back
NMB ad

भूकम्पपछिको ६ वर्षः ९३ प्रतिशत घर बने, साढे ३ खर्ब बढी खर्च

Kumari bank ad

काठमाडौं । विनासकारी भूकम्प गएको आज ६ वर्ष पुरा भएको छ । ६ वर्ष अघि २०७२ वैशाख १२ गते १२ बजे गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । यो अवधिमा  भूकम्पले क्षति पुर्याएको विभिन्न भौतिक संरचनाको पुनर्निर्माण भइसकेको छ भने केही अझै पुननिर्माणको क्रममा नै रहेको छ ।

हिजो शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको छ । यस्तै रानीपोखरी, दरबार हाईस्कुलको पुनर्निर्माण भइसककेको छ ।  भूकम्पका कारण ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवं पुरातात्विक सम्पदासहित ठूलो संख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्पप्रतिरोधी ढंगले पुनर्निर्माण भइसकेको पुनर्निर्माण प्राधिकरणले जानकारी गराएको छ ।

पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैयाँ हो । यसमध्ये हालसम्म चैत्र मसान्त कूल ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भैसकेको छ ।

प्राधिकरणका अनुसार पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवास निर्माण ९३ प्रतिशत सकिएको छ । प्राधिकरणका अनुसार ८ दाख ११ हजार ७५४ जनाले अनुदान सम्झौता गरिसकेका छन् । लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ ।

पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको प्राधिरणले जानकारी गराएको छ । यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने प्राधिकरणको तर्क छ ।

निजी आवास पुनर्निर्माणका जनताको ६ लाख ३४ हजार ९७३ वटा गुनासा सम्बोधन भएको छ । प्राधिकरणबाट भएको गुनासो सुनुवाईमा पनि चित्त नबुझ्नेहरुका लागि जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत् समस्या समाधान गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।

विपन्न वर्गका लाभग्राहीहरुको घर पुनर्निर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालकहरुको परिचालनसहित बिशेष अभियान अघि बढाएको जनाएको छ ।

भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ भने १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने भएको छ । क्षतिगस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने २८८ वटा पुनर्निर्माण भइरहेका छन् ।

भूकम्पले क्षति पुर्याएर मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ वटाको पुनर्निर्माण कार्य भइरहेको छ ।

भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन् । १ लाख १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २९६ को पुनर्निर्माण जारी छ । यस्तै, कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ कि.मी. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकीको पुनर्निर्माण चालु आव भित्रै सम्पन्न हुने प्राधिकरणको तर्क छ ।

पुनर्निर्माणका लागि दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ रहेको छ । सरकारबाट प्रतिबद्धता भएको २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको छ । यसमध्ये २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ ।

यसका अलावा गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भई करिव ७२ अर्ब रुपैयाँ परिचालन भएको छ । पुनर्निर्माणमा दातृ निकायबाट प्रतिबद्धता भएको सत प्रतिशत् रकम परिचालन हुने सुनिश्चत भएको छ ।

भूकम्पले पुर्याएको क्षती

भूकम्पले १४ वटा जिल्लालाई अति प्रभावित बनाएको थियो भने १८ वटा जिल्ला कम प्रभावित भएका थिए । भूकम्पका कारण ८ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।

भूकम्पका कारण १० लाख निजी आवासमा क्षती पुर्याएको थियो । सरकारी भवन ४१५, १ हजार १९७ स्वास्थ्य भवन, ७ हजार ५५३, वटा शिक्षण संस्था, ४९ हजार ६८१ वटा विद्यालय कक्षा कोठा,  ९२० सांस्कृतिक सम्पदा, ३८३ सुरक्षा निकायका भवन, ३ हजार २१२ वटा खानेपानी संरचना, ५३ वटा सडक र २९९ मानव बस्तीलाई भूकम्पले क्षति पुर्याएको थियो ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १८:२८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...