back
NMB ad

राष्ट्रिय गौरवको बेनी-कोरला सडक आयोजनाः म्याग्दी खण्डमा चरम ढिलासुस्ती

Kumari bank ad

म्याग्दी । उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ ।

सामान्य मार्ग निर्माण सकिएसँगै स्तरोन्नतिका लागि २०७३ मङ्सिरदेखि सो करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो ।

निर्माण अवधि सकिएको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति गर्ने योजना अघि बढेको थियो ।

विसं २०७६ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी ७६ किलोमिटरको बेनी –जोमसोममा चार र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सात प्याकेजसहित निर्माण अघि बढाइए पनि अहिलेसम्म बेनी –जोमसोममा ४५ र जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी अश्विनकुमार यादवले जानकारी दिए ।

उनका अनुसार मुस्ताङदेखि कोरला खण्डको काम आगामी जेठभित्रै सम्पन्न गर्ने तयारी गरिएको तथा बेनी–जोमसोम खण्डको काम सकिन अझै एक वर्ष लाग्ने देखिएको छ ।

‘‘आयोजना गत वर्ष नै सकिनुपर्ने हो, एक वर्ष समय थपिएको पनि मङ्सिरमा सकिएको छ, फेरि एक वर्षसम्म समय थप गर्ने र निर्माण कम्पनीलाई आवश्यक स्रोत, जनशक्तिका साथ परिचालन गर्ने योजना छ’’,उनले भने । बेनी–जोमसोम खण्डमा म्याग्दी क्षेत्रको प्रगति गत वर्षको तुलनामा थप घटेको छ ।

बर्खायाममा बाढी र पहिराले गत वर्ष बनाइएका संरचनामा समेत ठूलो क्षति पु¥याएपछि ५५ प्रतिशतमा पुगेको प्रगति ४५ प्रतिशतमा झरेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम खण्डको ३८(३८ किलोमिटरको म्याग्दी र मुस्ताङ भागमध्ये म्याग्दीतर्फको प्रगति न्यून छ । जोमसोमदेखि कोरलासम्म ५५ किमी सडक स्तरोन्नतिको काम सकेर हस्तान्तरण भइसकेको छ भने बाँकी ५५ किमीमध्ये ३१ किमीको काम अन्तिम चरणमा पुगेको छ ।

करिडोरअन्तर्गत अहिलेसम्म पनि काम शुरु हुन नसकेको पर्वतको मालढुङ्गादेखि बेनीसम्मको १३ किमी सडकको समेत ठेक्का प्रक्रियामा र छ । पर्वत र बागलुङ कताबाट सडकलाई अघि बढाउने भन्ने निक्र्योल नहुँदा अन्योल बनेको सो खण्डलाई पर्वत हुँदै बेनी आउने सडकलाई नै विस्तार गर्ने गरी आयोजनाले ठेक्का आह्वान गरिसकेको छ ।

आगामी फागुनदेखि नै सो खण्डमा पनि निर्माण कम्पनी परिचालन भइसक्ने आयोजनाले जनाएको छ । चार वर्षदेखि सञ्चालनमा रहेको कुल सात अर्ब ७५ करोड लागत अनुमानको सो सडक आयोजनामा अहिलेसम्म ४३ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ ।

आयोजनाअन्तर्गत सडक स्तरोन्नतिसँगै विभिन्न खोलामा पक्की पुलसमेत निर्माणले तीव्रता पाएको छ । बेनीदेखि कोरला नाकासम्मको सडक खण्डमा विभिन्न ३४ ठाउँमा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि २० ठाउँको पुल ठेक्का लगाइसकिएको र अहिलेसम्म तीन स्थानको पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुलको समेत ठेक्का लगाउने तयारी छ ।

कामले अझै पाएन तीव्रता

गत चैतदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी जारी गरेको बन्दाबन्दीका कारण ठप्प आयोजनाको कामले अहिलेसम्म पनि तीव्रता पाउन सकेको छैन ।

सरकारले बन्दाबन्दी खुलाएको र बर्खायाम सकिएर हिउँदसमेत बितिसक्दा निर्माण कम्पनीहरूले अझै पनि पूर्ण क्षमतामा कार्यक्षेत्रमा जनशक्ति र उपकरण परिचालन गर्न नसकेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

‘‘म्याग्दीतर्फको काम न्यून देखिएको छ, कहीँकतै मात्रै काम भएको देखिन्छ, यसबारेमा पटकपटक सम्बन्धित निर्माण कम्पनी र आयोजनाका प्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउँदै आएका छौँ, हिउँदयाममा समेत कार्यक्षेत्रमा उल्लेख्य जनशक्ति र मेसिन, उपकरण परिचालन नगर्नाले आयोजना थप पछि धकेलिने जोखिम बढेको छ’’, उनले भने ।

जोमसोमदेखि माथिको खण्डमा चिसो बढेसँगै गत मङ्सिर पहिलो सातादेखि निर्माण नै रोकिएको छ । आयोजनाका सूचना अधिकारी यादवका अनुसार जोमसोम–कोरला खण्डको काम आगामी जेठभित्रै सकिने र बेनी–जोमसोम खण्डमा समेत चैतदेखि कालोपत्रेको काम शुरु गर्ने गरी निर्माण कम्पनीहरूलाई ताकेता गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले करिडोरअन्तर्गत ढिलासुस्ती भएका खण्डहरूको कामलाई यथाशक्य चाँडो तीव्रता दिन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको र आयोजनालाई समेत आग्रह गरिएको बताए । ‘‘म्याग्दी खण्डको कामलाई नजीकबाट अवलोकन गरिरहेका छौँ, कहाँकहाँ अवरोध र समस्या छन्, त्यो भन्नुहोस्, हामी सहजीकरण गर्छौँ तर मुख्य काम गर्ने यस याममा जनशक्ति र मेसिन उपकरण पूर्ण क्षमतामा परिचालन गर्नुहोस् भनेका छौँ’’, प्रजिअ अधिकारीले भने ।

कहाँ कति प्रगति

आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएका निर्माण कम्पनीमध्ये शर्मा युनाइटेडले ४५ प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत र कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।

आयोजनाअन्तर्गत जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले र ताङ्वेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले गत वर्ष नै स्तरोन्नतिको काम सकेर सडक हस्तान्तरण गरिसकेका छन् ।

चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानेले ८५ प्रतिशत निर्माण सक्दा भेनादेखि झैटेसम्म कञ्चनजङ्घा लामा बिरुवाले सबै काम सकेको छ ।

झैटेदेखि चराङसम्म कञ्चनजङ्घा लामा मोतीदान जेभीले ८५ प्रतिशत र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सकेका छन् । छोसेरदेखि कोरलासम्मको १६ किमी सडक दिवा रौतहा एपेक्स जेभीले दोस्रो वर्षमै स्तरोन्नतिको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा चासो र चर्चा पाइरहेको कालीगण्डकी करिडोरसँग आसपासका क्षेत्रको भाग्य र भविष्यसमेत जोडिएको छ ।

राष्ट्रको समृद्धि र विकासको दीर्घकालीन लक्ष्यका लागि समेत वरदान सावित बन्ने देखिएको आयोजनाका काममा विभिन्न कारणवश भएका ढिलासुस्तीलाई हटाउँदै अघि बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...