेरोमा गाड्ने परम्परा छ।

मेरोमा नुहाएर चोखो भएर मात्रै अन्त्येष्टिमा सहभागी हुनुपर्छ भने उता दाहसंस्कारपछि चोखो भइन्छ ।

मीतकोतर्फ घण्टौं मन्त्रोच्चारणपछि विवाह सम्पन्न हुन्छ ।

मेरोमा मौलानाले निकाह कबुल गराई केही मिनेटमै बिहे हुन्छ ।

यी र यस्ता अनेकौँ फरक चालचलनबीच पनि हामीबीचको सम्बन्ध वर्षौंदेखि समान हुँदै आएको छ ।

सायद अझै गाढा ।

इस्लामिक प्रार्थनाअघि बज्ने अजानको स्वर न मेरा मीतलाई कहिल्यै कर्कश लाग्यो न हाम्रो गाउँमा राम मन्दिरको घण्टको आवाजले मलाई कहिल्यै दिक्क बनायो ।

यसमा हाम्री हजुरआमाहरुको ठूलो योगदान छ ।

अहिले पनि गाँउमा हिन्दुहरुको महायज्ञमा मुसलमानहरुले श्रमदान गर्छन अनि मुसलमानले मस्जिद बनाउँदा हिन्दुहरु सहयोग गर्छन् ।

हराउँदो संस्कार

मीतको बिहेमा हाम्रो सम्बन्ध अझै आत्मीय बन्यो ।

समयको परिवर्तनसँगै मीत संस्कार पनि बिस्तारै हराउँदै जान थालेको छ ।

त्यसमाथि अन्तरधार्मिक मीत साइनो झन् दुर्लभ नै हुने भयो ।

तर मेरो मितेरी साइनोको अव्यक्त प्रभाव पनि हुनसक्छ, कक्षा ३ मा अध्ययनरत मेरी भतिजीकी मितिनी ब्राह्मण हुन् ।

अन्तरधार्मिक मीत संस्कारलाई मेरी भतिजीले दिएको निरन्तरमा म मेरो र रामनारायणको मितेरीको झझल्को पाउँछु ।

नेपाली समाज बढ्दोरुपमा आत्मकेन्द्रित, धर्म केन्द्रित, जात केन्द्रित हुँदैजाँदा धार्मिक सहिष्णुता र सहअस्तित्वको भावना निस्सासिंदै गएको आभास हुन्छ ।

त्यसलाई बदल्ने उपायहरु खोज्न सकिएन भने बहुधार्मिक, बहुसांस्कृतिक एवम् बहुभाषिक हाम्रो समाजमा हामीले कुनैबेला यतिमात्र भन्न बाँकी रहला- कहाँ गए ती दिनहरु ?

स्रोत : गनी अन्सारी संवाददाता बीबीसी नेपाली सेवा 

२९ चैत २०७२

वि.सं.२०७२ चैत ३० मंगलवार १२:२२ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...