सेयर बजार अहिले ‘बाउन्स ब्याक’ भएको छ। विगत लामो समयदेखि घटेको बजार गत साताका अन्तिम दुई कारोबारदेखि बढ्न थालेको हो। भने यस साताको पहिलो दिन आइतबार पनि बजार सोही गतिमै रह्यो भने दोस्रो दिन सामान्य घट्यो।
विगत लामो समय बियरिस पारामा रहेको बजारले केही दिनयता आफ्नो नयाँ ‘इनिङ’को सुरुवात गरेको छ। तर बजारको वृद्धि अब कति समय टिक्छ यसको अनुमान गर्न भने गाह्रो नै छ। बजारमा हरियाली छाउन थालेपछि बजार निरन्तर घटेर प्यानिक अबस्थामा रहेका लगानिकर्ताहरुलाई केही राहत भएको अनुमान गर्न सकिन्छ।
लामो समयसम्म घट्दा मनोवल कमजोर बनाएका लगानीकर्ताहरुको अहिले बढेको छ। नेप्से अब बढेरै जान्छ भन्ने हल्ला बजारमा पाइएको छ।अहिले बजार बढ्नुमा केही आधारभुत तथा मनोवैज्ञानिक कुराले भूमिका खेलेको छ।
मनोविज्ञानले प्रत्येक्ष असर गर्ने पुँजी बजारमा अहिले बजार बढ्दै गर्दा हामीले केहीदिन अगाडिको बियरिस अबस्थाको मुल्याङ्कन गर्नै पर्छ। किनकी जब बजार बियरिस अबस्थामा आउनुका पछाडि रहेका तथ्य र अहिलेको अबस्थाको उचित तुलना गर्छौँ, त्यसपछि निर्णय लिन सक्छौँ। त्यसकारण यसको समीक्षा गर्नु आवश्यक छ।
गत साउन १२ मा ऐतिहासिक १८८१ विन्दुको कृतिमान कायम गरेको नेप्से परिसुचक त्यसयता निरन्तर ओरालो लागेर गत साता १३ सय अंकको सिमा रेखाभन्दा तल आइसकेको थियो। बजारको उच्चतम विन्दुलाई आधार मान्दा नेप्से परिसुचक ३० प्रतिशतभन्दा बढीले घट्न पुग्यो।
यो आर्थिक वर्षको सुरुमै २० खर्ब भन्दामाथि पुगेको बजार पुँजीकरण पनि अझै करिब ५ खर्बले घटेको अवस्था छ। लामो समय बजार घटिरहँदा लगानीकर्ताहरु ‘वियरिस ट्रयाप’मा रहे। विशेषगरी १८ सय विन्दु वरिपरिको बुलमा सेयर बजारमा प्रबेश गरेका नयाँ लगानीकर्ताहरु यो अबस्थामा अत्यन्तै पिडीत भए।
किनकी उनीहरुले नत पहिले सेयर किनबेच गरेर आम्दानी गर्न सके नत किनेपछि नाफा सुरक्षित गर्ने राम्रो अवसर पाउन सके। तर बजारमा अघिल्लो वर्षदेखि कारोबार गरिरहेका र पुराना लगानीकर्ताहरुको अबस्था नयाँ लगानीकर्ताहरुको भन्दा केही हदसम्म कम पिडादायी रह्यो।
किनकी उनीहरुले साउनभन्दा अगाडिको टर्नओभरमा नाफा सुरक्षित गर्ने मौका प्राप्त गरे। यसबाट पनि उनीहरुलाई अहिलेको नोक्सान सन्तुलनमा ल्याउन मद्दत भएको अनुमान गर्न सकिन्छ।
लगानीकर्ताहरुलाई सेयर बेचेर बाहिर निस्कँदा पनि ठूलो घाटा सहनु पर्ने बाध्यता र होल्ड गर्न पनि बैंकको चर्को ब्याज र मार्जिन कलको सामाना गर्नुपर्ने स्थिति आयो। यद्यपी बजार धेरै लामो समयदेखि घटिरहेकोले लगानीकर्ताहरुले आफ्नो लगानी तत्काल ‘राईट ब्याक’ गर्न सक्ने अबस्था त छैन तर पनि बजारमा हरियाली छाउन थालेपछि केही आशा पलाएको छ।
वित्तीय प्रणलीमा लगानीयोग्य रकमको अभाव, विविधीकरणको अभाव, सार्बजनिक निस्काशनको चाँप, पुँजी वृद्धिको असर, नीतिगत तथा राजनैतिक अन्यौलता, भारु नोटमा प्रतिबन्ध, विमा र लघुवित्त क्षेत्रमा पुँजी वृद्धिमा देखिएको अन्यौल, प्राविधिक विश्लेषकहरुले गरेको अनुमान, म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताको निस्कृयता, केही ठूला लगानीकर्ताको चलखेल र उनीहरुले छरेको भ्रम तथा लगानीकर्ताको कमजोर आत्मविश्वास, कालोधन छानविनको हल्ला, बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाईसन्स दिने कुरामा धितोपत्र बोर्ड नेप्से तथा सेयर दलालहरुमा रहेको असमझदारी, सिजनल प्रभाव आदी कारणले पनि बजारलाई तल झारी नै राख्यो।
त्यसैगरी गत वैशाखपछि साउनसम्मको अवधिमा बजार जुन गतिमा बढ्यो त्यो बजारको आधारभुत विश्लेषण र तथ्यभन्दा फरक गतिमा थियो। यसको मतलव त्यतिबेला बजार बढ्नलाई सकारात्मक वातावरण आए पनि त्यसलाई बजारको मनोविज्ञानले अनावश्यक प्रतिक्रिया दियो।
