काठमाडौं । चेन्नई कर्पोरेसनले सडकका रूख सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ । विज्ञापन राखिँदा रूखको मौलिकता हराउनुका साथै सहर कुरूप हुने जनाउँदै चेन्नईले बिहीबारदेखि नै लागू हुने गरी नयाँ नियम सार्वजनिक गरेको हो ।
अब चेन्नईको सडकमा रहेका रूखमा कुनै पनि कम्पनीले आफ्नो प्रवद्र्धनका लागि होडिङ बोर्ड राख्दा २५ हजार भारु जरिवानाका साथै तीन वर्षसम्म कैद हुनेछ ।
चेन्नईले दश दिनभित्र सबै कम्पनीलाई रूखमा रहेका विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ । प्रशासनले दिएको समयभित्र बोर्ड नहटाए कारबाहीको भागीदार हुनुपर्ने जनाएको छ । यसैगरी रूखमा किला ठोक्ने क्रियाकलाप नगर्न भनिएको छ । रूखका किला ठोक्दा यसको उमेर कम हुने विश्वास छ ।
धेरै अगाडिदेखि भारतको वनस्पति विज्ञान विभागले रूखमा किला ठोक्न नहुने र बिजुली जडानजस्ता कार्यले यसको आयु घट्ने प्रतिवेदन बुझाएको थियो । विभागले यस्तो काम तत्कालै निरुत्साहित गर्नुपर्ने बताएको थियो ।
तर, यसतर्फ खासै ध्यान प्रशासनको गएन । पछिल्लो साता चेन्नई कर्पोरेटले एक सर्वेक्षण गरेको थियो । विज्ञापन र किल्ला भएका रूख अन्य रूखका तुलनामा कमजोर देखिए ।
भारतका विभिन्न सहरमा ‘फ्री ट्री’ (खुला रूख) अभियान सुरु भएको छ । सहरलाई हरियाली बनाउन नयाँ रूख रोप्ने र संरक्षण गर्ने यस्तो अभियान सुरु भएको हो । धेरैजसो संस्थानले यस्तो अभियान सञ्चालन गर्दै बोट–बिरुवामा राखिएका होडिङ बोर्ड हटाएका छन ।-एजेन्सी
२०७६ भदौ २६ गते प्रकाशित
वि.सं.२०७६ भदौ २६ बिहीवार ०९:५३ मा प्रकाशित