काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना (कोभिड-१९) को संक्रमण देखिएको छ ।
साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा १७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको हो। साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति छ ।
संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ। सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।
साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन्। हालसम्म त्यहाँ २६४ सङ्क्रमितको मृत्यु भएको छ ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार ०७:४८ मा प्रकाशित