काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवाहरुको महसुल एनटी रिचार्ज कार्ड (NT Recharge Card) वा विद्युतीय माध्यममार्फत भुक्तानी गर्न अनुरोध गरेको छ ।
हालको विषम परिस्थितीलाई मध्यनजर गरी टेलिकमले कम्पनीका सेवाहरुको महसुल भुक्तानी रिचार्ज कार्ड वा विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो ।
कोरोनाभाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेसँगै टेलिकमले असहज परिस्थितीमा पनि आफ्ना ग्राहकका लागि सहज सेवा उपलब्ध गराउन तत्पर रहेको बताएको छ ।
टेलिकमले बुधबार राति १२ बजेदेखि रिचार्जमा शतप्रतिशत बोनस सेवा पनि सुरु गरेको थियो । बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैठकले नेपाल दुरसञ्चार प्राधिकरणको निर्देशनअनुसार रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गर्ने निर्णय गरेको थियो ।
नेपाल दुरसञ्चार प्राधिकरणले ग्राहकलाई २०० रुपैयाँसम्म सापटी उपलब्ध गराउन टेलिकम कम्पनीहरुलाई निर्देशन दिइसकेको छ भने रिचार्जमा पनि शतप्रतिशत बोनस दिनुपर्ने बताएको छ ।
वि.सं.२०७६ चैत १४ शुक्रवार १७:२० मा प्रकाशित