वर्तमान आर्थिक अवस्थाबारे कुरा गर्दा केहि सकारात्मक पक्षहरु छन् । समग्रमा बलियो उत्पादनमा आधारित अर्थतन्त्र भन्दा पनि कृत्रिम अर्थतन्त्रतिर मुलुक गईराखेकोले मलाई चिन्ता छ ।
अघिल्लो वर्षलाई आधार वर्ष मान्नु ठिक होईन
यो भनिरहँदा अघिल्लो वर्ष र अहिले चार महिनाको अबधिको तुलना आफैंमा तुलनायोग्य छैन । किनभने अघिल्लो वर्ष नाकाबन्दी र भूकम्पको प्रभाव थियो । अहिले ती सबै सामान्य भईसके र यो सामान्य वर्ष हो । कतिपय सूचक उत्साहप्रद छ र राजश्व बढ्यो, ब्यापार बढ्यो भनिएपनि यी सब कुराहरु हाम्रो आधार अघिल्लो वर्ष तुलनायोग्य होईन भन्ने कुरा बिर्सनु हूँदैन । अघिल्लो भन्दा पहिलेको वर्षको तुलनामा हेर्ने हो भने अहिलेको परिसूचकहरु सामान्यरुपमा वृद्धि भएका छन् ।
नयाँ कम्पनीका सेयर जारी भएका छैनन्
पुँजीबजार चलायमान छ । बैकहरु चलायमान छ । यो राम्रो हो । तर मेरो चिन्ता यदि हाम्रो उत्पादनमा सहयोग पुर्याउने र आर्थिक÷लगानी वृद्धि हुने भए यो अत्यन्तै सकारात्मक हुन्थ्यो । नयाँ कम्पनीका सेयर जारी भएका छैनन् ।
सेयर बजार माथि जानु कृत्रिम अर्थतन्त्र
पुरानै कम्पनीको उत्पादकत्व पनि बढेको होईन । सेयर बजार अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत माथि जानु भनेको यो त कृत्रिम अर्थतन्त्र माथि जाने कुरा भयो । त्यसैले केहि सामान्य र केहि कृत्रिम कुराहरु छन् ।
मूल्यवृद्धि माथि नै गईरहेको छ
मूल्यवृद्धि अलि कम भनिएको छ । त्यो पनि अघिल्लो वर्ष बाह्इ कारण अलि बढि भएर अहिले अलि कम देखिएको हो । अघिल्लो वर्षसँग आधार वर्ष मानेर तुलना गरेर हुँदैन । यो पनि माथि नै गईरहेको छ । यसमा उत्साहित हुनुपर्ने कुराहरु देखिन्नन् ।
अर्थतन्त्रका सकारात्मक पाटा के हुन् त ?
सकारात्मक कुरा भनेको हामी असामान्य अवस्थाबाट सामान्य अवस्थामा आयौं । तुलना गर्दा अघिल्लो वर्ष असामान्य थियो । अहिले व्यापार बढ्ने, राजश्व उठ्ने कुरा सामान्य भएको छ । बैंकिङ प्रणालीमा बढि कर्जा प्रवाह भएको छ । मुद्रा स्फिति दर पनि केहि कम भएको छ । त्यो राम्रै कुरा हो ।
रोजगारी सिर्जना( निम्न क्षेत्रमा) पहिलो प्राथमिकतामा पार्नुपर्यो
हामीले बजेट नीति निर्माण गर्दा यो आर्थिक वर्षमा चार लाख कामका अवसर सिर्जना गर्छाै भनेका थियौं । त्यो कामको अवसर भनेको मूलतः पुननिर्माणमा अढाई लाख काम सिर्जना हुन्छन् भनेको हो । पर्यटनमा छिटो अगाडि बढ्न सक्ने र कृषिमै पनि ५० हजारभन्दा बढिलाई थप काम दिन सक्छौं भन्ने लागेको थियो ।
सेयर बजार सट्टेबाजीमा चलायमान भईरहने अवस्थाले कंहिपनि पुर्याउँदैन
अहिले कृषि र उर्जामा लगानी बढ्नु राम्रो कुरा हो । तर त्यसको बाबजुत बजेट पुनः निर्माणमा खर्च नहुने अवस्था, बैंकिङ प्रणालीको रकम फेरीपनि घरजग्गामा जाने अवस्था, फेरीपनि सेयर बजार सट्टेबाजीमा चलायमान भईरहने अवस्थाले हामीलाई कँहिपनि पुर्याउँदैन ।
अनुत्पादक जमिनमा मात्रै सट्टेबाजी गरेर के पाउनुहुन्छ ?
