back
NMB ad

पैसा अभावमा हजारौं चेलीहरु मर्नुपर्ने, अर्बपति सुजातालाई ५० लाख !

Kumari bank ad

कमला लुइटेल कुँइकेल 

बिहान उठेर समाचारहरु हेर्दै जाँदा एकाएक केही समाचारहरुमा नजर अडिए । पूर्व उपप्रधान एवं पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई सरकारले बिदेशमा गएर उपचार गर्नलाई ५० लाख दिने निर्णय पारित गरेछ । अनि फेरि केही समय अगाडि पढेको समाचार सम्झें । सुजाताले ११ जिल्लामा ११ गाउँमा घर बनाइदिने त्यो समाचार थियो । अनि फेरि त्यो टिचिङ अस्पतालमा उपचार खर्चको अभावमा आत्महत्या गर्ने एउटा गरिबको छोरोलाई सम्झें ।

घरी सरकारले केही समय अगाडि उपचार खर्च दिन अस्विकार गरेको कृतिनिधी बिष्ट सम्झें, त घरी गायीका तारा दिदी हुन् या भर्खरै स्तन क्यान्सरको उपचार गराएकी तारा दिदी हुन् । यी सबै मानसपटलमा घुमिरहे । अनि केहि नलेखी बसिरहन सकिन ।

धन्य रहेछु म, यस्तो राष्ट्रमा जन्मिएछु । जहाँ जनता मर्न लाग्दा २० किलो चामलले मुखमा जनताको मुखमा बुजो लगाइन्छ । अनि एउटा अर्बपति नेतालाई उपचार खर्छ भनेर ५० लाख दिईन्छ । त्यो पनि स्वदेशमा सम्भब उपचारलाई  बिदेशमा गएर उपचार गर्नको लागि भनेर रकम निकासा गरिन्छ ।

सरकार जनताको स्वास्थ्यको बारेमा ठूला कुरा गर्छ । जनताको उपचारको लागि सरकारी अस्पतालमा सुबिधा बढाउने कुरा गर्छ । अनि जब नेताको कुरा आउँछ तब जनताको करबाट उपचार खर्च दिएर बिदेश पठाउँछ । यदि कोहि आफ्नो खर्चमा बिदेश गएर उपचार गराउँछ भने ठिकै छ । डाक्टर अनि अस्पताल रोज्ने बिरामीको अधिकारको कुरा हो । तर सरकारले खर्च दिएर नै ठूला नेता बिदेशमा पठाउँछौ ? यदि नेपालका स्वास्थ्य संस्था र नेपालका स्वास्थ्यकर्मी माथी विस्वसनियता छैन भने किन दिन्छौ बिरामी हेर्ने लाइसेन्स ? सरकार सक्छौ भने खारेज गर सबै स्वास्थ्य संस्थाका इजाजतपत्र अनि स्वस्थकर्मीका लाइसेन्स र मिलाउ सबै जनतालाई राज्यकै खर्चमा उपचार गर्न बिदेश पठाउने व्यवस्था ।

हैन भने किन आम जनतालाई निको पार्ने अस्पताल र स्वास्थकर्मीले नेतालाई पनि निको पार्छन् भनेर किन विश्वस्त हुंदैनौ ? सुजाता कोइराला हुन या अरु नेता, उनीहरुको उपचार खर्च पास गरिरहदा तिमिहरुले एक पटक पनि त्यो उपचार खर्चको अभावमा आत्महत्या गर्ने जनताको छोरो सम्झिएनौ ? अनि ती रोगीका आफन्त जो आफ्नो मान्छेको उपचारको लागि सडकमा भिख मागिरहेछ ? फेरि केही समय अगि स्तन क्यान्सरको सफल उपचार गराएकी तारा दिदीको खुल्लापत्र पनि त पढेउ होला नि ! अनि थाहा पायौं होला नि कति लाग्छ उपचार खर्च ? अनि नेपाल मै सम्भब छ उपचार भन्ने कुरा ?

