back
NMB ad

सुन तस्करीका मुख्य नाइके माओवादी केन्द्रबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष !

Kumari bank ad

पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् ।

सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।

उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ । प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन् । सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन् ।

सीआईबीले पौडेल र खड्कासँगको समन्वयमा नेपालमा सुन तस्करी गर्दै आएका केही चिनियाँ तस्करको समेत पहिचान गरेको छ । उनीहरूको राहदानीको प्रतिलिपिसमेत फेला परेको छ । उनीहरूलाई इन्टरपोललगायत च्यानलको सहयोगमा कारबाहीको दायरामा ल्याउन सीआईबी लागिपरेको स्रोत बताउँछ ।

तातोपानी नाका नजिकको फुल्पिङकट्टी गाउँ (हाल भोटेकोसी गाउँपालिका–४) का बासिन्दा पौडेलले उक्त नाकाबाट सस्ता चिनियाँ सामान ओसार्ने सामान्य व्यापारीका रूपमा काम सुरु गरेका थिए । उनको व्यापारिक र सम्पत्ति आर्जनलाई जानकारहरूले असामान्य मान्दै आएका छन् । उनी हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन्।

उनले राजधानीको सानो भर्‍याङ क्षेत्रमा मात्र तीनवटा घर बनाएका छन् । साथै, २२ मेगावाटको अपर चाकु जलविद्युत् परियोजनामा समेत उनको लगानी भएको स्रोत बताउँछ । कतिपय आफ्ना लगानी परिवारका सदस्यहरूको नाममा राखेकाले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट त्यो पक्षलाई तान्ने सीआईबीले तयारी गरेको छ।केही वर्षअघिसम्म तातोपानी नाका हुँदै तिब्बततर्फ रक्तचन्दनको व्यापक तस्करी चल्दा पौडेल सक्रिय रहेको प्रहरीको बुझाइ छ । उनी रक्तचन्दनको कमाइलाई सुनतर्फ मोडेर धन्दा विविधीकरण गर्न सफल भएका हुन् । उनकै परिवारका एक सदस्य ५ वर्षअघि डलर अपचलन मुद्दामा केही समय कैद परेका थिए।

टोखामा १४ किलोसहित पक्राउ परेका पेम्बा शेर्पाले सुन तस्करी सन्जालमा पौडेलका लागि काम गर्दै आएको खुलेको छ । दीपेन्द्र थापा र सरोज थापाचाहिँ खड्काका लागि काम गर्ने ‘भरिया’ हुन् । पौडेल र खड्का दुवैको प्रत्यक्ष र निरन्तर सम्पर्क चिनियाँ व्यापारीसँग भएको देखिन्छ । ‘तीमध्येकी एक चिनियाँ महिला नियमित नेपाल आउजाउ गर्छिन् र आत्मविश्वासी पाराले नेपाली पनि बोल्छिन्,’ सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन् । ती महिलाको पूर्ण विवरण सीआईबीले पाइसकेको छ।’

वैध सुन व्यापारको आवरणमा अन्तर्राष्ट्रिय तस्करीमा सक्रिय खड्का यसअघि प्रहरीको शंकास्पद सूचीमा परिसकेका व्यक्ति हुन् । उनी पहिले तातोपानी, हाल केरुङ नाकाबाट सुन ओसार्नेबाहेक दुबईमा रहेर नेपालमा सुन पठाउने गिरोहसँग पनि नजिक रहेको स्रोतको दाबी छ । ‘उनको भारतमा तस्करी च्यानलसँग राम्रो सम्बन्ध रहेको हुन सक्छ,’ एक अनुसन्धान अधिकृत भन्छन्।

पौडेल र खड्काले पछिल्लो पटक कुल २२ किलो सुन भित्र्याएकामा १५ केजी मात्रै फेला परेको थियो । बाँकी स्थानीय बजारमा खपतका साथै भारत पठाइएको भन्ने पक्राउ परेकाहरूको बयानमा उल्लेख छ।

सीआईबी अपरेसनको केही दिनपछि राजधानीमा ८८ किलो सुन बरामद भयो । महानगरीय प्रहरी अपराध महाशाखाबाट भएको यो बरामदी इतिहासकै सबैभन्दा ठूलो परिमाण हो । तर, उक्त प्रकरणमा प्रहरी अनुसन्धान भरियाका रूपमा प्रयोग भएका ड्राइभरलाई पक्राउ गर्नेबाहेक थप चरणमा अगाडि बढ्न सकेको छैन।

खासाबाट उपभोग्य सामान, लत्ताकपडा आयात गर्दै क्यारिङको काम गरेका पौडेल समय क्रममा रक्तचन्दन, सुनको धन्दामा यति धेरै अगाडि बढेको देखेर चिन्नेहरू आश्चर्यचकित छन् । ‘हुनत उनी चुनावमा ३ करोड रुपैयाँ खर्च भयो भन्दै थिए । सामान्य कमाइले त्यस्तो गर्न कसरी पो पुग्नु रु ‘ एक पूर्व खासा व्यापारी भन्छन्, ‘खर्चपर्चबाहेक उनको राजनीतिक पहुँच पनि गजबकै थियो।’

‘अनुसन्धान भइरहेकाले अहिले व्यक्ति किटान नगरौं’, सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले अन्नपूर्णसँग भने, ‘सुन बरामद प्रकरणमा अभियुक्तहरू संगठित अपराधलगायत सम्भवतः सबै मुद्दामा तानिन्छन् ।’ अन्नपूर्ण पोस्ट बाट

प्रकाशित मितिः २०७४ भदौ २७

वि.सं.२०७४ भदौ २७ मंगलवार १२:४५ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...