काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य गरेको दाबी गर्नुभएको छ ।
दोस्रो विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ– ‘हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ ।नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको छ । खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं।‘
उहाँले खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नुपर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेको पनि बताउनुभएको छ । ‘यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पु¥याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु’, शुभकामना सन्देशनमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले स्वच्छ खाद्यवस्तु उपभोग गर्ने नागरिकको अधिकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकांक्षासँग गाँसिएको बताउनुभएको छ । ‘त्यसैले सरकारले कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने नीति अख्तियार गरी कार्यान्वयनमा ल्याएको हो’, उहाँले भन्नुभएको छ ।
वि.सं.२०७७ जेठ २५ आइतवार ११:२९ मा प्रकाशित