विदामा घुमफिर : पहिले देश बुझौँ अनि विदेश !

वर्षातलाई विदा गरेर शरद अघि सर्दछ । यो सँगसँगै गर्मीको समाप्ति र चिसोको सुरुवात हुन्छ । समशितोष्ण मौसम भएकोले यसले वसन्त ऋतुकै झल्को दिन्छ । शरद ऋतुको प्रारम्भसंगै पहाडहरू र नदीनालाहरूले पनि विरहका गीत गाउन छाड्छन् । धर्ति जगमगाउँछ । प्रत्येक प्रभातले सुन्दर हाँसो हाँस्छ । विशेषगरी घुमफिर गर्नका लागि यो उत्तम समय हो ।
शरद ऋतुको अवधिभरी ठूलाठूला साँस्कृतिक पर्वहरू पर्छन् । हामी नेपालीहरू ति सबै पर्वहरू श्रद्घा, भक्ति, चोखोनीति र खुशीयालीका साथ मनाउछौँ । आँसुलाई रोकेर र पीडालाई दवाएर पनि ओँठको हाँसोलाई जीवन्त राखेका हुन्छौँ । यो हामीहरूको विशेषता नै हो ।
शारदीय उत्सवहरू मध्ये वडादशैँ हिन्दुहरूको मात्र महान साँस्कृतिक पर्व हो । परापूर्व कालदेखि मनाउदै आएको यो पर्व हिन्दु धर्मावलम्बीहरूले घटस्थापना गरी दुर्गामार्ताको आराधाना गरेर र मान्यजनहरूबाट टीका एवम् आशिर्वाद ग्रहणगरी हर्षोल्लासका साथ यो पर्व मनाउँछन् । राजनीतिले विचारको प्रतिनिधित्व गरेजस्तै साँसकृतिक पर्वहरूले भावनाको प्रतिनिधित्व गरिरहेको हुन्छ । यसले सबै नेपालीहरूलाई नजिक बनाउँछ । विशिष्ठ नेपाली परम्पराहरू नेपालको सहिष्णुताका आधार भएकाले सबै समुदायहरूका बिचमा सँस्कृतिको आदान प्रदान गराउँदछ । शुभकामनाको पनि आदान प्रदान हुन्छ ।
विदेशीएकाहरू पनि घर फर्केर आफ्ना परिवारसंँगै बसेर रमाइलो गरेर मनाईने पर्व भएकोले पनि नेपालीहरुका लागि वडादशैँ आफैमा विशेषखालको पर्व हो । हिजोआज शहरमा बसोबास गर्ने मानिसहरूमा दशैँको अवसरमा स्वदेश/विदेश घुमघाम गर्ने चलन चलेको छ । हुन त हिजोआज बिस्तारै नेपालीहरु विभिन्न देशहरू खासगरी थाइल्याण्ड, मलेशिया, सिंगापुर, भियतनाम, भारत र चीन जस्ता मुलुकको भ्रमणमा उलेख्य संख्यामा जान थालेका छन् । सन् २०१५ मा मात्र लगभग ७० हजार नेपालीले मलेशिया, थाइल्याण्ड भ्रमण गरेका थिए । त्यती नै संख्यामा भारत चीन जानेहरू पनि छन् । विभिन्न सरकारी, अर्ध सरकारी, कर्पोरेट हाउसहरू, निजि क्षेत्र, विभिन्न कम्पनिमा कार्यरत मनिसहरू दशैँ र तिहारको विदालाई घुम्ने अवसरको रूपमा प्रयोग गर्ने गर्दछन । घुम्न जानेहरू विदेश भ्रमणलाई नै बिशेष महत्व दिएर आफ्नो यात्रा तय गर्दछन् ।
