उद्योगी, व्यवसायीहरुले सधैंभरी लगानीको लागि अवसर खोज्ने गर्दछन् । त्यो अवसर दिलाउने काम सरकारको हो । यसमा सरकारले सहयोग गर्नैपर्छ । उद्योगी व्यवसायी सँधै नै सरकारसँग लगानीको लागि अवसरको साथै नीतिगत स्पष्टता र त्यसको निरन्तरता होस भन्ने चाहेका हुन्छन् । यो सबैलाई आवश्यक पर्ने गर्दछ ।
देशमा आर्थिक विकास गर्ने हो भने, समृद्धि ल्याउने हो भने, गरिबी न्यूनिकरण गर्ने हो भने, आन्तरिक रोजगारी बढाउने, लगानीको वाताबरण बनाउने हो भने नेपालको भू-राजनीतिक अवस्थाले हेरेर सरकारले उद्योगीहरुलाई प्रतिस्पर्धात्मक वातावरण सृजना गर्नुपर्छ । भौगोलिक रुपमा हाम्रो देश नेपाल सानो छ । यहाँ उत्पादन न्यून छ । हामीले धेरै सामान आयात गर्ने गरेका छौं । तर यहाँ गर्ने हो भने धेरै नै सम्भावना छ । त्यसमा सरोकारवाला पक्षको ध्यान किन गएन ? प्रश्न यहाँ छ ।
सरकारले उद्योगी, व्यवसायीलाई प्रतिस्पर्धात्मक बनाउने, प्रतिस्पर्धामा जानको लागि कसरी हुन्छ क्षमता बढाउने तर्फ सोच्न आवश्यक छ । त्यसको लागि उपयुक्त समय पनि यही नै हो । कोरोनाको कारण नेपाल मात्रै नभएर विश्व नै अस्तव्यवस्त बनेको छ । जसको असर नेपालमा पनि परेको छ । यो बेलामा सरकारले उद्योग, व्यवसायलाई संरक्षण गर्नु पर्यो भन्ने उद्योगी, व्यवसायीहरुको माग रहेको छ र आज व्यवसायीहरुको माग पनि यही नै हो । चाँडो भन्दा चाँडो सरकारको नेपालमा भएका उद्योगलाई कसरी प्रतिस्पर्धी बनाउने हो भन्नेमा ध्यान जानु पर्यो ।
नेपालमा घरेलु तथा साना उद्योगले राजस्व तथा रोजगारीमा धेरै नै योगदान दिएका छन् । कोरोनाका कारण घरेलु, साना तथा मझौला व्यवसायबाट कर्मचारी बेरोजगार हुनु परेको, कतिपय उद्योग नै बन्द भएका छन् । यो अवस्थामा साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने मैले देखेको छु ।
सरकारले पनि साना तथा मझौला उद्योगमा धेरै नै ध्यान दिन आवश्यक छ । मसलन्द तथा शैक्षिक सामग्री उत्पादन गर्ने उद्योगी साना तथा मझौला व्यवसायी हुन् । कोरोनाका कारण उहाँहरुलाई धेरै समस्या भएको छ ।
सरकारले साना तथा मझौला उद्योगलाई राहत दिने त भन्यो । तर त्यसको लागि बनेको निर्देशिकाले गर्दा समस्या भएको छ । निर्देशिकाकै कारण कयांैले राहत पाउन सकेनन् । सरकारले पुर्नकर्जाको सुविधा पनि पाउन सकेनन् । त्यस विषयमा पनि सरकारले ध्यान दिन आवश्यक छ ।
उद्योग वाणिज्य महासंघमा आएको नयाँ नेतृत्वले भिजन पत्र तयार पारिरहेका छौं । महासंघको कार्यसमितिको बैठकमा त्यसको पहिलो चरणको छलफल भएको छ । हामी सबै व्यवसायी, वस्तूगत संघ, जिल्ला संघ, नगर संघ लगायत सबैमा भिजन पत्रको विषयमा छलफल गर्ने तयारीमा छौं । त्यसमा साना तथा मझौला उद्योगहरुलाई कसरी-कसरी अघि लैजाने भन्नेमा पनि केन्द्रित रहेछ छलफल हुनेछ ।
यसको उद्देश्य भनेको भनेको कसरी दोहोरो अंकमा आर्थिक वृद्धि गर्न सकिन्छ ? श्रम बजारमा ५ लाख मजदुरलाई कसरी ल्याउन वा रोजगारी दिन सकिन्छ भन्ने नै हो । त्यो विषयमा हाम्रो बढी चासो रहेको छ । त्यसको लागि सबैले हामीलाई उचित, रचनात्मक सुझाव दिनुहोला । हामी सबै क्षेत्रमा सूझाव लिन आउने नै छौं ।
नेपाललाई सामाजिक, आर्थिक रुपान्तरण गरी नयाँ दिशामा लैजानको लागि वा आर्थिक समृद्धिको लागि हामीले जुन प्रयास गरेका छौं, त्यसमा सबै उद्योगी व्यवसायीको साथ हुने नै छ ।
साना तथा मझौला उद्योगीले समयमा नै ऋण पाएनन्, ऋण लिन समस्या भयो भनेर महासंघले बैंकर्ससँग सम्झौता गरेको छ । जसमा हामीले साना मझौला व्यवसायीलाई ऋण दिन भएको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर सम्झौता गरेका छौं । हामीलाई के आशा छ भने त्यो सम्झौताले भोलीको दिनमा साना, मझौला ऋणीलाई ऋण दिने व्यवस्थामा सुधार हुने नै छ ।
नेपालको अर्थतन्त्रलाई अगाडि बढाउको लागि सबै अवरोध चिर्न जरुरी छ । राजनीतिक स्थायित्व बिना आर्थिक समृद्धि सम्भव छैन । त्यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।
(लक्ष्मी ग्रुपका कार्यकरी निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं बार्षिक साधारणसभामा दिएको मन्तव्य)