काठमाण्डौं । चार वर्ष अघि गोली हानी व्यवसायी लुट्ने घटनाका मुख्य योजनाकार रुद्रप्रसाद पराजुलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बाँकी सजाय माफीका लागि निर्णय गरेकी छिन् ।
राष्ट्रपति कार्यालय हिजो सोमबार एक विज्ञप्ति निकाल्दै सो बारेमा जानकारी दिएको हो । विज्ञप्तिमा ‘हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भई ३ वर्ष ३ महिना ७ दिन सजाय भुक्तान गरी हाल कारागार कार्यालय, अर्घाखाँचीमा कैद सजायमा रहेको बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैदको सजाय मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ,’ भनिएकोछ ।
प्रहरी रेर्कड अनुसार अर्घाखाचीको सन्धीखर्कका सुन व्यापारी ताराबहादुर सुनारलाई पराजुली सहितको समूहले लुटपाटकालागि हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेको थियो। प्रहरीका अनुसार २०६९ फागुन ९ गते सुनारलाई आफ्नै मोटरसाइकलमा राखेर बुटवलतर्फ गइरहेका पराजुलीले पूर्व योजना अनुसार नरपानी जंगलमा उनका सहयोगीमार्फत गोली प्रहार गर्न लगाएका थिए।
२१ असार २०७३, १०।००,
वि.सं.२०७३ असार २१ मंगलवार १३:१२ मा प्रकाशित