काठमाडौं । क्रियाशील दलित पत्रकार संघ, नेपाल (आड्जोन) ले दलित पत्रकारहरुको कोभिड–१९ बिमा गरेको छ । आड्जोनले आफ्नो संस्था तथा विभिन्न मिडियामा आबद्ध दलित पत्रकारहरूको कोरोना बिमा गरिदिएको हो।
आड्जोनले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमार्फत प्रतिव्यक्ति ५० हजार रुपैयाँ बीमांकको दरमा ६२ जनाको बिमा गरेको बताएको छ। उनीहरुको कोभिड–१९ बिमा गत बुधबारदेखि नै लागू भएको छ ।
कोरोना महामारीको बढ्दो जोखिम र कोरोना संक्रमणपछि आर्थिक व्यवभारलाई दृष्टिगत गर्दै उनीहरुको बिमा गरिएको आड्जोनले बताएको छ । साथै, दोस्रो चरणमा थप दलित पत्रकारहरुको पनि कोरोना बिमा गर्ने योजना रहेको आड्जोनकी अध्यक्ष पवित्रा सुनारले बताइन्। ‘पहिलो चरणमा काठमाडौंसहित विभिन्न जिल्लामा कार्यरत ६२ जना दलित पत्रकारहरुको कोरोना बिमा गरेका छौं,’ बाँकी रहेका साथीहरुको दोस्रो चरणमा गर्ने छौं,’ अध्यक्ष सुनारले बताइन्।
कोरोनाको महामारीबीच पनि सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्दै आएका छन्। फलस्वरुप पछिल्लो समय पत्रकारहरु पनि कोरोनाको जोखिममा पर्दै गएका छन् ।
वि.सं.२०७७ साउन ३१ शनिवार १८:३५ मा प्रकाशित