पर्वत। उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
पर्वतकै शालिजा गाविसको ठोट्नेरी बाट धाइरिङ गाविस मिलनचोकतर्फ आउँदै गरेको ग. १ ज. ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको छ भने कास्की जिल्ला रिभान– ९ बस्ने ३० वर्षीया डिलकुमारी बुढाथोकी र सोही ठाउँ बस्ने ६० वर्षीया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी कास्की रिभान– ९ की १४ वर्षीया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य ७ जना घाइतेको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिए ।
कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रकाशित मितिः २०७३ भदौ २५
वि.सं.२०७३ भदौ २५ शनिवार १६:१४ मा प्रकाशित