कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ।
भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षभित्रै ६२ लाख रुपैयाँ लगानी गरी गेट निर्माण गर्न लागेको हो। गेट निर्माणका लागि अस्मिता विल्डर्स प्रालिसँग नगरपालिकाले ठेक्का सम्झौता गरेको छ ।
माघ मसान्त सम्म गेट निर्माणको कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले बताए।
गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने मूर्ति तथा सामग्रीहरू राखिनेछ। महाकाली पुल जोडने पहुँच मार्ग र महाकाली करिडोरको नेपाल प्रवेश बिन्दुमा पनि गेट निर्माण गरिने भएको छ।
‘गेटमै बुद्धको मूर्ति राखिने भएकाले विदेशी पर्यटकलाई बुद्ध जन्मेको देश भनेर परिचित गर्न सकिन्छ,’ नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘भारतबाट नेपाल आउने जानेहरूलाई समेत आपनत्व प्रदान गर्नका लागि गेट निर्माण गरिन लागिएको हो।’
राष्ट्रिय स्वाभिमानलाई आत्मसात गर्दै गेट निर्माणको कार्य गरिने उनले बताए। गत आर्थिक वर्षमा नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्नका लागि सीमा नाकामा ७७ फिट अग्लो नेपालको झण्डा राखेको थियो।
वि.सं.२०७७ कात्तिक २ आइतवार १०:१९ मा प्रकाशित