मकवानपुर । अविरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ ।
उक्त सडकखण्डको भीमफेदी गाउँपालिका(६ र इन्द्रसरोवर गाउँपालिका-२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ बजेदेखि हेटौँडाबाट कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बाटो खुलेसँगै काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीसाधन सञ्चालनमा आएको छ ।त्यस्तै, हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
वि.सं.२०७७ असोज १२ सोमवार १२:५९ मा प्रकाशित