सानो लगानीबाट मिलेको ठूलो आत्मविश्वास

काठमाण्डौंको लाजिम्पाटस्थित खुर्सानीटारतिर यदि तपाई खाजा खान आउनुभएकोछ छ भने यो ठाउँ तपाईको लागि नौलो हुँदैन । हेर्दा सानो यो सानो पसल अघि पछि सुनसान देखिए पनि खाजा खाने समयमा विशेष चलहपहल देखिन्छ । विशेषतः चाउमिन, समोसा, दुनोट र चिया पाइने यो ठाउँ यही खानेकुराका लागि प्रसिद्ध पनि छ ।

‘मेरोमा त पाइने कुरा यही हो’ पसलमा चाउमिन पकाउँदै गरेकी दिदीले हाँस्दै भनिन् । २/४ दिन लगातार उनकोमा खाजा खान गएपछि उनका बारेमा जान्न इच्छा लाग्यो । बाँके जिल्लाको कोहलपुर घर भएकी उनी कसरी काठमाण्डौं आइपुगिन् त ?

‘म त केही गर्नुपर्छ, कमाउनु पर्छ, सानो टीका चुराको रहर पूरा गर्न पनि अर्काको कति भर पर्नु आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने सोचले यतातिर लागेकी हुँ !’ उनको कुरा सुनेपछि उनका बारेमा झन् जान्न मन लाग्यो । उनको नाम देबी केसी रहेछ । सुर्खेत जिल्लाको मालारानी गाविसमा कृषक परिवारमा जन्मिएकी उनले ७ कक्षासम्म अध्ययन गर्ने मौका पाएकी रहिछन् ।

त्यो समय छोरीलाई छिटै विवाह गरिदिनुपर्छ भन्ने सयम १७ वर्षको उमेरमा नै उनको विवाह भएपछि उनको घर संसार फेरियो, उनी बाँकेको कोहलपुर आइपुगिन् । बुवा आमा र दुई छोरा मात्र भएको सानो परिवारमा उनको विवाह भएको थियो । तराईको त्यो ठाउँ जग्गा जमिन प्रशस्त भएको परिवारमा उनलाई दुःख हुने कुरै भएन । जेठी बुहारी भएर उनी घर धान्न थालिन् ।

जीवन सहज थियो । एउटै रफ्तारमा चलिरहेको थियो । उनको जीवनको भूमिका र परिचयहरु केही बदलिए, केही जस्ताको तस्तै रहे । दिन र वर्षहरु बित्दै गए पनि एउटा कुरा उस्तै थियो । उनलाई सानो सानो रहर पूरा गर्न पनि अरुसँग हात फैलाउनुपथ्र्यो, त्यो कुराले उनलाई कता कता नराम्रो लागिरहन्थ्यो । म आफैले केही गर्न पाए त कसैसँग माग्नु पर्दैनथ्यो उनी आफैसँग भन्ने गर्थिन् ।

devi kc

एवं रितले दिनहरु बित्दै गए । उनी घरबाट बाहिर निस्कन थालिन् । आमा समूहहरुमा उनी आबद्ध भइन् । त्यहाँ समूहमा वचत कार्यक्रम चलाईएको थियो । ‘तपाई पत्याउन हुन्न होला बैनी, मसँग पैसा हुन्नथ्यो, आफ्नो कमाई थिएन, त्यसैले मैले मैले महिनामा जम्मा १० रुपैयाँ वचत गर्थें’ उनले आफ्नो विगत सुनाइन् । ‘मलाई घरमा माग्न अप्ठ्यारो लाग्थ्यो त्यसैले मैले समूहबाट ३ सय रुपैयाँ पनि ऋण लिएको छु’ उनले थपिन् ।

त्यही अप्ठ्यारोपनले नै उनलाई गृहिणी र बुहारीको भूमिकादेखि अगाडि बढ्न सघायो । उनले घर खर्चबाट बचाएको, आफूलाई खर्च गर्न दिएको पैसाबाट जम्मा गरेको र चाडवाडमा टीकाटालोबाट बचाएको पैसा जम्मा गरिन्, गनेर हेर्दा ७० हजार भएको रहेछ । त्यो रकमले केही गर्ने विचार गरिन् । सानोतिनो व्यापार व्यवसाय गर्न पाए आफ्नो खर्चका लागि अरुको भर पर्नुपर्थेन उनले सोचिन् । त्यसपछि देबीले आफ्नो सोच घरमा सुनाइन् । तर, घरबाट निस्कन त्यति सजिलो थिएन । ‘सुरुमा त सानोतिनो बिद्रोह नै गर्नुप¥यो नि’ उनले हाँस्दै सुनाइन् ।

जेहोस्, उनको सोच र संकल्पको जित भयो । आफूले जम्मा गरेको त्यही पैसा लिएर उनी श्रीमान् सहित व्यापार गर्न रुकुम पुगिन् र कपडा पसल थापिन् ।

१५ महिना व्यापार गर्दा ४/५ लाख कमाएको सुखद अनुभव छ उनीसँग । त्यसपछि घरतिरै व्यापार गर्ने हिसाबले उनी बाँके नै फर्किइन् । तर फर्किएको केही समयपछि उनलाई फेरि केही गरौं, आर्थिक रुपमा म अरुको बोझ बन्न हुन्न भन्ने भावनाले थिच्न थाल्यो । त्यसपछि २०६९ सालमा करिब १ लाख रुपैयाँ लिएर उनी श्रीमान्सँग काठमाण्डौं आइन् ।

‘त्यसपछि सुरुमा नक्सालमा पसल राखें मैले खाजा पसल, पछि कलंकी पनि पुगे र अहिले यहाँ आएर पसल गरिरहेको छु ।’ जम्मा ५० हजार लगानीमा खुलेको उनको पसलबाट उनले दैनिक ३/४ हजार आम्दानी गर्ने गर्छिन् । त्यसो त उनले यी खाजाका आइटमहरु बनाउन कतै तालिम लिएकी छैनन् । आफूले देखेर हेरेर सिकेको बताउने उनले पसल चलाएपछि आफ्नो श्रीमान्लाई पनि ड्राइभिङ सिक्न प्रोत्साहन गरिन् । अहिले श्रीमान्को पनि आफ्नै काम छ उनले सुनाइन् ।

केही गरी पसल बन्द गर्ने सोच आयो भने म कतै अफिसमा या त होस्टलमा खाना बनाउने काम गरेर पनि आफ्नो खुट्टामा उभिन्छु आत्मविश्वासले भरिपूर्ण शब्दमा उनले सुनाइन् । कुनै बेला महिनामा रु १० जम्मा गर्ने उनी अहिले दिनमा ५ सय रुपैयाँ वचत गर्ने गर्छिन् । घर खर्च मात्र हैन आफ्नो व्यवहार चलाउन पनि उनलाई अहिले कसैसँग माग्नु पर्दैन । आफ्नै खुट्टामा उभिने एउटा सोचले उनलाई अहिले खुशी र आत्मबल दिएकोछ । ‘आफ्नो कमाई भयो भने आफूलाई निरिह महसुस गर्नुपर्दैन नि !’ उनले हाँस्दै भनिन् ।

– इरादा पहाडी, ३१ साउन २०७३, ६ : ००

२०७३ साउन ३१ गते १८:०८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीद्वारा म्याद नाघेको वस्तु जफत गरी रत्नपार्कमा जलाउन निर्देशन

निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्यो: मन्त्री विक्रम पाण्डे

Related posts