काठमाडौं । आईपीओ जारी गर्ने तयारीमा रहेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा रू. २२ करोड ३८ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २६२ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ६ करोड १६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड छ । जगेडा कोषमा रू. ५६ करोड २६ लाख छुट्याएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ३ अर्ब ३७ करोड जम्मा भएको छ ।
यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा २५४ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा कम्पनीले बीमालेख धितोमा राखेर रू. ५० करोड ५२ लाख कर्जा प्रवाह गरेको छ ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेकोमा चालू आवको दोस्रो त्रैमासमा रू. २ अर्ब ४१ करोड आर्जन गरेको छ
वि.सं.२०७६ माघ २७ सोमवार १५:२८ मा प्रकाशित