काठमाडौ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताएका छन् । संविधान संशोधन प्रस्तावको विरोधमा भोलि पुस २२ गते एमालेसहित ९ दलले काठमाडौमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले सो प्रस्ताव ल्याएको आरोप लगाए ।
“संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन । अन्यत्रका केही प्रायोेजित माग यसमा छन् । त्यो माग समस्या समाधानमा भन्दा पनि समस्या बल्झाउने प्रकारको छ ।” ओलीले भने । “संविधानको कार्यान्वयनका लागि विभिन्न तहको निर्वाचन गराउनु यतिबेलाको आवश्यकता हो ।”
अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक न्याय, समानता, सद्भाव तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा सम्झौता हुन सक्दैन भन्दै साम्प्रदायिक विद्वेष, क्षेत्रीय तथा जातीय विद्वष आजको आधुनिक नेपालमा स्वीकार्य नहुने उल्लेख गरे ।
संविधान संशोधनबारे सर्वोच्च अदालतको फैसला पनि प्रदेशसभा नबनी सिमाना हेरफेर गर्न नसक्ने पक्षमा आएकाले आफूहरुले लिएको अडान र विश्लेषण सही स्थापित भएको तर्क गर्दै अध्यक्ष ओलीले संसद्मा संशोधनको प्रस्ताव पारित हुन नदिने बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले हटाएकामा आपत्ति जनाएका छन् । उनले सरकारले भूकम्पपीडितको पुनःनिर्माणका लागि खासै काम नगरेको, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर उल्टै प्रमुखलाई पदमुक्तको अनुचित निर्णय गरेको उनको आरोप छ ।
प्रकाशित मितिः २०७३ पुस २१
वि.सं.२०७३ पुस २१ बिहीवार १६:५२ मा प्रकाशित