back
NMB ad

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

Kumari bank ad

भोजपुर । जिल्लामा राष्ट्रिय तथा अन्तरार्ष्टिट्रय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ ।

पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षणमा स्थानीय तथा प्रदेश– १ सरकार जुटेका छन् ।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा– बैकुण्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर– दिङ्ला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलो बौद्ध विहार–टक्सार, च्याङ्ग्रे पोखरी– च्याङ्ग्रे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत छन् ।

त्यस्तै बेहेश्वर मन्दिर– भुल्के, हतुवागढी, अरुणको कात्तिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चे बजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् । सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो, जसको उचाइ चार हजार १४३ मिटर छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश – १ सरकारसँंगै स्थानीय तहले प्राथामिकता निर्धारण गरेका छन् ।

मुन्धुम पदमार्ग

सङ्घीय सरकारले निर्धारण गरेको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश– १ सरकार, स्वीस सरकार र टेम्केमैयुङ गाउँपालिकाको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । पाँचधारेबाट सिलिचुङ चुचुरासम्ममा करीब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ निर्माण भइरहेको टेम्केमैयुङका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

पदमार्गका लागि दुई करोड लागतमध्ये पहिलो चरणमा ९९ लाख बराबरको काम हुनेछ । दोस्रो चरणमा चियाघर, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँंगै पर्यटकका लागि खाना–बस्नका लागि अन्य संरचना निर्माण हुने बताइएको छ ।

विशेष गरेर विदेशी पयर्टकलाई लक्ष्य गरेर निर्माण हुँदै गरेको पदमार्गमा सिमेन्ट प्रयोग नगरी स्थानीयस्तरको स्रोतसाधनको प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचा निर्माण हुने निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिए ।

सो पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । पहिलो चरणको पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश –१ सरकारले तीन हजार ११० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ‘टेम्के डाँडामा भ्यु टावर’ निर्माणको काम थालनी गरेको छ ।

सरकारले किराँत राईहरुको संस्कृति झल्कने तरिकाबाट टावर निर्माण गर्न लागेको हो । यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीयवासीको संस्कार, संस्कृतिको पहिचान जोगाउन सहयोग पुग्ने प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले बताए । सो टावर नेपालकै एक नमूना बनाइने उनको जिकिर छ । यसलाई किराँत पहिचानका रुपमा चिन्डो आकारमा वि.सं २०८२ सम्म निर्माण गरिने छ ।

सो डाँडाबाट तराईका फाँटसँंगै सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्सेलगायत आठ हजार मिटर अग्ला ६ र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको १३ करोड ६२ लाख लागतमा टावर बन्ने भएपछि स्थानीयवासीमा उत्साह थपिएको हो । भ्यु टावरको शिलान्याससँगै आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको स्थानीयले बताउने गरेका छन् । सो डाँडाबाट नजीकै रहेको तावा भञ्याङमा पोखरी निर्माणसमेत बनाइने प्रदेश सरकारको योजना छ ।

सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा वर्षमा दुई पटक मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीले बताउने गरेका छन् ।

त्यस्तै पौवादुङ्मा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँंगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, ‘दोस्रो हलेसी’सन्तानेश्वर मन्दिर, दुङ्माली भाषा संरक्षण केन्द्र, च्याङ्ग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो ।

गाउँपालिका केन्द्र नजीकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित ५० लाख लागतमा बाटो निर्माणको काम सम्पन्न भएको छ । ऐतिहासिक कोटगढीको संरक्षण तथा विकासमा ध्यान दिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने, ‘‘गाउँपालिकालाई आर्थिक रुपमा विकास गर्नका लागि अन्य क्षेत्रसंँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौँ, मुख्य पर्यटकीय क्षेत्रको विकासका लागि डिपिआर तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारसँंग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।’’

भावीयोजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, (डिपिआर बनिरहेको) गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा, आहाललगायत पर्यटकीय क्षेत्रको विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।

स्थानीयवासी ज्ञानेन्द्र राईले भने, ‘‘गाउँपालिकाले पर्यटकिय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकिय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुसी लागेको छ, यसले आर्थिक विकाससंगै ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने देखिन्छ ।

त्यसैगरी दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले पनि आफ्नो क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर विकास विस्तार गर्न थालेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । त्यस्तै प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटकीयस्थल शङ्खमचुलीमा भ्यु टावर निर्माण भइरहेको छ । अन्य पर्यटकिय क्षेत्रको समेत डिपिआर तयार गरेर काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

रामप्रसादराई गाउँपालिकाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नाँग छाँगा, चुलाचुली गुफा, गोल्मेभिरलगायत स्थानलाई आफ्नो आर्थिक स्रोतका रुपमा विकास गर्न डिपिआर तयार गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा हालसम्ममा एक करोडभन्दा बढी लगानी गरिसकेको गाउँपालिका उपाध्यक्ष सम्झनाले जानकारी दिइन् ।

उत्तरी क्षेत्रमा अवस्थित दिङ्लाको षडानन्द नगरपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ । शिक्षाको ज्योति फैलाउने बालागुरु षडानन्दको सम्मानस्वरुप प्रदेश –१ सरकारको ६ करोड लागतमा बहुउद्देश्यीय धर्मशालाको निर्माण भइरहेको छ ।

त्यस्तै नगरपालिकाले तत्काललाई १५ लाख बजेटको व्यवस्था गरेर आफ्ना क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको खोजी गर्दै संरक्षण तथा विकासका लागि कामको थालनी गरिसकेको नगरपालिका उपप्रमुख मेरिका राईले जानकारी दिइन् ।

उनका अनुसार नगर क्षेत्रमा योगमायाको समाधिस्थल मजुवाबेँसी, कैलाश डाँडा, रामचन्द्र मन्दिर, रानीवन चित्रगुप्तालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विस्तार भइरहेको छ ।

त्यस्तै वडा–३ खार्ताम्छामा १३९ मिटर उचाइको जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना विकासको काम भइरहेको छ । फाली दोबाटो, चाँप डाँडा, भोटेछाप, साउने झर्ना, टाइगर झर्नालगायतको पनि विकास र विस्तार भइरहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै यही महिनादेखि नगरपालिकाको पखुवाभञ्याङबाट ७१ लाख लागतमा १२ किलोमिटर मुन्धुम पदमार्ग निर्माणको थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिकामा रहेका महभीर झर्ना, माक्सा झर्ना, सावा झर्ना, भोजपुर मझौलेमा रहेको सिरवानी पोखरी, मलवा पोखरीलगायत प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार जुटेको छ ।

टेम्केमैयुङ– १ सावामा गाउँपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त लगानीमा सामूहिक घरबास पर्यटन सञ्चालनमा ल्याइएको छ ।

छिनामखुमा पनि प्रदेश– १ सरकार तथा गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा छ । यहाँ सञ्चालन भएका घरबासमा स्थानीय परिकारसँगै स्थानीय संस्कार र संस्कृतिको प्रवर्द्धन गरिने गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १६:४७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...