काठमाण्डौं । सरकारले काठमाडौं उपत्यकामा ‘मास ट्रान्जिट’ यातायात व्यवस्था लागू गर्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले पहिलो चरणमा सामखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गरेको छ । अब पहिलो चरणमा ३५ वटा टेम्पो र २६ वटा माइक्रो हटाउने भएकोछ ।
पहिलो चरणमा नयाँ बसपार्कदेखि गोगंबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस सञ्चालन हुनेछ । यही रुटमा चल्ने माइक्रो र टेम्पो हट्न लागेका हुन् । नयाँबसपार्क, गोंगबु, ठमेल, लैनचौर, केशरमहल, रत्नपार्क, प्रदर्शनी मार्ग, कालिकास्थान, मैतीदेवी, पुरानोबानेश्वर, केएमसी सिनामंगल, एयरपोर्टसम्म बस सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
अब यो रुटमा अपांगमैत्री बस सञ्चालन हुनेछ । नयाँ बसहरु ठूलो क्षमताका हुनेछन् भने उभिएर यात्रा गर्न ह्यांगर पनि जोडिएका हुनेछन् । दुईवटा ढोका हुने बसले एकैपटक ठूलो संख्यामा यात्रु बोक्नेछन् ।
यो रुटमा चल्ने बसका लागि एसियाली विकास बैंकले ऋण दिनेछ र यही ऋण सरकारको जमानीमा टेम्पो तथा माइक्रो व्यवसायी संघले लिनेछन् । यो परियोजनाका लागि एडीबीले २० लाख डलर छुट्याएको छ । ।
२६ भदौ २०७३, ४।००
वि.सं.२०७३ भदौ २६ आइतवार १६:१७ मा प्रकाशित