काठमाडौ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सर्वसाधारणका लागि छुट्ट्याइएको १५ प्रतिशत सेयर आगामी चैतमा निष्काशन हुने भएको छ । आयोजना निर्माण गर्न गठन भएको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले सेयर निष्काशनको तयारी थालेको हो । स्थानीयलाई छुट्ट्याइएको सेयर वितरणपछि सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीको योजना छ ।
स्थानीयलाई बाँडफाँड गरेको एक सातापछि सर्वसाधारणलाई निष्काशन गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार ढिलोमा चैतसम्म सर्वसाधारणले (आइपिओ) सेयर पाउनेछन् । कम्पनीले सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्दैछ ।
यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरिएको थियो । कम्पनीले २०७२ जेठ २९ गते उक्त सेयर बाँडफाँट गरेको थियो ।
जिल्लाबासीले ३ सय कित्ता पाउने
कम्पनी स्थानीयका लागि आगामी पुसमा सेयर निष्कासन गर्ने तयारीमा छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति लिनुपर्ने हुँदा प्रदेश र केन्द्रको निर्वाचनपछि निष्काशन गर्न लागिएको हो ।
आयोजना प्रभावितले न्यूनतम ३० देखि अधिकतम ३ सय कित्तासम्म लगानी गर्न पाउने गरी सीमा तोकिएको छ । जिल्लाबासीले सेयर लगानी गरुन् भन्ने उद्देश्यले ‘माथिल्लो तामाकोसी स्थानीय समन्वय समिति’ बैठकले उक्त निर्णय गरेको हो ।
धितोपत्र कानुनअनुसार न्यूनतम ५० कित्ताभन्दा कम जिल्लाबासीका लागि सेयर निष्काशन गर्न समितिले कम्पनीलाई अनुरोध गरेको छ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको २ करोड ६४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।
जिल्लाबासीका लागि छुट्ट्याइएको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँको १ करोड ५ लाख ९० हजार कित्ता सेयर पुससम्म निष्काशन हुने प्रवक्ता न्यौपानेले बताए । जिल्लामा यसअघि स्थानीयबीच सेयर लगानी गर्नेबारे विवाद भएपछि न्यौपानेकै संयोजकत्वमा सुझाव उपसमिति गठन गरिएको थियो।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनका आधारमा अध्ययन गरी उपसमितिले गत फागुनमा जिल्लास्तरीय समितिलाई प्रतिवदेन बुझाएको थियो । सोही सुझावका आधारमा सेयर निष्कासन हुन लागेको स्थानीय संयन्त्रका सदस्यसमेत रहेका नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताए ।
कसले पाउँछन् सेयर ?
लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता गराएका बालबालिका र विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् । अन्यको हकमा जिल्लाबाट प्रदान गरिएको नागरिकता अनिवार्य हुनुपर्नेछ ।
सेयर दिने प्रयोजनका लागि जिल्ला विकास समिति (जिविस) ले ३ वर्षअघि संकलन गरेको तथ्यांकमा जिल्लाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । २०६८ सालको जनगणनामा भने १ लाख ८६ हजार ५ सय ५७ मात्र थियो ।
जिविसले सेयर बाँडफाँट तथा निष्कासन निर्देशिका, २०७० मा ऋण लगानी सम्झौता (२०६४ माघ १५ गते भित्र बसाइँ आएकाले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था छ ।
स्थानीय लगानीमा पनि वर्गीकरण
स्थानीयले सेयर लगानी गर्नेबारे जिल्ला समन्वय समितिमा सहमति भएको छ । त्यहाँबाट औपचारिक पत्र आएपछि स्थानियलाई सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिने न्यौपानेले बताए ।
समितिले स्थानीयलाइ अतिप्रभावित, कम् प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरेको छ । यही आधारमा सेयर लगानी गर्न सकिने समितिका प्रमुख डबल पाण्डेले बताए ।