नेपाल सरकारले २०७३ लाई घुमफिर वर्षका रूपमा मनाइ रहेको छ । निजि क्षेत्र र सन्चार माध्यमहरूले घुमफिर वर्ष २०७३ को सरकारी घोषणा हचुवाको भरमा भएको र यसले खासै सार्थकता पाउन सकेन भन्ने बिषय जोडतोडका साथ उराली रहेका छन् । घुमफिर वर्ष घोषणा हुनु अघि सम्बन्धित सरोकारवाला निकायहरूसंग प्रयाप्त छलफल हुन नसकेको कुरा नेपाल पर्यटन बोर्ड र स्वयम् पर्यटन मन्त्रालयले पनि स्वीकारी सकेको छ ।
पर्यटन ब्यवसाय मुलुकको आर्थिक सम्वृद्घिको मेरूदण्ड हो । विश्वका विभिन्न देशहरु जहाँका गन्तब्यहरूमा जति पर्यटक जान्छन्, त्यहाँ आन्तरिक पर्यटककै हिस्सा बढी हुन्छ । छिमेकी देश चीनको ल्हासामा हरेक वर्ष पुग्ने करोड भन्दा बढी पर्यटकहरू मध्य आधा संख्या आन्तरिक पर्यटकहरूकै हुन्छ । भारतको विभिन्न स्थानहरु जस्तै दार्जिलिङ, सिक्किम, ताजमहल, लद्दाक, मुम्बई जस्ता गन्तब्यहरूमा पुग्ने पर्यटकहरु मध्य भारतीय नै बढी हुन्छन् । चीनको द ग्रेट वालमा ठुलो संख्यामा प्रायः चिनियाहरू नै पुग्छन् । विदेशीहरु आफ्नै देश घुम्दा आफुलाई गर्वानुभूति महशुस गर्दछन् ।
भ्रमणका सन्दर्भमा हामी नेपालीहरु स्वदेशलाई भन्दा विदेशलाई नै प्राथमिकतामा राख्ने गर्छौँ । पहिला स्वदेश घुमाँै अनि विदेश, पहिले आफ्नो देशलाई बुझाँै अनि मात्र विदेशको बारेमा जानकारी राखौँ भन्ने सोचको विकास भैसकेको छैन । हाम्रो देश संसारकै एक उत्कृष्ट प्राकृतिक, धार्मिक, साँस्कृतिक, गन्तब्य हो । संसारका कुनाकुनाबाट नेपाल हेर्न पर्यटकहरू दुइदिन लगाएर नेपाल आईपुग्छन् । विदेशीहरू सगरमाथा, अन्नपुर्ण, पोखरा, चितवन काठमान्डौ, मुस्ताङ, डोल्पा, मनास्लु लगायतका क्षेत्रहरूमा गइ त्यहाँका प्राकृतिक छटाहरूमा रमनउनुसम्म रमाइरहेका हुन्छन्, तर हामी संसारकै आग्लो चुचुरो सगरमाथा हेर्न आधार शिविरसम्म पनि जाने सहास गर्न सक्दैनौँ । यो भन्दा लज्जा के हुन सक्छ र ! नजिकको तिर्थ हेलाँ भनेझैँ स्वदेशमै अनगिन्ति धार्मिक स्थलहरू जस्तै हलेशी महादेव, ताप्लेजुङको पाथीभरा, रसुवाको गोशाँइकुण्ड, मुस्ताङको मुक्तिनाथ, जनकपुरधाम, दोलखाको दोलाखाभिमशेन जस्ता धार्मिक स्थलहरूलाई महत्व नै नदिई हामी भगवानको दर्शनका लागि भारतका विभिन्न मठमन्दिर तिर पुगिरहेका हुन्छौँ । यस्तै कारणहरूले नै नेपालले आन्तरिक पर्यटनले गती लिन सकिरहेको छैन ।

