काठमाडौं । बिहीबार साँझ ५ बजेसम्म एनएमबि बैंकको एफपीओमा कुल २ अर्ब २८ करोड ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार बिहीबार ५ बजेसम्मको तथ्यांक अनुसार २ अर्ब २८ करोड ५३ हजार रुपैयाँको आवेदन परेको हो । कुल ५७ हजार ५०० जनाले ६८ लाख ४७ हजार ६ कित्ताका लागि आवेदन दिएको उनले नेपाली पैसालाई जानकारी दिए ।
जसमध्ये ४८ वटा संंस्थागत लगानीकर्ताले २१ करोड १४ लाख रुपैयाँ बराबरको ६ लाख ३४ हजार ८३४।८३ कित्ता सेयर भरेका सिलवालले बताए । संस्थागत लगानीकर्तातर्फ लक्ष्मी भ्यालू फन्ड, लक्ष्मी इक्विटी फन्ड, सुलभ होल्डिङ, नबिल समृद्धि फन्ड लगायत रहेको उनले जानकारी दिए ।
एनएमबि बैंकले (जेठ ३० गते) देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँका दरले यसमा आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० देखि अधिकतम सबै कित्तासम्म भर्न सकिन्छ । यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गरेको हो । एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यसको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ । नेपाली पैसाबाट
२०७५ असार ७ गते प्रकाशित
वि.सं.२०७५ असार ७ बिहीवार १९:४९ मा प्रकाशित