कागतीका बिरुवामा मुना : किसानमा पलायो आशा

बागलुङ । कान्लामा रहेका चिलौनेका रुखको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाएका रुखको ठुटो कुहिदैगर्दा खेतका गरा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको रुप धारण गर्दै छ ।

बिरुवामा मुना मात्रै पलाएका छैनन् तिनै मुना हेरेर दङ्ग पर्ने किसानका मनमा आशा पनि पलाएको छ । बागलुङ नगरपालिका–१२ को सहेलामा रहेको ठूलो फाँट यतिबेला कागतीका बिरुवामा पलाएको मुनाले सिँगारिएको छ ।

रुख र झारपात फाँडेर उजाड देखिने खेत नजिकैबाट नियाल्दा भने भविष्यको भाषा बोलिरहेको हुन्छ । खेती छाडेर खाडल खनेर कागतीको बिरुवा लगाउँदा धेरैले खेत बाँझो राखेको भनेर किसानलाई गाली गरेका थिए ।

अहिले हुर्किंदै गरेका कागतीका बिरुवाले प्रश्नहरुको जवाफ दिइरहेका छन् । सहेलाको यो फाँटमा रहेको खेतको मोही भने धेरै बागलुङ नगरपालिका– १४ मा बस्छन् । अर्माह गाउँमा बस्ने ४० किसानको समूह छ । ‘चासो किसान समूह’ले जमिन एकीकृत गरेर कागती लगाएको हो ।

“आम्दानीका लागि क्रमभङ्गता गर्नेपर्ने थियो, त्यो साहस हामीले ग¥यौं’, समूहका अध्यक्ष केशव सुवेदी भन्छन्, “बिरुवा रोप्ने बेलासम्म के कसो हुने हो भन्ने थियो, अहिले मुना पलाए, हाम्रो आश जागेको छ ।” परम्परागत खेती प्रणालीले खर्चसमेत नउठेपछि बाली परिवर्तनमा लागेको सुवेदी बताउछन् । तीनसय रोपनी जमीनलाई एकीकृत गरेर कागती खेती थालिएको छ । यो वर्ष दुई हजार एकसय बिरुवा रोपिएको र बाँकी जमीनमा अर्को वर्ष बिरुवा लगाउने योजनामा किसान छन् ।

“हाम्रो सिकाइ पनि हो एकै पटक लगाउँदा उत्पादन पनि एकै खालको हुन्छ”, सुवेदी भन्छन्, “बिरुवा जस्तै उत्पादनमा पनि विविधताको लागि हामीले क्रमशः काम गर्ने सोच बनायौं ।” छिटो उत्पादन लिन हाँगा नर्सरी गरिएका बिरुवा र बीउबाट निकालिएका बिरुवा दुबै लगाइएको छ ।

किसानले कागती खेती आफ्नै बलबुताले शुरु गरेका हुन् । अहिले भने सरोकारवाला निकायको ध्यान तानिएको छ । एक रोपनी जमीनको प्रतिवर्ष पाँच हजार उपलब्ध गराउने गरी जमीन एकीकृत गरिएको थियोे । यो वर्षको वर्षे फसल आउने समयमा जग्गाधनीलाई रकम उपलब्ध गराइने छ ।

अधिकांश किसान समूहमा आबद्ध रहेकाले उनीहरुको शेयर वृद्धि गर्ने योजनामा समूह छ । अहिले सय रोपनी जमीनमा बिरुवा लगाइएको छ । बाँकी २०० रोपनी जमीनमा बिरुवा लगाउन स्थानीय सरकार र सरोकारवालको समेत चासो बढेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

“हामीले यो काममा प्रोत्साहन गर्छौं, किसानले समूहमा उत्पादन गर्न थाले भने आम्दानी र रोजगारी दुबै बढ्छ”, खत्रीले भने, “वडा, नगर र प्रदेशका कार्यक्रममा यो परियोजना समावेश हुन्छ ।” नगरपालिका वडा कार्यालयका साथै कृषिसँग सम्बन्धित सरकारी कार्यालयसमेत उनीहरुको खेती हेर्न पुग्न थालेका छन् ।

बिरुवा, सिँचाइ र व्यवस्थापनको लागि सहयोग जुट्न थालेको समूहले जनाएको छ । दुई जना किसानलाई कर्मचारीको रुपमा परिचलन गरेर खेतीको रेखदेख, मल र सिँचाइ गर्न थालिएको अगुवा किसान ढाकाराम सुवेदीले बताए ।

अहिले मुना पलाएको कागतीले चार वर्षमा फसल दिने उनले बताए । समूहले दुई हजार १०० बिरुवाका लागि मात्रै ४० लाख खर्च भएको जनाएको छ ।

अझै बाँकी जमीनमा बिरुवा लगाउँदा खर्च बढ्छ । “अहिलेको खर्च मात्रै हेरेका छैनौं, भोलिको आम्दानीको पनि हिसाब गरेर काम थालेका हौ”, सुवेदीले भने,“पहेँलपुर कागती सुन जस्तै टल्काउने लक्ष छ ।” चार वर्षपछि एउटै बिरुवाले दश बिरुवा बराबरको खर्च उठाउने उनले विश्वास व्यक्त गरे । बजारमा कागतीको माग र मूल्य राम्रो रहेकाले उनीहरुले व्यावसायिक खेती थालेको बताए ।

अहिले स्थानीय बजारमा कागतीको मूल्य प्रतिकिलो २२० पर्छ । एउटा वयस्क कागतीको राम्रो बोटले वर्षमा १०० किलोभन्दा धेरै उत्पादन दिनसक्छ । उनीहरुले कागतीका लागि मल र किसानको थप सहभागिता वृद्धिका लागि सोही जमीनमा गाई फार्म र भित्री बालीकोसमेत योजना बनाएका छन् ।

२०७७ माघ ७ गते १३:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय गौरवको योजना : मदन भण्डारी मार्ग निर्माण तीव्र गतिमा

राष्ट्रिय गौरवको योजना : मदन भण्डारी मार्ग निर्माण तीव्र गतिमा

Related posts