back
NMB ad

बैंकिङ क्षेत्रलाई नोक्सानमा जान नदिन तीन तहमा निगरानी गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको चालू आर्थिक वर्षमा पहिलेकै दरमा नाफा वृद्धि नहुने भए पनि ठूलो नोक्सानी भने नहुने राष्ट्र बैंकले दाबी गरेको छ । बैंकहरूको तीन चरणमा जोखिम मूल्यांकन गरिरहेको राष्ट्र बैंकले यस्तो दाबी गरेको हो ।

‘कुन बैंकलाई कस्तो असर पर्छ भनेर हामीले हेरिरहेका छौँ, कोभिड–१९ का कारण सबै क्षेत्र तनावपूर्ण अवस्थामा रहँदा बैंकर्सले पुरानै दरमा नाफा वृद्धि भएन भनेर चिन्ता लिनु ठीक होइन,’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ पत्रिकासँग भने । उनले बैंकहरूको नाफा घट्न सक्ने भए पनि नोक्सान नै हुने अवस्था नभएको स्पष्ट पारे ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको तीन तहमा निगरानी गरिरहेको छ । पहिलो, राष्ट्र बैंकको अनुसन्धान विभागले समग्र अर्थतन्त्रमा पर्ने प्रभावको अध्ययन गरिरहेको छ । दोस्रो, हरेक बैंकका कर्जा अधिकृतलाई ५ करोड रुपैयाँभन्दा माथिको कर्जाको सूक्ष्म विश्लेषण गर्न भनिएको छ । यस्तो कर्जा लिनेको व्यवसायको अवस्था कस्तो छ, व्यवसायमा कस्ता समस्या छन् र राष्ट्र बैंकले के गर्न सक्छ ? भनेर गरिरहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले सुपरिवेक्षण विभागका कर्मचारीलाई बैंक नै तोकेर अध्ययन गर्न लगाएको छ । यस्ता कर्मचारीले बैंकहरूको हरेक महिनाको अवस्थाका आधारमा प्रतिवेदन तयार पार्नेछन ।

‘यसरी बैंकहरूमा पर्ने कोभिड–१९ को असर पूर्ण रूपमा अध्ययन गर्न लागेका छौँ,’ अधिकारीले भने । अहिले बैंकहरूले संस्थागत निक्षेप र साधारण बचत सबैमा १ प्रतिशतले ब्याजदर घटाएका छन । बैंकहरूले कर्जाको ब्याजदर भने नघटाएकाले राष्ट्र बैंकले तोकेरै कर्जाको ब्याजदर २ प्रतिशतले घटाउन निर्देशन दिएको छ ।

‘अझै पनि कतिपय बैंकहरूको स्प्रेड दर (कर्जा र निक्षेपको ब्याज अन्तर) ५ प्रतिशतमाथि छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘त्यसैले त्यति ठूलो समस्या भने हुँदैन ।’ यस्तो विषम परिस्थितिमा बैंकहरूले पनि सामाजिक लागत बहन गर्नुपर्ने भएकाले नाफा घट्ने विषयमा धेरै पिरोलिन नहुने भट्टको भनाइ छ ।

बैंकहरूले चैतसम्म नियमित रूपमा कार्यालय सञ्चालन गर्न पाएकाले पनि वार्षिक वासलात भने नोक्सानमै जाने अवस्था छैन । चैतसम्ममा बैंकहरूको कर्जा लगानी ३२ खर्ब रहेको छ । हालै चैतसम्म (तेस्रो त्रैमासिक)को वित्तीय विवरण प्रकाशित गरेको एक वाणिज्य बैंक ‘बैंक अफ काठमाण्डू’ले यो अवधिमा ८७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको तेस्रो त्रैमासिकसम्मको भन्दा २७ प्रतिशतले कम हो ।

एक त्रैमासिकको मात्र विश्लेषण गर्न नहुने

यता, बैंकर्स भने एक त्रैमासिकको नाफा–नोक्सान मात्र समस्या नभएर समग्र बैंकिङ क्षेत्रलाई दीर्घकालसम्म पर्ने प्रभावमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताउँछन । ‘अहिले होटेल र पर्यटन क्षेत्रमै १ खर्ब २७ अर्बको लगानी छ, यस्ता कर्जा समस्यामा पर्दा कर्जा पुनर्संरचनाजस्ता उपकरणले मात्र बैंकलाई धान्न सहज हुँदैन,’ बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने, ‘बैंकहरूले नियमित रूपमा निक्षेपकर्तालाई ब्याज पनि दिनुपर्छ ।’

प्रायः उद्योग–व्यवसायमा लगानीकर्ताको ३० प्रतिशत मात्र लगानी हुन्छ । बैंकहरूको ५० देखि ७० प्रतिशत लगानी हुने गरेको छ । तत्काल सुधार हुन नसक्ने क्षेत्रमा त्यो लगानी परेको अवस्थामा समस्या हुने पन्त बताउँछन ।

विप्रेषण २० प्रतिशतले घट्ने राष्ट्र बैंककै प्रक्षेपणले समेत बैंकरहरूलाई अत्याएको छ । बैंकहरूको पुँजी आधारका रूपमा रहने विप्रेषण र यसैका कारण लगानी भएको उपभोगमा आधारित कर्जाहरूले समेत समस्या पर्न सक्ने बुझाइ बैंकर्सको छ ।

सधैँ अहिलेकै जस्तो अवस्था नरहने र जनजीवन सामान्यीकरण अवस्थामा आएसँगै बैंकहरूलाई सहज हुने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा पर्ने असरलाई न्यूनीकरण गर्न अध्ययन थालेको र आवश्यकताअनुसार नीतिगत सहुलियतहरू पनि दिँदै जाने स्पष्ट पारेको छ । (नयाँ पत्रिका दैनिकबाट)

वि.सं.२०७७ वैशाख २८ आइतवार ०९:४३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...