लयमा फर्कंदै औद्योगिक करिडोर

काठमाडौं । तीन महिने बन्दाबन्दीपछि सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान भएको छ । लामो अवधिसम्म बन्द रहेका उद्योगबाट पूर्ण क्षमतामा उत्पादन भइनसकेको भए पनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी–व्यवसायीले बताएका हुन् ।

‘पर्ख र हेर’को अवस्थामा उद्योग चलाएका छौँ, प्रिमियर स्टिल उद्योगका सञ्चालक एवं मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष पवन सारडाले पुनः बन्दाबन्दीको अवस्था झेल्नु परेन भने उही लयमा फर्कंदैछौँ तर त्यसका लागि बजारको चहलपहल र उत्पादन सामग्री माग बढ्नुपर्ने हुन्छ भने । उनले उत्पादन मात्रै गर्ने र माग नहुने अवस्था लामो अवधिसम्म रहे पुनः उत्पादन कटौती गर्नुपर्ने अवस्था आउने बताए ।

करिडोरका शतप्रतिशत उद्योग सञ्चालनमा आए पनि उत्पादन भने ६५ प्रतिशत मात्रै छ । करिडोरमा साना, मझौला र ठूला गरी छ सय उद्योग सञ्चालनमा छन् । यी उद्योगमा काम गर्दै आएका ३० हजार नेपाली मजदुर काममा फर्किसकेको दाबी उद्योगीहरूले गरेका हुन् ।

स्थानीय कामदारलाई काममा फर्काएका छौँ, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहले कुनै–कुनै उद्योगमा रहेकामध्ये चार मेसिनमध्ये दुईवटा मात्रै चलेका छन् भने । उद्योगीहरूले सिफ्ट घटाउने र दैनिक ज्यालादारीका मजदुरलाई आलोपालो प्रणालीमा काम लगाउने गरेको महासचिव साहले जानकारी दिए ।

बाग्मती वयल इन्डस्ट्रिज प्रालिका सञ्चालक एवं उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष नन्दु राठीले खाद्यान्न उत्पादन गर्ने उद्योग बन्दाबन्दीभर नै सञ्चालन रहेकोले समस्या नभएको बताए । उनले दैनिक आवश्यकता परिपूर्ति गर्ने किसिमका सामान उत्पादन हुने उद्योगलाई समस्या नभए पनि त्यसबाहेकका उद्योगका उत्पादन वृद्धि गर्न बजारमा निर्भर रहनुपर्ने बताए ।

बजार कसरी चलायमान हुन्छ, उद्योग त्यही गतिमा चल्छ, राठीले दशैँसम्ममा पूर्ण रूपमा पूर्ववत् अवस्थामा फर्कन्छौँ तर यसपछि कोरोना सङ्क्रमणको जोखिम कस्तो स्वरूपमा फैलन्छ भने ।

सुनसरी–मोरङ करिडोरका उद्योगमा कार्यरत कामदार तथा मजदुरमध्ये पाँच प्रतिशत भारतीय छन् । उद्योगमा प्राविधिक र लेखा प्रणाली हेर्ने भारतीय दक्ष कामदारलाई समेत फर्केर आइसकेका छन् ।

प्राविधिक रूपमा मेसिनको मुख्य अपरेट नै भारतीय छन् भने उनीहरूलाई बोलाएर ल्याउनुपर्ने बाध्यता उद्योगीलाई छ, कोषाध्यक्ष राठीले सुरक्षित भिœयाउने, स्वास्थ्य परीक्षण गर्ने र सुरक्षित तवरले काममा खटाउने कुरालाई हामीले थप जिम्मेवारी ठानेका छौँ भने । यसरी बोलाइएका प्राविधिक जनशक्तिलाई उद्योगहरूले विशेष स्वास्थ्य बन्दोबस्तीसहित परिचालन गरेका हुन् ।

उद्योग परिसरमा अनिवार्य तापक्रम परीक्षण गर्ने, मास्क तथा पन्जाको उपलब्धता, हातधुने साबुनपानीको सुविधा, सेनिटाइजरको प्रबन्ध मिलाइएको उद्योगीले बताएका छन् । जोखिम सबैलाई उत्तिकै रहेकोले मजदुरको सुरक्षासँगै अनावश्यक भीड र कुराकानीका लागि उद्योग प्रशासनले रोक लगाएको छ ।

ट्रेड युनियन महासङ्घ प्रदेश १ का जिफन्टका अध्यक्ष किशोर धमलाले उद्योगहरू खुल्न थालेकोले मजदुरहरू काममा फर्केको बताए । चैतमा मजदुरलाई दिनुपर्ने पारिश्रमिक ९० प्रतिशत उद्योगले दिएनन् । स्थायी कामदारलाई उद्योगहरूले दिए पनि दैनिक ज्यालादारीले पाएनन् । त्यसपछिका महिनामा उद्योगीले बन्दाबन्दी अवधिको आधा रकम दिएका छैनन् ।

समग्र उद्योग ट्रेड युनियन नेपाल प्रदेश १ का अध्यक्ष मनोज मगरले उद्योगीहरूले मजदुरको स्वास्थ्य सुरक्षामा सन्तोषजनक व्यवस्थापन मिलाएको बताए । उनले उद्योगभित्रै सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले मजदुरलाई सिफ्ट विभाजन गरेर काम गरिरहेको बताए तर बन्दाबन्दी अवधिको पारिश्रमिकलाई पेस्कीस्वरूप निकासा गरिएकोले मजदुरहरू अन्योलमा रहेको उनले बताए ।गोरखापत्र दैनिकमा नवराज कट्टेलले खबर लेखेका छन् ।

२०७७ असार १४ गते ०८:१६ मा प्रकाशित

You can share this post!

यी ९८ संस्थालाई पौने सात अर्ब राजस्व छुट, कुनलाई कति छुट ?

यी ९८ संस्थालाई पौने सात अर्ब राजस्व छुट, कुनलाई कति छुट ?

Related posts