काठमाडौं । मकाउमा पोर्न भिडियो शेयर गरेको आरोपमा ११ नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले करिब तीन साताअघि मोबाइलबाट पोर्न भिडियो शेयर भइरहेको जनाउ दिँदै अनुसन्धान गर्न मकाउ प्रहरीलाई आग्रह गरेपछि सोमबार ती नेपाली पक्राउ परेका हुन् ।
पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पोर्न भिडियो शेयर गरेको स्वीकार गरेको मकाउ प्रहरीले जनाएको छ । उनीहरूले पैसा कमाउने उद्देश्यले नभई साथीभाइलाई मोबाइलबाट भिडियो शेयर गरेको बताएका प्रहरीले जनाएको हो।
स्थानीय टेलिभिजन डी मकाउका अनुसार मे र जुलाई महिनाको बिचमा सेयर गरिएको भिडियो एक बालिकासँग एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्डको रहेको छ, जुन कार्य अपराध मानिन्छ।
पक्राउ परेका ११ जना नेपाली यहाँको कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेको र उनीहरू २१ देखि ३६ वर्ष उमेरका भएको जनाएको छ। उनीहरूले त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर शेयर गरेको र थप अनुसन्धान जारी रहेको बताइएको छ । एजेन्सी
वि.सं.२०७७ भदौ १२ शुक्रवार ०६:५० मा प्रकाशित