काठमाडौं । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा जारी निषेधाज्ञा र लकडाउनलाई मध्यनजर गरी नेपाल टेलिकमले बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ ।
अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ ।
दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।
यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध हुने टेलिकले जनाएको छ । २ सय रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइने र उक्त डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ५ सय वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीब्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिन्छ । साथै, आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने/नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि *1415# डायल गर्नु पर्दछ ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार १४:२५ मा प्रकाशित