कहोत्तरी । तरकारी तथा चटनीमा प्रयोग हुने नगदेबाली कन्दमूलरुपी ओलको ब्यबसायिक खेती शुरु भएको छ । यसै क्षेत्रबाट निर्यातित बीउबाट ५० जिल्लामा ओलखेती पुगिसकेको छ ।
मिथिलाञ्चलमा मनाइने बिभिन्न पर्व त्योहार एवं भोजभतेरमा ओलको तरकारी एवं चटनी प्रयोग हुन्छ । महोत्तरीको भंगहास्थित ५० बिगहा खेतमा ओलको ब्यबसायिक खेती शुरु भएको हो । अधिकांश मिथिलावासीको घर छेउछाउ तथा बारीमा ओलको दुईचार झार भेटिनु समान्य हो । एउटा किसानले एक कठ्ठामा ओलखेती गर्दा बार्षिक ५० हजार आम्दानी गर्न सक्ने गढीमाई कृषि सहकारी संस्थाका कोषाध्यक्ष सत्यनारायण यादवले बताए । बोट खनेर छ महिनामै ओल निकाल्न सकिन्छ । ओलखेती गरिएको जग्गामा दोस्रो बालीको रुपमा यहाँका किसानले काउली खेती गर्छन ।
कृषि बिकास कार्यालयका प्राविधिक सहायक लाल कुमार साहले ओलखेती गर्ने किसानलाई बीउमा पचास प्रतिशत अनुदान दिने गरिएको बताए । उनले ब्यबसायिक ओलमा टर्रोपना नगन्य रहेको जानकारी दिए । मिथिलावासीले घर छेउछाउ र बारीमा लगाउने परम्परागत ओलको तरकारीमा टर्रोपना हटाउन कागतीको प्रयोग गर्नुपर्दछ ।
प्रति कठ्ठा पाँचसय बोट उमार्न सक्ने र त्यसबाट ७० क्विन्टलसम्म तरकारीयोग्य ओल उत्पादन गर्न सकिने हरदेव साहले बताए । बीउँका लागि जेठमै बोट खनेर ओल निकालिने गरिन्छ । तीन महिनामै ओल निकाल्दा त्यसको उत्पादनमा आधा कटौती हुने गर्दछ । ओलको बीउ बजारमा प्रति क्विन्टल चारदेखि छ हजारसम्ममा बिक्री हुने गर्दछ भने तरकारीको मूल्य बीउभन्दा आधा हुने गर्दछ । भंगहाका किसानहरुले ओलको बीउ ५० जिल्लासम्म पठाइसकिएको दाबी गरेका छन् ।
कृषि बिकास कार्यालयमा कार्यरत सहजकर्ता झारीमाया गुरुङ्गले ओलको खेती बिस्तारै पहाडसम्म पुग्न थालेको जानकारी दिंदै यसमा माछामासुजत्तिकै पोषकतत्व हुने गरेको बताए । ओललाई अंग्रेजीमा एलिफ्यान्ट फुट याम भनिन्छ । यसमा कार्बोहाइडे«ट, विभिन्न खनिजपर्दाथ तथा भिटामिन ‘ए’ र ‘बी’ पाइन्छ ।
मिथिलाञ्चलमा मनाइने चौठीचाँद, जितियासहितका पर्वमा ओलको तरकारी र चटनी खानैपर्ने परम्परा छ भने अन्य पर्वहरुमा यसलाई फलको रुपमा अध्र्य दिने चलन छ । न्यूजएग्रोबाट
प्रकाशित मितिः २०७४ साउन ८
वि.सं.२०७४ साउन ८ आइतवार १६:२१ मा प्रकाशित