२०७१ सालमा जिविसले गरेको अध्ययनमा जिल्लाको जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमा अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र बाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ छ । दामासायीले वितरण गरे पनि अतिप्रभावितले प्रतिव्यक्ति ९५ कित्ता, प्रभावितले ४६ कित्ता र बाँकी क्षेत्रकाले ३३ कित्ता सेयर पाउने अनुमान छ ।
इआइएमा अतिप्रभावितको सूचीमा साविकको लामाबगर र गौरीशंकर गाविस पर्छन् । त्यस्तै, प्रभावितमा ओराङ, खारे, बुलुङ, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, हालको भीमेश्वर नगरपालिका वडा नं। १, २ र ३, नाम्दु, गैरीमुदी, भीरकोट, जफे, मालू र सहरे गाविस पर्छन् । ‘ख’ वर्गमा राखेका गाविसबाट प्रवेशमार्ग र प्रसारण लाइन निर्माण भएको छ । जिल्लाका बाँकी क्षेत्रलाई ‘ग’ वर्गमा राखिएको छ ।
डिम्याट खाता ऐच्छिक
स्थानीयले सेयरमा लगानी गर्न बैक खाता अनिवार्य खोल्नुपर्नेछ । तर, डिम्याट खाता भने अनिवार्य गरिएको छैन । सबैको डिम्याट नहुने र तुरुन्तै खोल्न समस्या हुने हुँदा स्थानीय संयन्त्रले यस्तो निर्णय गरेको हो ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह–प्रबन्धकमा एनसिएम मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कोषका उपप्रबन्धक नारायणप्रसाद घिमिरेले सकेसम्म डिम्याट खाता खोलेर आस्बा प्रणाली प्रयोग गर्दा सम्बन्धित लगानीकर्ताको खातामा सेयर जम्मा हुने बताए । डिम्याट खाता नखोल्दा लगानीकर्ताले पछि प्रमाणपत्र बोकेर काठमाडौं पुग्नुपर्ने झन्झट भने हुनेछ ।
स्थानीयका लागि साढे २ वर्षअघि पनि सेयर निष्काशनको तयारी भएको थियो । आयोजनाका कर्मचारी, अन्य वित्तीय संस्थाका कर्मचारी र सञ्चयकर्ताले सेयर पाएपछि २०७१ साल चैत ८ गतेदेखि सूचना जारी गरेर स्थगित भएको थियो ।
आयोजनाका मजदुरले आफूले पनि सेयर पाउनुपर्ने माग राख्दै काम रोकेपछि १६ दिनसम्म आयोजनाको काम प्रभावित भएको थियो । लगत्तै भूकम्प र नाकाबन्दीले थप २ वर्ष ढिला भयो ।
आयोजनाको प्रगति
गत असारसम्म आयोजनाको काम ९०.५ प्रतिशत पूरा भएको छ । न्यौपानेका अनुसार हाल विद्युतगृह, बाँध, सुरुङ, प्रसारण लाइनलगायतका संरचनाको काम भइरहेको छ ।
अमेरिकी डलरको मूल्यमा उत्तारचढाव, वर्षा र लामोसाँघु जिरी सडक स्तरोन्नतिका कारण आयोजनाको लागत झन्डै ७ अर्ब रुपैयाँ बढ्ने अनुमान छ । सुरुमा आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो ।
आयोजनाको काम सुरु हुँदा १ अमेरिकी डलरबराबर ८० रुपैयाँ थियो । अहिले बढेर करिब १ सय ३ रुपैयाँ पुगेको छ । आयोजनामा अहिलेसम्म ३४ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ ।
उपकरण ढुवानीमा समस्या
निर्माणाधीन लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत खाडीचौर–चरिकोट खण्डमा सडक चौडा पार्ने काम भइरहेको छ । यही कारण उपकरण ढुवानीमा समस्या देखिएको हो । आवश्यक ठूला उपकरण र पेनस्टक पाइप सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रमा राखिएको छ ।
मुख्य संरचनाअन्तर्गत टेलरेस सुरुङ खन्ने, विद्युत गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने काम भने भइरहेको छ । आयोजनाका अनुसार मुख्य सुरुङ ९३ प्रतिशत र हेडवक्र्स कंक्रिटिङ ८९.५ प्रतिशत सकिएको छ ।
२०७५ असार मसान्तभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । यसै वर्षको मंसिरसम्म ५ वटै युनिट सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । यही कम्पनीले २२ मेगावाटको रोल्वालिङ डाइभर्सन आयोजनाको काम पनि अघि बढाएको छ ।
तामाकोसी र रोल्वालिङबाट वार्षिक २ अर्ब ६२ करोड युनिट विद्युत उत्पादन हुनेछ । माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि बर्खामा लोडसेडिङको अन्त्य हुने अपेक्षा छ ।उर्जाखबरबाट
प्रकाशित मितिः २०७४ भदौ ११
वि.सं.२०७४ भदौ ११ आइतवार १६:५६ मा प्रकाशित