२०७६ साउन ३१ गते प्रकाशित
काठमाडौँ । भदौ कृष्ण प्रतिपदाका दिन शुक्रबार काठमाडौँ उपत्यकालगायत नेवार बाहुल्यता रहेको क्षेत्रमा देशभर सापारु भनी गाईजात्रा मनाइँदै छ । गाईजात्रा परम्पराको सुरुआत मल्लकालमा भएको मानिन्छ ।
यसले शोकमग्न बनेकी रानी अनन्तप्रियाको मन बहलाउन जति प्रयास गर्दा पनि नसकेपछि राजाले हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका हुन्छन् भन्ने देखाउन ‘गाईजात्रा’ आरम्भ गरेको इतिहास छ ।
ऐतिहासिक तथ्यका अनुसार काठमाडौँमा त्यतिबेला बाहुल्यता रहेको गाईपालक समुदाय ९सालह्यु०लाई मानिस मरेका घरबाट गाई सिँगारेर दरबारमा ल्याउनू भनी अह्राइयो । झाँकी निस्किएको र त्यसले कालान्तरमा जात्राको स्वरूप लिएको इतिहासमा वर्णित छ । अचेल तेस्रोलिङ्गी समुदायले पनि यौनकुण्ठा, यौनचाह, खुलापन लगायतको हाउभाउ प्रदर्शन गर्दै गाईजात्रा बनाउन थालेका छन् । काठमाडौँको थने भनिने ठहिँटी र कोने भनिने कोहिटी क्षेत्र हुँदै तत्कालीन प्रताप मल्लको हनुमानढोका दरबार परिक्रमा गराउने गरिन्छ ।
विगतमा दिवङ्गत भएकाको आफन्तजनले यिनै जात्रामा सहभागीलाई ३६५ थरीका फलफूल, परिकार, मिठाई, दूधदही दान गरेर दिवङ्गत आफन्तको स्मृति गरिन्छ । पशुपति क्षेत्रमा यो दिन मृतकमध्ये ज्येष्ठको घरबाट गाईजात्राको झाँकीसहित लाखे नाचसमेत निकाल्ने प्रचलन रहेको सृजनशील युवा क्लबका सल्लाहकार रामकृष्ण डङ्गोल बताउछन ।
काठमाडौँबाहेक धनकुटा, नुवाकोट, बाग्लुङ, स्याङ्जा लगायतका नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा पनि योजात्रा मनाइँदै आएको छ । सिन्धुपाल्चोकको ऐँसेलुखर्कमा गाईजात्रा बुधबारदेखि नै सुरु भएको छ । प्रतिपदाका दिन भने जात्रामा सहभागीलाई घर आँगनमा आमन्त्रण गराउने चलन छ ।
एँेसेलुखर्कका जगतबहादुर नकर्मीका अनुसार डोकोमाथि डोको खप्टिएको अग्लो तायमचामा मृतकको तस्बिर राखेर झाँकी प्रस्तुत गर्दै जात्रा मनाइन्छ । भक्तपुरमा भने गाईजात्रा आठ दिनसम्म मनाइन्छ । जात्राको छुट्टै रौनक हुने गर्छ ।
गाईजात्राका दिन वर्षभरि मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात् डोकोलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गर्ने भक्तपुरका महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याले बताए ।
वि.सं.२०७६ साउन ३१ शुक्रवार ०७:३१ मा प्रकाशित