काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गराईसकेको जानकारी दिएको छ । बैंकले गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । बोनसपछि बैंकको साधारण तर्फको चुक्ता पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुगेको छ भने सरकारको अग्राधिकार सेयर सहित बैंकको चुक्ता पूँजी भने १३ अर्ब नाघेको छ ।
बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुने एक करोड ४१ लाख ७५ हजार ३६० कित्ता बोनस सेयरधनीको हितग्राही खातामा पठाइसकेकोे जनाएको छ । सेयर अभौतिकिकरण गर्ने सेयरधनीको सेयर हितग्राही खातामा बोनस सेयर जम्मा भएको बैंकले जनाएको छ । बैंकले वैशाख ६ गते नेप्सेमा बोनस सेयर सूचिकरण गराएको थियो ।
बैंकको गत माघ २९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस बोनस तथा कर बापत १.०५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि माघ १५ गते बुकक्लोज गरेकाले माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले बोनस पाउनेछन् ।
२०७५ बैशाख ११ गते प्रकाशित
वि.सं.२०७५ वैशाख ११ मंगलवार १७:२६ मा प्रकाशित