back
NMB ad

मापदण्ड बनाएर सवारी चलाउने सरकारको तयारी

Kumari bank ad

काठमाडौँ । सार्वजनिक यातायातका साधन बन्द भएको करिब चार महिना हुन लाग्यो । तर पुनः सञ्चालनबारे अन्योल कायमै छ । सरकार मापदण्ड बनाएर यातायातका साधन चलाउने पक्षमा छ ।

व्यवसायी भने सबै सरोकारवाला निकायसँग छलफल गरेर मात्र चलाउनुपर्नेमा छन् । यसका लागि सोमबारदेखि आन्तरिक छलफल थालेको उनीहरूको भनाइ छ ।

सिट संख्याको आधा मात्र यात्रु राखेर गाडी चलाउनुपर्ने विषय उठे पनि घाटा लाग्ने गरी गाडी चलाउने पक्षमा व्यवसायी छैनन् । लामो समयदेखि सार्वजनिक साधन बन्द हुँदा २१ लाखले रोजगारी गुमाएका छन् । देशभर करिब ४ लाख सवारीसाधन थन्किएका छन् । व्यवसायीले कसरी र कहिलेबाट यातायात चलाउने भन्नेबारे छलफल थालेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा छलफल सुरु भएको हो । ‘हामीले सरोकारवाला निकायसँग छलफल थालेका छौं,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिलेको परिस्थितिमा कसरी गाडी चलाउने र लकडाउन अवधिमा व्यवसायमा बेहोर्नुपरेको क्षतिलगायतबारे छलफल भएको छ ।’ सरकारलाई कसरी गाडी चलाउने भन्नेबारे पहिलो चरणमा जानकारी गराइसकिएको पनि उनले प्रस्ट्याए । देशभरका यातायात व्यवसायी र सरोकारवाला निकायसँग छलफल गरेर राय सुझाव लिएपछि मात्र कहिलेबाट गाडी चलाउन सकिन्छ भन्नेबारे निर्णय हुने उनको भनाइ छ ।

‘सबैसँग छलफल नगरी हामी कुनै निष्कर्षमा पुग्दैनौं,’ उनले भने, ‘छलफल साउन पहिलो सातासम्म चल्छ ।’ त्यति बेलासम्म सरकारबाट केही निर्णय हुन्छ कि भन्ने आस रहेको उनले बताए । थन्किएका गाडी निकाल्ने वातावरण सरकारले बनाउनुपर्ने व्यवसायीको माग छ । गाडी राखेकै ठाउँमा बिग्रिएको, झार पलाएको र खियासमेत लागेकाले मर्मतसम्भार नगरी चलाउन सक्ने अवस्था नभएको उनीहरू बताउँछन् । लकडाउन अवधिको किस्ता तिर्ने समय थप गर्नुपर्ने र सामाजिक दूरी कायम गरेर गाडी चलाउन पाउनुपर्ने सिटौलाको भनाइ छ ।

चाडबाड नजिकिँदै छन् । दसैंतिहार जस्ता चाडमा उपत्यकाबाट घर फर्कनेको लर्को लाग्छ । ‘त्यसैले सबै सरोकारवाला पक्षसँग होमवर्क गरेर मात्र ठोस निर्णय गर्छौं,’ उनले भने, ‘हचुवाको भरमा निर्णय लिन्नौं ।’ सरकारले सार्वजनिक सवारीसाधन कसरी चलाउने भन्नेबारे स्पष्ट खाका नदिएको यातायात व्यवसायीको गुनासो छ ।

यातायात व्यवस्था विभागले भने यातायात सञ्चालनसम्बन्धी मापदण्डको ड्राफ्ट बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको दुई साताभन्दा बढी भइसकेको छ । मापदण्डमा गाडी चलाउँदा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका विषय उल्लेख छन् । विभागका अनुसार चालक, सहचालक र यात्रुले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र गाडीमा डिस इन्फेक्सन गर्नेलगायत विषय पनि मापदण्डमा छन् ।

सिट संख्याको आधा मात्र यात्रु बोक्ने, सकभर नगद कारोबार नगर्ने, नभए गाडीमा बक्सा बनाएर पैसा लिने व्यवस्था मिलाउने विषय पनि मापदण्डमा समावेश छ । यातायात व्यवसायी राष्टिय महासंघले भने सिट संख्याको आधा यात्रु बोकेर गाडी चलाउँदा घाटा हुने भएकाले विस्तृत छलफल नगरी मापदण्ड लागू गर्न नहुने जनाएको छ । विभागले बनाएको मापदण्डअनुसार गाडी चलाउन नसकिने महासंघका महासचिव सिटौला बताउँछन् ।

सार्वजनिक यातायात चलाउनेबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाइ छ । ‘यातायात चलाउन पाउनुपर्ने माग राख्दै दैनिकजसो व्यवसायी आउने गरेका छन्,’ उनले भने, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन ।’ व्यवसायीको गुनासो सम्बन्धित निकायमा सम्बोधनका लागि भनेर पठाउने गरेको उनले जानकारी दिए । सार्वजनिक सवारी सञ्चालनका विषयमा व्यवसायीसँग छलफल भइरहेको उनी बताउँछन् । ‘गाडी थन्किएको धेरै भयो,’ उनले भने,

‘त्यही भएर निर्णय हुन धेरै समय नलाग्ला ।’ उनले पनि अब मापदण्ड बनाएरै यातायात चलाउनुपर्नेमा जोड दिए । व्यवसायीका अनुसार यात्रुवाहक र मालवाहक साधनमा १० खर्ब रुपैयाँ लगानी छ । त्यसमध्ये बैंकको मात्र ७० देखि ८० प्रतिशत लगानी छ । कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ असार २३ मंगलवार ०८:०४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...