११ जिल्लामा घर बनाइदिन्छु भन्दै हिड्ने सुजाता कोइरालाले आज उपचारको लागि सरकारसँग पैसा माग्नु कति सम्म हास्यास्पद हो ? फेरि उपचारको लागि लाग्ने पैसा पनि बजारमा सामानको मोल गरे जसरी कहिले १ करोड त कहिले ५० लाख, कस्तो देश हो यो ? काठमाडौमा करोडौंको महलमा बस्नेले उपचार खर्च भन्दै सरकार सँग हात थाप्न लाज पनि नलाग्ने कस्ता नेता हुन् ?

केही अगडि सरकारले कृतिनिधी बिष्टको उपचार खर्च रोक्दै गर्दा स्वास्थमन्त्री गगन थापाले भनेका कुराहरु मनसपटलमा ताजा नै छन् । अब राज्यको ढुकुटीबाट यस्ता कुरामा खर्च नगरी सरकारी अस्पताललाई नै सुविधाजनक बनाउने भनिरहँदा होस् या देशका हरेक प्राथमिक स्वास्थ चौकीहरुमा डाक्टरको व्यबस्था गर्ने भनिरँहदा धेरै जनताले महाशय स्वास्थ्यमन्त्री थापाज्यू बाट धेरै आशा गरेका थिए । तर बिदेशी राष्ट्र प्रमुख आउँदा सुरक्षाको कारण देखाइ गम्भीर बिरामीको लागी रगत लिएर जाँदै गरेको व्यक्तिलाई रोक्ने ? एम्बुलेन्स रोक्ने जस्ता निन्दनीय कार्य हुँदा समेत त्यसको बिरोधमा एक शब्द उनीबाट ननिस्कनुले पनि स्वास्थ्यमन्त्री थापाज्यूको बारेमा जनताहरु सोच्न बाध्य भएका छन् ।

झन् अब सरकारको यो कदमलाई उनले नसच्याउने हो या नउल्टाउने हो भने जनता अवश्य सोच्न बाध्य हुन्छन् । उनी देशका नेता हुन या कुनै पार्टी विशेषका भनेर ? सरकार सक्छौ भने देशका करोडपती नेताहरुलाइ पैसा बाँड्नुको साटो भुकम्पले घर भत्काएर टहरामा यो जाडोमा निमोनिया र दमले च्यापेका रोगीलाई अस्पतालसम्म ल्याएर उपचारको व्यवस्था गर । तराईमा सितलहरबाट ग्रसित जनतालाई बचाएर देखाउ । होइन भने सरकारले जनताको चिन्ता छ भनेर भन्नु बेकार छ । हजारौं चेलीहरु पैसाको अभावमा स्तन र पाठेघर क्यान्सरबाट ग्रस्त भैरहदा एउटा चेलीको मात्र चिन्ता गर्ने अधिकार छैन सरकार तिमिलाइ ? नेतालाइ मात्र मान्छे देख्ने तर जनतालाइ भुसुना नि नगन्ने अधिकार कस्ले दियो सरकार  ?

यदि देशलाई राम्रो योगदान गरेका कुनै नेता स्वास्थ उपचार गर्न नसक्ने अबस्थामा आउछन् भने यो देशका हरेक जनता आफ्नो गाँस काटेर भएपनि तिनका उपचार गराउन तयार छन । तर जनता सिटामोल नपाएर मर्ने अनि अरबपती नेताहरु राज्यको ढुकुटी रित्याएर बिदेशमा उपचार गराउन जाने परिपाटी बन्द नहुने हो भने जनताबाट तिमीहरू प्रतिको बिश्वास छिट्टै हराउने छ सरकार !

लेखाइलाई बिट मार्दा मार्दै एउटा कुरा गर्वका साथ भन्छु सरकार म पनि ढाडको नसा च्यापिएको एक बिरामी हँु । थाहा छैन उपचारको लागि कति लामो समय लाग्छ । तर पनि म एउटा निरोगी जस्तै दैनिक अस्पतालमै पुगेर सेवा दिईरहेको छु । अनि आत्मबिस्वासका साथ म मेरै देशको अस्पतालमा मेरै देशको डाक्टरहरुसँग उपचाररत छु ।

(लेखिका मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेलमा कार्यरत हुनुहुन्छ)
प्रकाशित मितिः २०७३ कार्तिक ३०

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १५:०५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...