नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षमा एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताएका छन् । विदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना ल्याउन आग्रह गर्दैे भने, ‘पाँच वर्षमा पाँच वटा यस्ता महत्वपूर्ण योजना सम्पन्न गराऔंँ जसले जिल्लाको कायापलट गर्ने छ । पैसा छरेर मात्र विकास हुँदैन ।’
विदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन
मुख्यमन्त्री पौडेलले कतिपय स्थानमा वृद्धाश्रमको नाममा व्यापार समेत हुने गरेको बताउँदै नुवाकोटको जस्तो भवन हरेक जिल्लामा निर्माण गर्नुपर्छ भन्दै उनले पछिल्लो समय वृद्धहरुलाई परिवारले नहेर्ने समस्या बढेकाले परिवारबाटै हेरचाह गराउने अभियानसमेत प्रतिष्ठानले सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष तथा सांसद नारायणप्रसाद खतिवडाले वृद्धहरुलाई फरक रोग लाग्ने भएकाले हरेक जिल्लामा कम्तीमा एउटा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरी आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, केशव पाण्डे र बद्री मैनालीले आआफ्ना धारणा राखेका थिए । विसं २०६७ मा स्थापित प्रतिष्ठानले देवीघाटनमा छ रोपनी जग्गामा चारतले भवन बनाएको छ । सरकारी कार्यालयको करीव रु एक करोड ७२ लाख र दाताबाट प्राप्त रु एक करोड ४७ लाख भवन निर्माणमा लागेको थियो । प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सत्तरी ज्येष्ठ नागरिकलाई केन्द्रमा आश्रय दिन सकिने क्षमता रहेको र प्रतिष्ठान हातामा ज्येष्ठ नागरिक अस्पताल बनाउने योजना रहेको जानकारी दिए । आईताबार नै प्रतिष्ठानले सञ्चालन गरेको शतचण्डी महायज्ञ सम्पन्न भएको छ ।
२०७४ चैत ११ गते प्रकाशित