काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक लिलामीमा विक्री हुने भएको छ । कम्पनीले ५० हजार कित्ता शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले फागुन ६ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल, प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।
आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लिलामी शेयरमा आवेदन दिनको लागि माघ २८ गतेदेखि फागुन ६ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य रू. १ हजार ७५० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७६ माघ २८ मंगलवार ११:१५ मा प्रकाशित