महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ ।
‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको (मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ ।
माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ ।
वनस्पतिविद्का अनुसार छैटौँ÷सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एकपटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंबदन्ती छ ।
छैटौं÷सातौँं शताब्दीदेखि मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान् र सौर्यशाली थिए ।
सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो ।
भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य संगठनलाई सुसगठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ ।
राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाइ देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ ।
लहान नगरपालिकादेखि चार किमी पश्चिम–दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा मालाका रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा विस्तारै मौलाउँदै जान्छ । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत असंख्य मानिस आउने र मेला भर्ने गर्छन् ।
किंबदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ ।
२०७४ चैत ३० गते प्रकाशित
वि.सं.२०७४ चैत ३० शुक्रवार १६:४८ मा प्रकाशित