काठमाडौं । तामाङ समुदायको चाड सोनाम ल्होसारमा सार्वजनिक विदा दिने भएको छ । आउँदो माघ १० गतेका दिन बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको हो ।
माघ १० गते पर्ने पर्ने ल्होसार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिनुभयो ।
नामाकरण र राजधानीको टुंगो लगाएपछि प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा सहित अन्य सात निर्णय गरेको छ ।
बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष ०७७/७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशको नामाकरणा र राजधानीको टुंगो लगाएपछि बागमतीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
२०७६ पुस २८ गते प्रकाशित
वि.सं.२०७६ पुस २८ सोमवार ११:२५ मा प्रकाशित