काठमाडौं । विकास साझेदार विश्व बैङ्कले नेपालको पूर्वाधारमा लगानी बढाउन वाणिज्य बैङ्कको मर्जर आवश्यक भएको औंल्याएको छ । विश्व बैङ्कले नेपालमा सञ्चालन भइरहेका २८ ओटा वाणिज्य बैङ्कलाई घटाएर १५ मा झार्नुपर्ने सुझाएको हो ।
विश्व बैङ्कले सार्वजनिक गरेको ‘नेपाल पूर्वाधार क्षेत्र अध्ययन’ प्रतिवेदनमा धेरै पुँजी भएका बैङ्कले मात्र पूर्वाधारमा लगानी गर्न सक्ने भन्दै पुँजीगत रुपमा सबल बननउन संख्या घटाउन सुझाएको हो ।
वाणिज्य बैङ्कको वासलातको आकार जति ठुलो हुन्छ, त्यति नै लगानी गर्ने क्षमता बढ्ने भन्दै बैङ्कको सङ्ख्या घटाउन भनेको हो । नेपालमा वाणिज्य बैङ्कको संख्या बढी तर तिनीहरुको पूर्वाधारमा लगानी गर्ने क्षमता कम रहेको निष्कर्ष विश्व बैङ्कको छ ।
अन्तर्रा्ष्ट्रिय बैङ्कसँग साझेदारी गर्न स्थानीय बैङ्क सबल र सक्षम हुनुपर्ने विश्व बैङ्कको ठहर छ । राष्ट्र बैङ्कले भनेको चुक्ता पुँजी १६ अर्ब रुपैयाँ पुर्याएमा यो लक्ष्य पुरा हुने विश्व बैङ्कको ठहर छ ।
२०७६ भदौ २६ गते प्रकाशित
वि.सं.२०७६ भदौ २६ बिहीवार १४:३५ मा प्रकाशित