प्रकृतिले दिएको वरदान खप्तड, रारा, बर्दिया, शुक्लाफाँटा, ईलाम, घलेगाऊ, जस्ता ठाँउमा पुग्दा त्यहाँको प्राकृतिक मनोरम दृश्यहरूमा रम्न सक्छन् । नेपाल पर्यटन बोर्डले घुमफिर वर्षको घोषणा गर्नुको मुख्य अभिप्राय नेपालीहरूको घुम्ने बानी बसाल्न, ओझेलमा परेका सुन्दर गन्तब्यहरुमा पर्यटक पुर्याउन, र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नका लागि हो ।
घुमफिर वर्षको अभियान जुन ढङ्गले चलाइनु पर्ने थियो त्यो ढङ्गले हुन सकेन । तथापी आजसम्म एकलाख भन्दा बढीले घुमफिरको ह्यस्ट्याका शेयर गरेका छन् । रारा, खप्तड जस्ता गन्तब्यहरूमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । मानिसहरुमा घुम्नु पर्छ भन्ने चेतना बढेको छ । तसर्थ आज नै यसबाट के उपलब्धि भयो भन्नु भन्दा पनि विस्तारै स्वदेश घुम्ने परिपाटीको थालानी हुनु निश्चया नै घुमफिर वर्षको सकारात्मक प्रभाव हो । अस्थिर राजनीति पर्यटन क्षेत्रको लागि मुख्य समस्या रहेको छ । पूर्वाधार निर्माण र हवाई सेवाको विस्तार विना हामीले जति नै ठुला कुरा गरे पनि विदेशी पर्यटकको संख्या बढाउन मुस्किल छ, तर आन्तरिक पर्यटकहरु कष्ट सहेर धार्मिक रूपमा घुम्न वा विभिन्न मठ मन्दिरको दर्शन गर्न पुग्छन् । जुनकुरा आन्तरिक पर्यटनको एक हिस्सा नै हो ।
विनासकारी भूकम्पले थिल्थिलो बनाएको पर्यटन क्षेत्रले नसोचेको नाकाबन्दीसंग जुध्नु पर्यो । अत्यन्त कठिन घडीमा पनि पोखारा, चितवन, लुम्बिनी जस्ता पर्यटकीय स्थालहरूमा आन्तरिक पर्यटक कै कारण ब्यवसायबाट विस्थापित हुन नपरेको ब्यवसायीहरू नै बताउछन । नेपालीहरू सहज एवम् सुरक्षित यात्रा, न्यानो आतिथ्यता चाहन्छन् तर खर्च गर्ने क्षमता नेपालीको पनि विदेशी पर्यटकको भन्दा कम छैन । तैपनि नेपाली ब्यवसायीहरू बिदेशीलाई गरे जस्तै राम्रो ब्यवहार नेपालीलाई पनि गर्नु आवस्यक छ भन्ने सोचको विकास हुन सकेको देखिदैन । नेपालीहरूकै यो सोच आफैमा विडम्वनापूर्ण छ ।
आउनुहोस ! आफ्नै देश घुमेर बिदा मनाउ, पहिले देश बुझौँ अनि विदेश ! यो देशको आर्थिक द्रुत विकास पर्यटनबाट मात्र सम्भव छ । तपाई हामी मिलेर देश भर्मण गरौ, नयाँ गन्तब्य खोजी गरौँ र प्रवद्र्घन पनि गरौं, आर्थिक सम्वृदीतर्फत देशलाई आगाडि बढाई नेपालको मुहार फेर्ने कार्यको अगुवाई भोलि होईन, आजै गरौँ । हामी आफ्नै देशको भ्रमण गरौँ । नेपालकै पर्यटकीय उपजहरूको प्रयोग गरेर आर्थिक विकासमा टेवा पुर्याऔँ । पर्यटनका माध्यमबाट मिलेर देशको विकास गरौँ । प्रर्यटनका लागि सँगसँगै भनेझैँ हामी सबैसंगै हातमा हात मिलाएर आन्तरिक पर्यटन प्रबद्र्घन गरौँ । आन्तरिक पर्यटन मजबुद पार्न विदाको समय घुमेर सदुपयोग गरौँ । घुमफिर बर्ष २०७३ सफल पारौ !
(लेखक नेपाल प्रर्यटन बोर्डका सदस्य हुन् )

२४ असोज २०७३

२०७३ असोज २४ गते १७:१२ मा प्रकाशित

You can share this post!

बडा दशैं बाहुनको चाड हैन !

नेपालमा ठूलो आर्थिक संकटको खतरा : खनाल

Related posts