तपाईले अनुत्पादक जमिनमा मात्रै सट्टेबाजी गरेर के पाउनुहुन्छ ? यसले त राजश्व अलि बढि हुन्छ । केहि मानिसहरु धनी हुन्छन् । केहि रेष्टुराँहरु बढ्छन् । केहि उपभोग बढ्छ । सवारीसाधन र अन्य आयातमा वृद्धि हुन्छ । कंहि न कंहि बिदेशबाट कमाएको पैसा ल्याएर त्यो क्षतिपूर्ति तिर्नुपर्छ ।
वर्षमा ५ लाखलाई थप रोजगारी सिर्जना गर्ने कार्य पहिलो प्राथमिकतामा पर्नुपर्छ
हामीलाई वर्षमा ५ लाख थप श्रम सिर्जना गर्नुपर्छ । हामीले वर्षमा डेढलाख भन्दा बढिलाई रोजगारी सिर्जना गर्नै सक्दैनौं । तीन÷साँढे तीन लाख बाहिर जानैपर्छ । तिनलाई रोक्न कुरा पहिलो प्राथमिकतामा पर्नुपर्छ । व्यवसायिक÷आधुनिक कृषि प्रणाली, पर्यटन, पुननिर्माण र अरु निर्माण क्षेत्र जुन श्रम प्रधान क्षेत्र छ, त्यहाँ निजी र सरकारी साधनस्रोत लगाउनुपर्नैहुन्छ ।
निजी क्षेत्रलाई उर्जा प्रदान गर्न पनि पुँजीगत खर्च
अहिले जेठमै बजेट ल्याएको भनिएपनि सरकारी बजेट पास गर्न असार मसान्त नै कुर्नुपर्यो । अहिले पनि पहिलेजस्तै छ । साँढे १० खर्बको खर्चमध्ये साँढे ३ खर्ब त पुँजीगत लगानी छ । त्यसले पिकअप गर्यो भने निजी क्षेत्रलाई पनि उर्जा प्रदान गर्छ र निजी क्षेत्र अगाडि आउने हो ।
लगानी सट्टेबाजीमा मात्र होईन उत्पादनमूलक बन्नुपर्छ
राजनीतिक अस्थिरता, एक प्रकारको संबैधानिक अस्थिरता र लगानीको वातावरणलाई हामीले जहिले पनि खुम्च्याईराखेको छौं । त्यसले लगानीमा बाधा भईरहेको छ । लगानी बोर्डको बैठक बस्न सक्दैन । त्यहाँ एक दिन बसेर निर्णय गर्ने कार्य गर्दैनौं । निजी क्षेत्रको व्यवस्थापन पनि त्यति उत्साहप्रद छैन । जसले लगानी बढ्न नसक्दा रोजगारी र उत्पादन हुन सकेन । त्यसैले लगानी बढाउँदै रोजगारी बढाउनुपर्छ र त्यो लगानी सट्टेबाजीमा मात्र होईन उत्पादनमूलक बन्नुपर्छ ।
(राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका डा. खतिवडासँगको कुराकानीमा आधारित)
प्रकाशित मितिः २०७३ माघ १
वि.सं.२०७३ माघ १ शनिवार १५:०९ मा प्रकाशित