back
NMB ad

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि “सत्ताविद्रोह”को आरोप

Kumari bank ad

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् ।

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए ।

ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ ।

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गर्नु भएको थियो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।

राष्ट्रपति ट्रम्पका समर्थकको आक्रमणपछि ट्रम्पको पक्षमा रहेका कैयौं सांसदले ट्रम्पको साथ छाडेको घोषणा गरेका छन् । वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक र्यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भिडले संसद भवनमा आक्रमण गरेको थियो । उनीहरुले क्यापिटोल बाहिर सुरक्षार्थ रहेका प्रहरीका “ब्यारिकेड”लाई छिचोल्दै भित्र प्रवेश गरेका थिए ।

उत्तेजक भिडका कैयौं सदस्य संसद भवनभित्र प्रवेश गरेर तोडफोड गर्नुका साथै संसदीय प्रक्रियालाई अबरुद्ध बनाएका थिए । साथै प्रदर्शनकारीमध्ये केहीले सभामुख नान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर उहाँको कुर्सीमा बसेर तस्वीर समेत खिचाएका थिए ।

संसद भवन क्यापिटोलभित्रका आक्रमणकारीलाई बाहिर निकाल्न प्रहरीलाई चार घण्टा लागेको थियो । प्रहरीले दक्षिण क्यालिफोर्निया निवासी एक ट्रम्प समर्थकको गोली लागेर मृत्यु भएको थियो । तर पछिल्लो समय प्रहरीले उक्त घटनामा चार जनाको मृत्यु भएको जनाएको छ ।

बाइडेनले उक्त हिंसालाई “राज्य विद्रोह” संज्ञा दिनु भएको छ । उहाँले राष्ट्रपति ट्रम्पलाई तत्कालै हिंसामा संलग्नलाई शान्ति कायम गर्नका लागि आह्वान गर्न आग्रह गर्नु भएको थियो ।

“हाम्रो प्रजातन्त्र अभूतपूर्व आक्रमणको निशानामा परेको छ,” बाइडेनले आफ्नो गृहराज्य डेलावेयरबाट भन्नुभयो । “यो मतभेद होइन । यो अव्यवस्था हो । यो अराजकता हो । यो राज्य विद्रोह सरह हो । यसको तत्कालै, अहिल्यै अन्त हुनु पर्दछ ।”

राष्ट्रपति ट्रम्पले तत्कालै एक भिडियो सार्वजनिक गर्दै आफ्ना समर्थकलाई घर फर्कन अनुरोध गर्नु भएको थियो तर उहाँले उक्त भिडियोमा चुनावमा धाँधली भएको पुनः दोहोर्याउनु भएको थियो । “हामी पनि शान्ति चाहन्छौं । त्यसैले घर जानुहोस् । म तपाईंलाई माया गर्दछु –– तपाइँहरु साँच्चिकै विशिष्ट हुनुहुन्छ ।”

फ्लोरिडाबाट आएकी ट्रम्प समर्थक ४३ वर्षीया सोन्या फिट्जेराल्डले संसद भवन क्यापिटोलको सिँढीमा उभिएर भन्नुभयोः “तपाईंहरुले यस घटनालाई इतिहासको पानामा पढ्नु हुनेछ ।”

यसैबीच, सामाजिक सञ्जाल कम्पनीहरु ट्वीटर र फेसबुकले राष्ट्रपति ट्रम्पका अकाउन्टलाई अस्थायी रुपमा रोक लगाएका छन् । उनीहरुले ट्रम्पका ट्वीटहरुले देशव्यापी हिंसा भड्काएको भन्दै अकाउन्ट बन्द गरेको जनाएका छन् । यदि ट्रम्पले गलत रबैया जारी राखे ट्वीट र फेसबुक दुबैले स्थायी रुपमा अकाउन्ट बन्द गरिदिने घोषणा गरेका छन् ।

डेमोक्रेटिक पार्टीले जर्जियाको दुबै सिनेट सदस्यमा विजयी हासिल गरेको समाचार सार्वजनिक भएलगत्तै संसदमा आक्रमण भएको छ ।

जर्जियामा डेमोक्रेट पार्टीको विजयले अमेरिकी माथिल्लो सदनमा अब डेमोक्रेटको बहुमत कायम भएको छ भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि डेमोक्रेटको बहुमत छ । दुबै सदनमा डेमोक्रेटको बहुमत कायम भएकाले अब राष्ट्रपति निर्वाचित जो बाइडेनले आफूले चाहेका विधेयकहरु सहजै पारित गराउन सक्नु हुनेछ ।

इतिकासकारको भनाईमा अमेरिकी संसद भवन क्यापिटोलमा यो दोस्रो पटक हमला भएको हो । यसअघि सन् १८१२ को युद्धमा बेलायती सेनाले क्यापिटोलमा आक्रमण गरी आगो लगाइदिएका थिए ।

