काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंकको आज (मंसिर २ गते) साधारण सभा सुरु भएको छ । दुबै बैंकले मर्ज सम्बन्धी प्रस्ताव पारित गर्न सभा बोलाएका हुन।
सभामा दुबै बैंक एक आपसमा गाभिने मुख्य एजेन्डा रहेको छ । यता, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८५ सेयर स्वाप रेसियोमा मर्ज प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा पनि छ ।
यसर्थ, जनताका १०० सय कित्ता सेयर हुनेले अब ग्लोबलको ८५ कित्ता सेयर पाउनेछन् । सभाले मर्ज सम्बन्धी अन्तिम सम्झौता पत्र तथा अन्य सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।
मर्जरपछि जारी तथा चुक्ता पुँजी र सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
मर्जपछि ग्लोबल आइएमई बैंकको नामबाट कारोबार हुनेछ । ग्लोबलको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा मंसिर २ गते बिहान १० बजे सुरु हुनेछ ।
ग्लोबलले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२.७५% बोनस र १२.७५% नगद गरी कुल २५.५% लाभांश दिने निर्णय गरेको छ । सो प्रस्ताव पनि सभामा पेश गरिंदैछ ।
सभा प्रयोजनका लागि ग्लोबलले कात्तिक २० गते बुक क्लोज गरेको छ । मर्जर प्रक्रियाका कारण हाल ग्लोबल र जनता दुवैको सेयर कारोबार रोक्का छ । यता जनता बैंकको साधारण सभा भने आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १० बजे नै सुरु भएको छ ।
जनताले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६% बोनस र ६% नगद गरी कुल १२% लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पनि सभामा पेश गरिदैछ । सभा प्रयोजनका लागि जनताले कात्तिक १४ गते बुक क्लोज गरेको छ ।
२०७६ मंसिर ०२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २ सोमवार १०:१३ मा प्रकाशित