आधारभुत पक्षलाई हेर्दा बजारमा हरियाली छाउनु जायज थियो तर दिनहुँ सर्किट ब्रेक लाग्नेगरी बजार बढ्नु भने स्वभाविक थिएन। त्यसमा केही हदसम्म हल्ला भ्रम र चलखेलले पनि साथ दियो। धितोपत्र बोर्डले बारम्बार सचेत पनि गरायो।
आखिर बजार आफ्नो साईजमा आउनु नै थियो। बजेट र मौद्रिक नीतिसँगै बजार करेक्सनको दिशामा गयो। अपरिपक्क मनोविज्ञानले त्यतीबेला बजार बढी उचालिएकै हो भन्नु गलत हुँदैन।
अहिले बजारमा हरियाली छाएको छ। बजार जुन कारणले बियरिस ट्रेण्डमा थियो, ति सबैजसो समस्याको समाधान भएर बढेको भन्ने चाही अवश्य होइन। बजारमा अझै पनि धेरै समस्या छन्। यद्यपी अहिले बजार बढ्नुमा मुख्य तीन कारण रहेको अनुमान गर्न सकिन्छ।
पहिलो कारण वित्तीय प्रणालीमा रहेको क्रेडिट क्रन्चको अवस्थामा केही सुधार आएको राष्ट्र बैंकले जनाएको छ। दोस्रो कारण बजारमा घटेको मौका छोपेर बसेकाहरु बजार प्रवेश गरेका छन्। यसलाई कारोबार रकममा आएको सुधारले पनि पुष्टी गर्छ भने तेस्रो कारण देशमा चुनाव घोषणको कसरत तीब्र हुनु हो।
अहिले बजार आधारभुतभन्दा पनि मनोवैज्ञानिक पक्ष बलियो भएर बढेको देखिन्छ। राष्ट्र बैंकले तरलता अभाव समाधान हुँदै गईरहेको बताए पनि बैक तथा वित्तीय संस्थाहरु तत्काल नै सेयर कर्जा दिन नसक्ने अवस्थामा छन्।
चुनावको मिति घोषणा भए पनि मधेसी मोर्चा सहमतिमा आउनेमा शंका छ, भने यस्तो अबस्थामा बजारमा अल्पकालीन लगानीकर्ताहरुले ‘सर्ट सेल’ गरेर नाफा बुक गर्न सक्छन्। धेरै सार्वजनिक निस्काशनहरु पाइपलाइनमा रहेको अवस्था र आपुर्तिको चाप बढेकाले बजार विस्तारमा धेरै समय लाग्ने सम्भावना छ।
किनकी बढेको आपुर्तीअनुसारको माग सिर्जना नहुने देखिन्छ। साथसाथै लगानीको विविधता नहुँदा बैंक तथा वित्तीय संस्थाहरुले पुँजी बढाए पनि सोहीअनुसारको बिजनेस पाउने कुरामा शंका छ। त्यसकारण पनि अहिले हरियाली रहेको बजारले निरन्तर रुपमा सोही रुप लिन गाह्रो पर्छ।
बजार अल्पकालीन रुपमा बढे पनि दिर्घकालीन रुपमै सुधार आउने अझै आधारहरु बनिसकेका छैनन्।हुन त पुँजीबजार सधै एउटै गतिमा जाने कुरा होइन। यसमा उतावचढाव आउनु स्वभाविक र अनिवार्य पक्ष हो। तर सेयर साक्षरताको अभावमा हाम्रो बजारको मनोविज्ञान एउटै प्रबृतीको देखिन्छ।
‘लौ अब बजार बढ्यो’ भनेर आधारभुत ज्ञान विना नै बजारमा हाम फाल्दा ठूलो जोखिम हुने अवस्था आउँछ। त्यस्तै ‘घटेपछि घटी नै रहन्छ’ भन्ने अर्कोे मनोविज्ञान धेरै छ। त्यसकारण बजारमा जोखिम बढेको हो।
अतः लगानीकर्ताले अब बजार निरन्तर बढेर गईरहन्छ भन्ने खालको व्यवहार देखाएर प्रतिक्रिया दिनु उचित हुँदैन। त्यसकारण बजारका आधारभुत पक्ष, कम्पनीहरुको वित्तीय अबस्था, प्रति सेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, व्यवस्थापकीय पक्ष, लाभांश दर, कम्पनीको व्यावसायिक रणनीति, नियामक निकायको निर्देशन र योजना, आफ्नो जोखिम बहन क्षमता लगायत विभिन्न वित्तीय सूचकहरुको अध्यययन गरी विवेकपुर्ण निर्णय गर्नु राम्रो हुन्छ।
यस्तो अबस्थामा मात्र हामीले जोखिम कम गर्न सक्छौँ। बजार बढ्छ भन्ने मान्यताका आधारमा लगानी गर्दा बजारले अपेक्षित गति लिन सकेन भने चेपुवामा पर्ने सम्भावना रहन्छ।
त्यसकारण यति बेलाको बजारमा अल्पकालीनभन्दा दिर्घकालीन रणनीति अनुरुप लगानी गर्नु राम्रो मान्न सकिन्छ। किनकि बजारले विगतमा जस्तो लामो बुलिस ट्रेण्ड लिने कुरामा आधार खडा भइनसकेको अवस्था देखिन्छ।
नरेन्द्र चुदाली,
१० फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन १० मंगलवार ११:५९ मा प्रकाशित