काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भक्तपुरको डोलेश्वर महादेव मन्दिरलाई बागमती प्रदेशकै धार्मिक गन्तव्य बनाइने बताउनुभएको छ ।
केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको एघारौं वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेले यस्तो बताउनुभएको हो । उहाँले नेपाल मन्दिरैमन्दिरको देश भएकाले आन्तरिकसँगै विशेष गरेर भारतीय पर्यटकहरुलाई आकर्षण गर्न सकिने स्पष्ट पार्नुभयो ।
‘भारतीय पर्यटकहरुलाई आकर्षण गर्न सक्ने ठाउँहरु नेपालमा धेरै छन’, मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘ती ठाउँमध्ये भक्तपुरको डोलेश्वर महादेव मन्दिर पनि एक हो । यसलाई बागमती प्रदेशकै धार्मिक गन्तव्य बनाइने छ ।’
डोलेश्वर बागमती प्रदेशको उत्कृष्ट तीर्थस्थलको रुपमा रहेकोमा कुनै द्विविधा नभएको उहाँको भनाइ थियो । ‘डोलेश्वर महादेव मन्दिर क्षेत्रलाई अझ विकास गर्नुपर्छ’, मुख्यमन्त्री पोडेलले थप्नुभयो, ‘समृद्ध डोलेश्वरलाई महत्वपूर्ण तीर्थस्थलको रुपमा विकास गर्न प्रदेश सरकार लागिपर्छ ।’
उहाँले डोलेश्वरको लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका ८ सिपाडोलका वडा अध्यक्ष किरण थापाले पनि डोलेश्वरको विकासको लागि सूर्यविनायक नपाले सहयोग गर्दै आएको बताउनुभयो ।उहाँका अनुसार सूर्य्विनायक नपाले चालू आर्थिक वर्षमै डोलेश्वरको भौतिक संरचना विकास गर्न ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संस्थाका अध्यक्ष बालहरि चालिसेले सरकारको स्वीकृतिमा ५५ करोड रुपैयाँको गुरुयोजनाअनुसार डोलेश्वर क्षेत्र विस्तार तथा विकास कार्य अघि बढिरहेको जानकारी दिनुभयो ।
उक्त गुरुयोजनाअनुसार डोलेश्वर महादेवको मूल मन्दिरसँगै करिब ३९ वटा भौतिक संरचना निर्माण हुनेछ । जसमा मूल मन्दिरको निर्माण कार्य यसैवर्ष पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष चालिसेले जानकारी दिनुभयो ।
त्यस्तै मन्दिरको चौबन्दी सत्तलसमेत यसै वर्ष पूरा गर्ने गरी काम भइरहेको बताउँछन् । गुरुयोजनाअनुसार गणेश मन्दिर तयार भइसकेको छ ।
उक्त मन्दिर निर्माणको लागि काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत र उनकी श्रीमती उर्मिला बस्नेतले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको समितिले जनाएको छ ।
समितिका कोषाध्यक्ष मोहन बलले आर्थिक वर्ष २०७५÷७६ मा दुई करोड तीन लाख ३८ हजार दुई सय ५२ रुपैयाँ आर्थिक संकलन भएको जानकारी दिनुभयो ।
त्यस्तै मन्दिर क्षेत्रमा भौतिक संरचना निर्माणलगायत एक करोड ८२ लाख १४ हजार तीनसय रुपैयाँ उक्त आर्थिक वर्षमा खर्च भएको उहाँले बताउनुभयो ।
वि.सं.२०७६ फागुन १० शनिवार १७:५६ मा प्रकाशित