रबिना पौडेल,धादिङ । १ मुख ३ रुख, के भनेको होला भन्ने लाग्नसक्छ ? यो एक नारा हो । यो एक घरमुली अर्थात् एक मुखलाई आधार मानेर प्रतिघर ३ वटा रुख दिने अभियान हो । यो नारा मात्रै होईन धादिङ जिल्लाको थाँक्रे गाउँपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रम अन्तर्गत एक मुख ३ रुख भन्ने अभियान संचालनमा ल्याएको छ ।
आईतबार एक कार्यक्रम गरी थाँक्रे गाउँपालिकाले एक मुख तीन रुख अभियानलाई बस्ती–बस्तीसम्म पुर्याएको छ । गाउँपालिकाले अभियान अन्तर्गत सुनकागतीको बिरुवा वितरण गरेको हो । अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती लगायतको उपस्थितिमा गाउँपालिकाले उक्त कार्यक्रम अगाडि बढाएको हो ।
गाउँपालिकाले वडा नं.९ र १० का ५७ समूहका १३३९ घरधुरीलाई ४ हजार १५० वटा सुनकागतीको बिरुवा वितरण गरिएको हो ।
सुरुवातमा मानिसको स्वास्थ्यलाई मध्यनजर गरेर अगाडि बढाईने उक्त कार्यक्रम धादिङ जिल्लाकै नमूना कार्यक्रम अन्तर्गत पर्ने दाबी गरिएको छ ।
हरेक बार खाना चार, भन्ने नारासहित हरेक परिवारमा खाना खाँदा फलफूल अनिवार्य समावेश हुनुपर्छ भन्ने सन्देश सहित कार्यक्रम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताए ।
बिरुवा वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष अम्विका रुपाखेतीले गाउँपालिकालाई हरियाली, सफा,सुन्दर र स्वच्छ बनाउनुका साथै स्थानीयको आयआर्जन बढाउने उद्धेश्यले उक्त कार्यक्रम संचालनमा ल्याईएको जानकारी दिईन् ।
पोषण स्वास्थ्यको हिसाबले उक्त कार्यक्रम एकदम फलदायी रहेको कार्यक्रममा जानकारी दिईयो । आधारशिला सामाजिक उद्यमी महिला सहकारीको व्यवस्थापनमा गाउँपालिकाले उक्त कार्यक्रम अगाडि बढाएको हो ।
बिरुवा वितरण कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष प्रमिला पण्डितले कागती रोपेर १ रुख बराबर बार्षिक ५ हजार रुपैंया आम्दानी लिनसक्ने बताईन् । यस अनुसार एक घरधुरीले कागतीको बोटबाटै १५ हजार टिप्नसक्ने उनको दाबी छ ।
प्राबिधिकको सिफारिसअनुसार माटो परिक्षण गरी सुन कागती रोप्ने कार्यक्रम अगाडि बढाईएको गाउँपालिकाले जनाएको छ । कागती बहुवर्षे बिरुवा भएकाले दश वर्ष भन्दा बढि समय टिक्न सक्छ । त्यसैले गाउँपालिकाको अभियान अन्तर्गत स्थानीयले मनग्ये आम्दानी लिन सक्नेछन् ।
प्रकाशित मितिः२०७४ साउन २३
वि.सं.२०७४ साउन २३ सोमवार १३:१५ मा प्रकाशित