काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हाँसिल गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताउनुभयो ।
नेपाल पूर्वाधार सम्मेलन, २०१९ का क्रममा आयोजित पूर्वाधार परिदृश्य विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक–निजी साझेदारीको आधारमा कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानी बढाउन उहाँले आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरले मलुकको ठूलो व्यापार घाटा न्यूनीकरण गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सरकारले लगानीमैत्री वातावरण बनाउन विभिन्न ऐन, कानुन संशोधन गरेको र लगानीकर्ताले एकै स्थानबाट सम्पूर्ण सेवा पाउन सकून् भन्ने उद्देश्यले सरकारले एकल सेवा बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको उहाँको भनाइ थियो।
काठमाडौंको हायात होटेलमा बुधबारदेखी शुरु भएको कार्यक्रम विहिबार सम्म सञ्चालन हुने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा सामूहिक छलफल हुनेछ । सम्मेलनका विभिन्न सात सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।
२०७६ भदौ २५ गते प्रकाशित
वि.सं.२०७६ भदौ २५ बुधवार १३:५५ मा प्रकाशित