काठमाडौ । सरकारले सञ्चालनमा रहेका दुई चिनी उद्योगबाट ६ मेगावाट विद्युत खरिद प्रक्रिया सुरु गरेको छ । हिउँदको लोडसेडिङ न्यूनिकरण गर्ने योजनाअनुसार खरिदको तयारी थालिएको हो ।
एभरेष्ट सुगर एन्ड केमिकल इन्ड्रष्ट्रिज र इन्दु शंकर चिनी उद्योगबाट ३/३ मेगावाट विद्युत खरिद गर्न लागिएको छ । ती उद्योगले लामो समयदेखि महोत्तरीको गौशाला, रामनगर र सर्लाहीको हरिवनमा चिनी उत्पादन गर्दै आएका छन् ।
विद्युत खरिद गर्नेबारे विद्युत विकास विभाग र दुई उद्योगबीच सोमबार समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने तयारी छ । समझदारी अनुसार उद्योगले उत्पादन तथा उपयोग गरी उब्रेको विद्युत नेपाल विद्युत प्राधिकरणको नजिकको सबस्टेसनमा जडान गर्नुपर्नेछ ।
एभरेष्टले आफ्नो उद्योगदेखि १२ किलोमिटर दूरीमा रहेको औरही सबस्टेसन र इन्दु शंकरले १५ किलोमिटर दूरीको हरिपुर सबस्टेसनमा विद्युत उपलब्ध गराउने भएका छन् । एभरेष्टले मंसिर १५ देखि चैतसम्म र इन्दुले पुसदेखि चैतसम्म क्रमशः ८१ लाख र ८६ लाख ४० हजार किलोवाट घन्टा विद्युत उपलब्ध गराउने विवरण पेस गरेका छन् ।
चिनी मिलबाट निस्केको उखुको खोस्टा
हिउँदको लोडसेडिङ घटाउन मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिले २०७२ जेठ २ गते चिनी उद्योगको बगास (उखुको खोस्टा) बाट विद्युत सहउत्पादन गर्ने निर्णय गरेको थियो । विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार इच्छुक उद्योगसँग करार सम्झौता गरी विद्युत सहउत्पादन गर्ने निर्णयअनुसार विभागले प्रक्रिया अघि बढाएको थियो ।
इच्छुक उद्योगले उत्पादन गरेको विद्युत बेच्न चाहे १५ दिनभित्र आवेदन दिन विभागले २०७३ बैशाख १३ गते सूचना प्रकाशित गरेको थियो । तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि पुनः १५ दिनको समयसीमा राखी जेठ ११ गतेसम्म समय थपिएको थियो ।
थपिएको समयभित्र उल्लेखित दुईसहित सर्लाहीको अन्नपूर्ण सुगर एन्ड जनरल इन्ड्रष्ट्रिज, नवलपरासीस्थित सुनवलको लुम्बिनी चिनी उद्योग तथा सोही जिल्लाको कुडियास्थित बागमती खाँडसारी चिनी मिल्स, कैलालीको बासुलिंग सुगर मिल र कन्चनपुरको महाकाली सुगर इन्ड्रष्ट्रिजले आवेदन दिएका थिए ।
विभागले सबै उद्योगको स्थलगत अवलोकन तथा वातावरणीय परीक्षण र क्षमता जाँच गरेको थियो । अध्ययनअनुसार ग्रिडमा विद्युत उपलब्ध गराउन इच्छुक दुई उद्योगसँग एमओयू गर्न लागेको विभागका महानिर्देशक नविनराज सिंहले बताए ।
‘उद्योग स्थापना गर्न निजहरूले पहिल्यै वातावरणीय अध्ययन गरेकाले पुनः त्यसको आवश्यकता पर्दैन,’ उनले आइतबार भने, ‘एमओयूपछि उद्योगले प्राधिकरणसँग प्रसारण सम्झौता ९कनेक्सन एग्रिमेन्ट० गर्नुपर्छ ।’ उनीहरूले विद्युतको मूल्य पोस्टेड दर (हिउँदका ६ महिना रु ८.४० र बर्खाका ६ महिना रु. ४.८०) पाउनेछन् ।
सिंहका अनुसार प्रसारण सम्झौताको विवरण पेस गरेपछि ती उद्योगले विद्युत उत्पादनको अनुमतिपत्र पाउनेछन् । एमओयू भएको मितिदेखि १२ महिनाभित्र तोकेको परिमाणको विद्युत प्रसारण लाइन तथा सबस्टेसनमा उपलब्ध गराउनुपर्नेछ ।
एभरेष्ट उद्योग नजिक ३३ केभी र इन्दु नजिक ४१५ भोल्टको प्रसारण लाइन उपलब्ध छ । दुवै उद्योगको क्रमशः १२० र १२६ मेट्रिक टन प्रतिघन्टाका बोइलर रहेको विभागले जानकारी दिएको छ ।
एभरेष्ट र इन्दुको बोइलरको दक्षता ९इफिसियन्सी० ८५ प्रतिशत र ७० प्रतिशत छ । ती उद्योगमा आर्थिक वर्ष २०७२/७३ मा ३ लाख ४६ हजार २ सय ८५ मेट्रिक टन र ३ लाख १२ हजार ८० मेट्रिक टन उखु उपलब्ध भएको थियो ।उर्जा खबरबाट
प्रकाशित मितिः २०७४ भदौ २६
वि.सं.२०७४ भदौ २६ सोमवार १२:१५ मा प्रकाशित