दुई सय वर्षभन्दा बढी समयदेखि अमेरिकी संसद अर्थात् कङ्ग्रेसको संयुक्त सदनले नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई सहज र शान्तिपूर्वक प्रमाणीकरण गर्ने प्रचलन थियो । अमेरिकी संविधान र कानुन बमोजिम अमेरिकी दुबै सदनले अमेरिकी मतदातालाई जिताएर पठाएका इलेक्टोरल मतलाई गणना गरी त्यसलाई प्रमाणित गर्ने र संयुक्त सदनले राष्ट्रपति निर्वाचित भएको अन्तिम घोषणा गर्दछ ।

संसदको संयुक्त सदनले घोषणा गरेका राष्ट्रपतिले जनवरी २० मा विशेष सार्वजनिक कार्यक्रमबीच सपथ लिने कार्यक्रम राखिने गरिन्छ । तर यसपटक राष्ट्रपति ट्रम्पले आफ्ना समर्थक रिपब्लीकन सांसदहरुलाई इलेक्टोरल मतका सन्दर्भमा भिन्न मत राख्न र प्रतिवाद गर्न आग्रह गर्नु भएको थियो ।

तर कङ्ग्रेसले राष्ट्रपति ट्रम्पको आग्रहलाई अस्वीकार गरेको थियो । पहिलो गणना एरिजोना राज्यको गरिएको थियो, जसमा बाइडेन विजयी भएका थिए । तल्लो सदनका १२१ जना रिपब्लीकन सांसदले एरिजोनाको नतिजालाई लिएर विमति राखेका थिए तर सिनेटका ६ जना रिपब्लीकन सदस्यले मात्र पक्ष लिए ।

सिनेटका रिपब्लीकन सदस्यहरुले जर्जिया र मिचिगनमा पनि बाइडेन नै विजयी भएको भन्दै सहमति जनाएसँगै थप छलफल र बहस आवश्यक नै भएन ।

राष्ट्रपति ट्रम्पको कार्यकालभर ट्रम्पका कट्टर समर्थकका रुपमा चिनिएका सिनेट रिपब्लीकन नेता मिच म्याक्कोनेलले ट्रम्पको अनुरोध स्वीकार्न कठिन भएको प्रतिक्रिया दिनुभएको थियो । “मतदाता, अदालत र राज्यहरु सबैले बोलिसके । यदि हामीले उनीहरुलाई विश्वास नगर्ने हो भने यसले हाम्रो गणतन्त्रलाई सदाका लागि नोक्सानी गर्नेछ ।”

पूर्व राष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसले लोकतान्त्रिक मुलुकका लागि राष्ट्रपति ट्रम्पको व्यवहार अमेरिकाका लागि लज्जाजनक रहेको बताउनु भएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकाल मुश्किलले दुई हप्ता रहेको छ । तर धेरैवटा समाचार संस्थाले राष्ट्रपतिको मन्त्रिपरिषदका सदस्यहरुबीच राष्ट्रपति ट्रम्पलाई तत्काल बर्खास्त गर्नेबारे पनि छलफल भएको बताएका छन् । अमेरिकी संविधानको २५औं संशोधनका आधारमा राष्ट्रपति कार्यकारी भूमिकामा रहन अयोग्य रहेको अवस्थामा राष्ट्रपतिलाई पदच्यूत गर्न सकिने व्यवस्था छ ।

संसदीय न्यायिक समितिका सबै डेमोक्रेट सदस्यहरुले उपराष्ट्रपति माइक पेन्सलाई लेखिएको पत्रमा राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन र सामाजिक अस्थिरता ल्याउन भूमिका निर्वाह गरेकाले तत्काल पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ ।

अमेरिकी संविधानमा राष्ट्रपति स्वेच्छाचारी भएमा उनलाई उपराष्ट्रपतिले पदच्यूत गर्न सक्ने प्रावधान पनि रहेको छ । तर चार वर्षसम्म ट्रम्पका अति विश्वासपात्र रहेका उपराष्ट्रपति पेन्सले एक वक्तव्य जारी गरी आफूलाई त्यस किसिमले हस्तक्षेप गर्नसक्ने अख्तियारी नभएको जिकिर गर्नु भएको छ ।

बुधबारको हिंसा भड्किनुअघि ह्वाइट हाउस बाहिर भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संसद भवनसम्म मार्च गर्न उक्साउनु भएको थियो ।बाइडेनले गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा ३०६–२३२ इलेक्टोरल मतले राष्ट्रपति ट्रम्पलाई पराजित गर्नु भएको थियो । रासस/एएफपी

वि.सं.२०७७ पुस २३ बिहीवार १३:१६ मा प्रकाशित

You can share this post!

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३८

काठमाडौँ, ६ चैतः प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।...

किसानलाई पशु बीमा गर्न कठिन   

किसानलाई पशु बीमा गर्न कठिन   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३३

गल्याङ (स्याङ्जा), ६ चैत: स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा...

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...