वैदेशिक रोजगारीले उकासेको जीवनस्तर

रापट्टी । लहानबाट तीन किलोमिटर दक्षिणको गाउँ सोनमती मझौरा, जसलाई ुछरापट्टीु नामले पनि चिनिन्छ। मुस्लिम समुदाय बाहुल्य यो गाउँमा पहिला पक्की घरमा बस्ने र निजी विद्यालयमा पढ्नेको संख्या नगन्य थियो। तर अहिले यो गाउँ उज्यालिएको छ। पहिलाको गाउँले अहिले सहरको स्वरुप लिएको छ। अहिले यो गाउँ लहान नगरपालिकामा गाभिएर लहान–१९ भएको छ।

यो गाउँका अधिकको जीविकोपार्जनको स्रोत तरकारी खेती थियो। यहाँ उत्पादित तरकारी लहान बजारमा बिक्री गरेर दैनिकी चलाउँथे उनीहरूले। तर त्यो बेला तरकारी बेचेर कमाएको पैसा घरधन्दामै सकिन्थ्यो। त्यसैले राम्रो घर (पक्की) मा बस्ने बालबच्चालाई राम्रो शिक्षा दिलाउन सपनाजस्तै थियो यहाँका अधिक मुस्लिम अभिभावकलाई। तर अहिले समय फेरिएको छ। त्यो बेला कमजोर आर्थिक हैसियतका मुस्लिम समुदाय अहिले गाउँकै पैसावालमा कहलिएका छन्। पक्की घर, गाडी छोराछोरीलाई महँगो स्कुल अहिले उनीहरूका लागि सामान्य छ।

मुस्लिम समुदायमा सम्पन्नता त्यत्तिकै आएको होइन। यो सम्पन्नताको कारक हो वैदेशिक रोजगारी। विदेश गएर कमाएको पैसाले यहाँका बासिन्दाको आर्थिक हैसियतमा कायापलट गरिदिएको छ।

यो गाउँबाट वैदेशिक रोजगारीमा कतार जाने पहिलो व्यक्ति मोहम्मद बसिर हुन्। उनी २०४५ सालमा रोजगारीका लागि कतार उडेका थिए। उनले गत वर्षसम्म कतारमा काम गरेका थिए। उनका चार भाइ कतारमै छन्। बसिर कतार जानुअघि मजदुरी गर्थे।

आर्थिक हैसियत सुधार्न बिदेसिनुपर्छ भने सोच पलाएपछि बसिर ऋण काढेर कतार हानिएका थिए। उनले डेढ वर्षको कमाइले ऋण तिरे। त्यपछिको कमाइ बचत गर्दै गए उनी। कतारको रोजगारीमा सेट भइसकेपछि उनले भाइहरूलाई पनि उतै ताने। पाँच दाजुभाई कतारमा कमाउन थालेपछि उनीहरूले विपन्नबाट सम्पन्न जीवन जिउन थाले।

अहिले गाउँमा भव्य पक्की घर जोडिसकेका छन बसिरले। गाउँकै चोकमा सात कट्ठा घडेरी पनि उनको छ। लहान बजारमा पनि उनको जग्गा छ। पहिला हेला गर्ने अहिले उनको परिवारलाई सम्मान र इज्जत गर्छन्।

पहिला लहान बजारमा तरकारी बेच्न जाने उनको परिवारका महिला अहिले हाटमा झोला लिएर तरकारी किन्न जान्छन्।

बसिर जस्तै यही गाउँका मोहम्मद इस्लाम पनि २०५२ सालमा कामका लागि कतार हानिएका थिए। ४५ हजार ऋण लिएर कतार गएका उनलाई ऋण चुकाउन डेढ वर्ष लाग्यो। त्यसको तीन वर्षपछि कमाएको पैसा लिएर गाउँ फर्केका उनले १२ कट्ठा खेत जोडे। ६ महिना बिदा सकेर उनी फेरि कतारतिर लागे। तीन वर्षसम्म कमाएको पैसा ल्याएर गाउँमा पक्की घर बनाएपछि उनले कतार यात्रा छाडे। अहिले उनका दुई छोरा कतारमा छन्। छोराले कमाएर पठाएको पैसाले पनि उनी सम्पति जोड्दैछन्।

खाडी मुलुक गएर सम्पन्न भएका यी प्रतिनिधि पात्र हुन। यो गाउँका प्रत्येक घरबाट कमाउने उमेरका कम्तीमा एक जनाले कतार, साउदी अरेबियालगायत खाडी मुलुकमा काम गरिरहेको इस्लाम बताउँछन्। उनका अनुसार अहिले गाउँका करिब तीन सय युवा रोजगारीका लागि खाडी मुलुकमा छन्। जसमा मुस्लिम समुदायका युवाको संख्या बढी छ।

यहाँका मुस्लिम समुदायले आर्थिक हैसियत मात्र सुधारेका छैनन्, दान र पुन्य काम पनि उत्तिकै गरिरहेका छन्। मुस्लिम समुदायको सहयोगमा मदरसा सञ्चालनमा छ। जहाँ गाउँ बाहिरका बच्चालाई पनि निःशुल्क शिक्षा र आवास व्यवस्था छ।

यहाँका महिला छाकैपिच्छे एक मुट्ठी अन्न मदरसालाई दान गर्छन्, जसलाई ‘मुठिया’ दान भनिन्छ। यो मदरसामा पाँच मौलाना छन। उनीहरूको मासिक तलबका लागि ७० हजार रुपैयाँ चाहिन्छ। यो खर्च पनि मुस्लिम समुदायको दानबाट चल्छ। मौलाना मोहम्मद इसा राइन भन्छन्, ‘यहाँको मुस्लिम समाजले ७५ जना आवासीय विद्यार्थीको पढाइ र आवास खर्च जुटाउँछन्।’

यहाँका मुस्लिम समुदायले विवाहमा दिउँसो र राती दिइँदै आएको भोजमा कटौती गरेर मदरसाका लागि सहयोग गर्छन्। उनीहरूले दिउँसोको भोज मात्र गर्छन। रातीको भोजखर्च बचत गरी मस्जिद र मदरसामा दान गर्छन्।

मोलाना राइनका अनुसार आर्थिक रूपमा सम्पन्न मुस्लिम समुदायले आफ्नै समुदायका विपन्नको जीवनस्तर उठाउन पनि सहयोग गर्दै आएका छन्।

नागरिक दैनिक, २ बैशाख २०७३, ११.००

२०७३ वैशाख २ गते १३:०० मा प्रकाशित

You can share this post!

त्यो बेला : ट्रेकिङ भनेपछि जन्ती गएजस्तो ...

युवतीलाई जिस्काएपछि तनाव उग्र, इन्टनेट सेवा बन्द

Related posts