काठमाडौं । लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड वा दुई करोडरु तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे १० करोड रुपैयाँ कमाएका छन्।
तातोपानी भन्सार कार्यालय (सिन्धुपाल्चोक) का प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ कमाएका हुन्। बस्नेतले तलबभत्ता, टिडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेरमात्र उक्त रकम कमाएका भने होइनन् ।
उनको वैध आम्दानी पौने दुई करोड रुपैयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रूपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।
बस्नेतले भन्सार अधिकृतको रूपमा काम गर्दा विदेशबाट नेपाल आयात गर्ने सामानहरूका भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ व्यवसायी एवं भन्सार एजेन्टसँग गैरकानुनी रूपमा घुस लिएर अकुत सम्पत्ति कमाएको छानबिनबाट खुलेको अख्तियारले जनाएको छ । नागरिक दैनिकमा खबर प्रकाशित छ ।
२०७६ मंसिर ३० गते प्रकाशित
वि.सं.२०७६ मंसिर ३० सोमवार ०९:४१ मा प्रकाशित